मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा ८को परीक्षाः खप्तड छेडेदहमा १८ प्रतिशत मात्रै उत्तीर्ण

कक्षा ८को परीक्षाः खप्तड छेडेदहमा १८ प्रतिशत मात्रै उत्तीर्ण

१ सय ८२ विद्यार्थीले पढाइ दोहोर्‍याउनुपर्ने

  • मङ्लबार, चैत्र २७, २०८०
कक्षा ८को परीक्षाः खप्तड छेडेदहमा १८ प्रतिशत मात्रै उत्तीर्ण

बाजुरा —बाजुराको खप्तड छेडेदह गाउँपालिकामा कक्षा ८ को नतिजा निराशाजनक देखिएको छ । गाउँपालिकाकाले प्रकाशित गरेको नतिजा अनुसार १८ दशमलब ३९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको कक्षा ८ को बार्षिक परीक्षामा पालिकाभरका १५ वटा सामुदायिक विद्यालयबाट ६ सय ९ जना विद्यार्थी सहभागी भएका थिए ।

पालिकाको प्रकाशित नतिजा अनुसार १८ प्रतिशत अर्थात १ सय १२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । त्यसमा ३ सय १५ विद्यार्थी ग्रडेवृद्धि परीक्षा दिन पाउने भएका छन् भने एक सय ८२ जना विद्यार्थीहरुले पढाई दोहोर्‍याउनुपर्ने गाउँपालिकाले जनाएको छ । नतिजा हेर्दा पालिकाका प्राथमिक विद्यालय भन्दा माध्यमिक विद्यालयहरुको नतिजा कमजोर देखिएको छ । ग्रेडवृद्धिमा परेका विद्यार्थीहरुका लागि भने २०८१ बैशाख १५, १६, १७ र १८ गते ग्रेडवृद्धि परीक्षा तोकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कक्षा ५ मा भने २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका र कक्षा ५ मा ग्रडेवृद्धि परीक्षा नहुने भएको छ ।

गाउँपालिकामा कक्षा ८ को नतिजा प्रकाशन भएपछि अहिले सामाजिक सञ्जालमा गाउँपालिकाको शैक्षिक अवस्थाको बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

यस विषयमा खप्तड छेडेदह गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेम साउँदले सबैको कमिकमजोरीले पालिकामा नतिजा कमजोर आएको स्वीकार गरेका छन् । उनले भने “परीक्षामा बसाई व्यवस्थापन राम्रो सँग भएको भएपनि नतिजा झनै कमजोर आउन्थ्यो तर त्यति राम्रोसँग नहुँदा उतीणर् १८ प्रतिशतसम्म पुगेको हो” । प्राविको भन्दा मावि स्तरका विद्यालयहरुकोे नतिजा कमजोर देखिएको बिषयमा शिक्षा शाखा प्रमुख साउँदले माविमा पर्याप्त शिक्षक दरबन्दी नहुनु तथा विषय शिक्षकको अभावले यस्तो अवस्था देखिएको बताएका छन् । गाउँपालिकामा हरेक बर्षको नतिजा निराशाजनक देखिदैँ आएपनि गाउँपालिकाले हालसम्म समिक्षा नगरेको र यस बर्षको नतिजाको बिषयमा भने केहि दिनमा छलफल हुने शिक्षा शाखा प्रमुख साउँदले बडिमालिका खबरलाई बताएका छन् ।

त्यस्तै पालिकाबाट पनि शैक्षिक अवस्थाको बारेमा समिक्षा नहुनु, बैठक नबस्ने तथा नियमित अनुगमन हुन नसक्दा पनि नतिजामा सुधार नदेखिएको स्रोतले बताएको छ । पछिल्लो समय गाउँपालिकाको शैक्षिक अवस्था खस्किदै गएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका बेला अब पालिका, शिक्षक, विद्याथी, अभिभावक लगायत सबैले जिम्मेवार भएर लाग्नुपर्ने सरोकारवालाहरुले बताउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार