सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • फिचर
  • खेलकुद रकम दुरुपयोग, बियर र मासुमा खर्च : क्लबलाई गाउँपालिकाबाट २ लाख दिने निर्णय

खेलकुद रकम दुरुपयोग, बियर र मासुमा खर्च : क्लबलाई गाउँपालिकाबाट २ लाख दिने निर्णय

  • सोमवार, चैत्र १८, २०७५
खेलकुद रकम दुरुपयोग, बियर र मासुमा खर्च : क्लबलाई गाउँपालिकाबाट २ लाख दिने निर्णय

कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा खैरेनीमा गएको चैत्र २ देखि ७ गतेसम्म भलिबल प्रतियोगिताको आयोजना भयो । निकै ताम झामका साथ दोस्रो संस्करण अन्तर्गतको राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिता २०७५ को आयोजना गरियो ।

साईनिङ्ग स्टार युवा क्लबले आयोजना गरेको उक्त भलिबल खेलको हजारौं दर्शकले प्रत्यक्ष अवलोकन गरे । बर्दगोरियाको पहिचान, यूवा तथा खेलकुद बिकासको अभियान भन्ने नारा दिइएको प्रतियोगितामा स्थानीय सरकारका प्रमुख देखि सुदूरपश्चिम प्रदेश सरकारका सांसद, मन्त्री लगायत उच्चपदस्थ ब्यक्तित्व उपस्थित भए । औपचारिक कार्यक्रममै उपस्थित अतिथिलाई सामुदायिक र संस्थागत विद्यालयका सयौं बालबालिकाले स्वागत गरे ।

स्थानीय संघसंस्थामा आबद्ध महिला समेत पोसाकमा सजिएर कार्यक्रममा उपस्थित भए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताले क्लबले गरेको कार्यको खुलेर प्रसंशा समेत गरे । कार्यक्रम सहभागीले आगामी दिनमा क्लबले स्थानीय यूवाहरुमा सामाजिक उत्तरदायित्वसंगै सामाजिक एकता, न्याय, सभ्यता, ब्यक्तित्व बिकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे । सामाजिक सेवा र विकासको लक्ष्य लिएर स्थापित यूवा क्लबले समाजमा सकारात्मक सन्देश दिदै यूवा तथा खेलकुद बिकासमा समेत भूमिका खेल्ने स्थानीयले बिश्वास व्यक्त गरे । स्थानीय स्तरमा रहेका सामुदायिक वन, विद्युत सहकारी संस्थाले क्लबलाई आर्थिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तर, यूवा सशक्तीकरण र जागरणका लागि पैरवी गर्ने लक्ष्य लिएको क्लबबाट नै गैरजिम्मेवारी पूर्ण गतिविधि भएको पाइएको छ । यूवा क्लबमा आवद्ध पदाधिकारीले मनपरी ढंगले आर्थिक रकम दुरुपयोग हुनेगरि नियम बिपरित खर्च गरेको पाइएको हो । खेलकुदका नाममा उनीहरूले खैरेनी स्थित एक होटेलमा नास्ता, बियर र मासु खाएको रकम भुक्तानी गरेको तथ्य बाहिरिएको छ । होटेल संचालकका अनुसार क्लबमा आबद्ध पदाधिकारीले २८ हजार ९ सय रकमको नास्ता खर्च गरेको पाइएको हो । क्लबले प्रतियोगिता सकिएको २ हप्ता बितिसक्दा पनि कार्यक्रमको आयब्यय सार्वजनिक गरेको छैन ।

कार्यक्रम संचालन गर्न भन्दै बर्दगोरिया गाउँपालिकामा बजेटका लागि क्लबले प्रस्तावना पेश गरेको थियो । प्रतियोगिता संचालन भएपछि गाउँपालिकाले चैत्र ५ गते कार्यपालिका बैठकबाट २ लाख रकम भुक्तानी दिने निर्णय समेत गरेको छ । क्लब पदाधिकारीको गैरजिम्मेवारीले गाउँपालिकाको बजेट समेत दुरुपयोग हुने देखिएको छ । यता, गाउँपालिकाका नायब सुब्बा गोविन्दराज रेग्मीले खेलकुदतर्फको विनियोजित बजेटबाट भुक्तानी दिने निर्णय भएपनि कार्यक्रमको योजना सम्झौता भने नभएको जानकारी दिए । क्लबले गत आर्थिक वषर्मा १ लाख ५० हजार रकमको सार्वजनिक सुनुवाइ नगरेको, अनियमित रूपमा भ्याट बिल मिलान गरि भुक्तानी लिएको र हालसम्म संस्था नवीकरण नगरेको स्थानीयले दावी गरेका छन् ।

बर्दगोरिया गाउँपालिका प्रशाकीय अधिकृत अर्जुन कार्कीले आर्थिक रकमको दुरुपयोग गरेको बारे जानकारी नभएको बताए । यदि त्यसो गरेको पाइए गाउँपालिकाले छेट्याएको बजेट निकासा नदिने समेत उनको भनाई छ । पत्रकारसँग कुरा गर्दै कार्कीले भने, यदि गाउँपालिकाले छुट्याएको रकमको दुरुपयोय हुने स्थिति देखिए हामीले निकासा दिदँनौं । यस बारेमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसँग कुरा गर्नुस् । यस विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नम्बर ३ का अध्यक्षसँग टेलिफोन सम्पर्क हुन सकेन । वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडाले भने रकमको दुरुपयोग हुन नदिने बताए । उनले भने, यस बारे मैले भरखरै जानकारी पाए । बुझेर यदि त्यस्तो भएको पाइए निकासा हुँदैन ।

चर्चामा

सम्बन्धित समाचार