सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिकाका सामुदायिक विद्यालयमा दिवाखाजासँगै रैथानेबालीका परिकार

बडिमालिकाका सामुदायिक विद्यालयमा दिवाखाजासँगै रैथानेबालीका परिकार

  • शुक्रबार, फाल्गुन २५, २०८०
बडिमालिकाका सामुदायिक विद्यालयमा दिवाखाजासँगै रैथानेबालीका परिकार

बाजुरा— नेपाल सरकारले सुरु गरेकाे सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रममा बाजुराका स्थानीय तहले स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गर्न थालेका छन्। सरकारले दिएको पौष्टिक आहारमात्र नभई विद्यार्थीलाई स्थानीय स्तरमा उत्पादन भएको फापर, जौ, कोदो,मार्सेलगायतका रैथाने बालीको प्रवर्द्धनका लागि दिवाखाजामा समावेश गर्न थालिएको हो।

बाजुराकाे बडीमालिका नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवाखाजाका रूपमा कोदोलगायत अन्न बालीको परिकार बनाएर खुवाउन थालेको छ। नगरपालिकाले स्थानिय स्तरमै उत्पादन हुने रैथाने बालीको प्रवर्द्धन र पहिचान बढाउने गरी दिवाखाजामा समावेश गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख रङ्गमल विकले बताएका छन्।

नगरपालिकाले नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयमा विद्यार्थीलाई स्थानीय स्तरमा उत्पादन गरिएको कोदो, फापर, जौ, मार्सेलगायतका परिकार बनाएर खुवाउने गरेको नगर उपप्रमुख नन्दा थापाले बताइन्।

स्थानीय स्तरमा उत्पादन भएको रैथाने बालीलाई प्रवर्द्धन तथा प्रचार–प्रसार गर्नेगरी नगरपालिकाले सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार खुवाउने नीति कार्यान्वयन गरेकाे नगरप्रमुख अमर बहादुर खड्काले बताए।

रैथाने बालीको संरक्षण र बालबालिकालाई पौष्टिक आहार खुवाउने लक्ष्यसहित नगरले लिएको नीति अवलम्बन गरी नगरभित्रका २५ वटा सामुदायिक विद्यायलयमा गाउँमा उत्पादन गरिएको रैथाने बाली कोदोको परिकार बनाउने गरिएको नगरपालिकाले जनाएको छ।

बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन तथा विद्यालयमा विद्यार्थी छाडेर जाने र विद्यालयमा नआउने हुँदा सङ्ख्या बढाउनका लागि सरकारले दिवाखाजा सञ्चालन गर्दै आएको छ।

त्यस्तै बाजुराका सबै स्थानिय तहहरुले आर्थिक बर्ष २०८०÷८१ बाट सामुदायिक बिद्यालयहरुमा अर्गानिक तरकारी सहितको दिवा खाजा कार्यक्रम सुरु गरेका छन् । विश्व खाद्य कार्यक्रमकाे आर्थिक सहयोगमा  सामुदायिक विद्यालयमा दिवा खाजासँगै स्थानिय उत्पादनमा आधारित अर्गानिक तरकारी खुवाउने कार्यक्रम जिल्लाका २ सय ५१ विद्यालयमा भइसकेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार