सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • जीर्ण कक्षाकोठामा पढाइ, धुलाम्मे चौरमा परीक्षा

जीर्ण कक्षाकोठामा पढाइ, धुलाम्मे चौरमा परीक्षा

  • शनिबार, माघ ६, २०८०
जीर्ण कक्षाकोठामा पढाइ, धुलाम्मे चौरमा परीक्षा

बाजुरा–  यतिबेला बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा अर्धवार्षिक परीक्षा चलिरहेको छ । बाजुरामा रहेका तीन ठूला र पुरानामध्येको एक हो यो विद्यालय । तर, विपना खत्रीलाई खुला र धुलाम्मे चौरमा बसेर परीक्षा दिनुपर्दा निकै असजिलो भएको छ । सात कक्षामा अध्ययनरत उनीजस्तै सयौं विद्यार्थी अहिले भुइँमा बसेर परीक्षा दिइरहेका छन् ।

‘समय अपुग हुने भएकाले सबै प्रश्नको उत्तर चाँडो–चाँडो लेख्नुपर्ने हुन्छ । तर, धूलोमैलो भुइँमा बसेर लेख्दा हात छिटो चल्दैन र अक्षर पनि बिग्रन्छन्,’ विपनाले भनिन्, ‘जानेको कुरा पनि लेख्नै भ्याइँदैन ।’ बाजुरामा सञ्चालित ६४ वटा माध्यमिक विद्यालयमध्ये पूर्वोत्तर क्षेत्रमा जनप्रकाश, सदरमुकाम क्षेत्रमा मालिका र दक्षिणी क्षेत्रमा भानोदय माध्यमिक विद्यालय पुराना र विद्यार्थी संख्याका दृष्टिले सबैभन्दा ठूला विद्यालय हुन् ।

यी विद्यालयमा अन्य ठाउँको तुलनामा विद्यार्थी संख्याको अत्यधिक चाप छ । मालिका र भानोदयमा भौतिक पूर्वाधार ठीकठीकै भए पनि जनप्रकाशमा भने भौतिक पूर्वाधारको निकै अभाव छ । २०१७ सालमा स्थापना भएको हो जनप्रकाश । विद्यालय प्रशासनका अनुसार विद्यार्थी संख्या थेगिनसक्नु छ । कक्षा १ देखि १२ सम्म पढाइ हुने यस विद्यालयमा १ हजार ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक अनोजराज गिरी बताउँछन् ।

अत्यधिक विद्यार्थी संख्या र भवन तथा कक्षाकोठाको अभावमा कक्षाकोठाभित्र परीक्षा सञ्चालन गर्न सम्भवै नहुने शिक्षक जयलाल कार्कीले बताए । ०३३ सालमा निर्माण भएको एउटा जीर्ण भवन छ । त्यही आसपासको अवधिमा निर्मित दुई–दुई कोठा भएका अन्य पाँच भवन छन् । अघिपछि जस्तापाताले छाएका ती जीर्ण भवनका कोठाभित्र पठनपाठन हुने गरेको छ । सबै भवनमा साँघुरा कोठा छन् ।

अघिपछि तिनै कोठाभित्र विद्यार्थी कोचिएर बसेका हुन्छन् । ‘एउटा बेन्चमा चार जना विद्यार्थी बस्छौं,’ विपनाले भनिन्, ‘डेक्सबेन्च पनि साँघुरा भएकाले अघिपछि पनि बस्न समस्या हुने गरेको छ ।’ परीक्षा सञ्चालन गर्न ती साँघुरा कोठा र एउटै बेन्चमा चार जना राख्न सम्भव नहुने भएकाले विद्यार्थीलाई बाहिर चौरमा राखेर परीक्षा सञ्चालन गर्नुपरेको प्रधानाध्यापक गिरीले बताए ।

‘एउटै बेन्चमा चार जना राख्दा त परीक्षा नै हुन सक्दैन,’ उनले भने, ‘दुई–दुई जना राखौं भने भवन, ठाउँ र डेक्सबेन्च नै पुग्दैनन् ।’ जनप्रकाशले एकदेखि पाँचसम्म कोल्टी गाउँमा चलाउने गरेको छ । सुस्तश्रवण कक्षा पनि त्यही ठाउँमा राखिएको प्रअ गिरीले बताए । सन् २०१५ तिर भारतीय दूतावासले विद्यालयमा होस्टेलसहितको भवन निर्माण गर्न ४ करोड ४४ लाख स्वीकृत गरेर तत्कालीन जिल्ला विकास समितिमार्फत काम सुरु गरेको थियो ।

३ करोड ४९ लाखमा ठेक्का लिएका ठेकेदारले २ करोड ४४ लाख भुक्तानी लिएर बीचैमा काम छाडेर बेपत्ता भएपछि निर्माण कार्य अलपत्र परेको प्रअ गिरीले बताए । ‘अहिले फेरि १ करोड ९७ लाख रुपैयाँ दूतावासले दिने गरी भवन निर्माणको ठेक्का लागेको छ,’ उनले भने, ‘अपुग रकम स्थानीय तहले व्यहोर्ने सल्लाह भएको छ ।

’ नौ स्थानीय तह रहेको बाजुराका शैक्षिक संस्थाहरूमा गुणस्तर वृद्धि हुन नसक्नाका अनेक कारणमध्ये पूर्वाधार अभाव पनि एक भएको शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख हर्कबहादुर सिंहले बताए । ‘१७ वटा विद्यालयमा भौतिक पूर्वाधारको अवस्था राम्रै भए पनि अन्य सबैको अवस्था एकैनास छ,’ सिंहले भने ।

इकाइ कार्यालयका अनुसार बाजुरामा ६४ वटा माध्यमिक तह सञ्चालित विद्यालय छन् । तीमध्ये २७ वटामा प्लस टुसमेत सञ्चालित छन् । ६४ विद्यालयमा ९–१० कक्षामा अध्ययनरत विद्यार्थी संख्या ५ हजार ४ सय २९ रहेको छ । कान्तिपूर बाट

चर्चामा

सम्बन्धित समाचार