सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • यात्रा स्मरण:-बाले दिएको २० रुपैंया लिएर रारा घुमे  

यात्रा स्मरण:-बाले दिएको २० रुपैंया लिएर रारा घुमे  

  • बिहिबार, असार २८, २०८०
यात्रा स्मरण:-बाले दिएको २० रुपैंया लिएर रारा घुमे  

लक्ष्मण जाेशी– अहिले प्राय बाजुराका धेरै विद्यालयले कक्षा ९ र १० विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि रारा घुमाउने गरेका छन् । हामी पढ्ने बेलामा विद्यालयले घुमाउने चलन थिएन। बि.स.२०५३ सालतिरको कुरा हो, उमेरले कान्छो नातामा जेठा काका महेश कुमार गिरी नेपालगंजको जय बागेश्वरी बोडिङ्ग स्कुलमा अध्ययन गर्नु हुन्थ्यो।

स्कुलमा बर्षे बिदा भएकोले असार २५ गते नेपालगंज बाट कोल्टी र असार २६ गते गाउँमा पुगेर रारा घुम्न जाने सल्लाह गर्नु भयो।उहाँ रारा जानका लागि सम्पुर्ण तयारीका साथ आउनु भएको रहेछ। राराको बारेमा हामीलाई धेरै जानकारी थिएन । उहाँ शहरमा बस्ने पत्रपत्रिका पढ्ने र टेलिभिजन हेर्ने भएर होला राराको बारेमा धेरै बयान गरेपछि म, भाई पदमलाल र काका नाता पर्ने मिमराज गिरी रारा जानका लागि मानसिक रुपमा तयार भयौं ।रारा जानका लागि अन्य तयारी र घर सल्लाह भने भएको थिएन।एक्कासी साथीहरु बिच भएको सल्लाहका आधारमा घरमा बा आमालाई राजी गराउनु सजिलो पनि थिएन।

तैपनि घरमा गएर बा लाई रारा घुम्न जाने कुरा गरे बाले असारमा कपाल कन्याउदा खेति पछान्छ । असार घुम्ने समय होइन मानो रोपेर मुरी फलाउने समय हो घरको काममा सघाउनु पर्छ भन्नु भयो। बुबा किसान भएकोले घुम्ने भन्दा खेतिपातीमा सघाओस भन्ने भएर होला सहजै सहमति दिनु भएन।मेरो रारा घुम्न जाने योजना अनिश्चित जस्तै भयो। हामी चारजना रारा जान मानसिक रुपमा तयार भैसकेको हुनाले बा ले रोक्न खोजेपनि मैले आफ्नो जिद्धी नछोडे पछि बा ले सहमती जनाउनु भयो ।

असार २७ गते विहान हिडने योजना भएपनि रारा जानका लागि आवश्यक कुनै तयारी थिएन। रारा जाने निश्चित भए पछि आमाले असार २७ गते विहानै चार माना जति गहुँ र भटमासको खाजा, एक पाथी पिठो, पाँच माना जति चामल र थोरै मासको फाँडो राराको लागि सामल तयार गरिदिनु भयो र बुबाले बाटो खर्च भनेर २० रुपैंया दिनु भयो। राराका लागि सामल र खर्च तयार भएपनि लुगा कस्तो लिने भनेर कुनै जानकारी नभएकोले घरमा भएका लुगाहरु मध्ये अलि नयाँ हाइनेक र रोपाईमा लगाउनका लागि सिलाएको बेलिबटन पाइन्ट लिने निधो गरे ।

आजकल कतै घुम्न जानु पर्यो भने ड्राइफुटको रुपमा चाउचाउ, चिउरा, बिस्कुट, भुजा र दालमोट बोक्ने र सिजन अनुसारको लुगाकपडा लगाउने चलन छ।त्यो बेला जे छ त्यहि खाने र जस्तो छ त्यस्तै लगाउनु पर्ने स्थिति भएकोले हाम्रो कुनै रोजाइ हुदैनथो ।देश परदेश जाँदा खाजाको रुपमा सातु, दालको रुपमा मासको फोडो, चामल र पिठो बोक्ने चलन थियो।त्यो बेला न त अभिभावक संग पैंशा हुन्थ्यो न त हामी संग भएको पैंशा अति आवश्यक काममा बाहेक अन्यत्र खर्च गर्दैनथ्यौं।

असार २७ गते विहान आमाले विहान ५ बजे उठेर विहानको खाना रोटी पकाउनु भयो । रुचेको रोटी खाएर बाँकी रोटी दिउसोको खाजाका लागि झोलामा रोटी बोकेर विहान ६ बजे राराको यात्राका लागि चारै जना घरबाट निस्कियौ । रारा घुम्न निस्केका हामी चारैजना बाँधु बगर भन्दा अगाडी कोही नगएका हुनाले सबै ठाँउ नौलो हुने नै भयो। बाटो सोध्दै झुगला पुगे पछि आमाले रुमालमा बाधेको रोटी र अचार खाएर अगाडी बढयौं । हामी चारै जना नयाँ भएको हुनाले हरेक ठाँउ नयाँ लाग्नु स्वभाविकै थियो।घरबाट हिडेको पहिलो दिनको बास गम्थामा बस्ने समय भै सकेको थियो ।

हामीलाई रारा कति खेर पुग्ने भन्ने उत्साह भएकोले राती अवेर सम्म हिडेर श्रीकोट बास बसेका थियौं । गम्थामा एकजना अधबैसे मानिस कतैबाट आउदै हुनु हुन्थ्यौ हामीले श्रीकोट जान कति समय लाग्छ भनेर सोद्धा उहाँले ठुला घण्टा भए दुइ र साना घण्टा भए तिन घण्टा जति लाग्छ भन्नु भएको थियो त्यो बेला खासै बुझेनौ अहिल आएर बुझ्दा छिटो हिडन सकेमा दुई घण्टामा पुगिदो रहेछ भन्ने आशय रहेछ।त्यो बेला अहिलेका जस्ता बाटोबाटोमा होटलहरु थिएनन् । हामीले गाउँमा गएर भाडा र दाउरा मागेर आफु संग भएको सामल चामल र फाँडो पकाएर खाएका थियौं। बास बसेको ठाँउमा सुतेको पैंशा तिर्नु परेको थिएन भने दाउरा र भाँडाको रु ५ तिर्नु पर्ने दर नै रहेछ।

दोस्रो दिनको विहानको खाना निगाली बोटमा भाँडाकुडा मागेर पकाएर खाएका थियौ। निगालीबोट बाट हामी रारामा दिउसोको चार बजेतिर पुगेका थियौ। रारामा पुगेर बेलुकातिर आर्मीको ब्यारेक र निकुन्जको गेष्टहाउस आसपास घुम्यौ।बेलुकाको खानाका लागि निकुन्जको वार्डेन संग भाडा र दाउरा मागेर पकाएर खानुका साथै बास गेष्टहाउसमा भयो। हामीलाई कतिखेर उज्यालो होला र रारालाई घुमौला भन्ने भएकोले विहानै उठेर चारै जना राराको परिक्रमामा निस्कियौं। फोटो खिच्नका लागि ल्याएको क्यामरा महेश काकाले त्यतै खोल्नु भयो र हामीले फोटो खिच्यौ।

बाटोमा चार्ज सकिने डरले कतै फोटो खिचेनौ र मेरो सम्भवत पहिलो फोटो नै यिनिहरु हुन।मैल अघिल्लो बर्ष फोटो खिच्न रारा पुगे भनेर लेखेको थिए।पुरै तालको परिक्रमा गर्न हामीलाई तिन घण्टा लागेको थियो।परिक्रममा गरिसकेपछि हामीलाई डुङ्गा चढने रहर लागेर नेपाल आर्मीलाई अनुरोध गर्दा हावा चलेकोले हुदैन भन्नु भयो।रहर मेटाउन ढुङ्गाको नजिक गएर फोटो खिच्यौ।त्यो बेला डुङ्गा सबै काठका थिए।अहिले जस्तो मुर्मा टप जाने व्यवस्था नभएकोले हामी रारा घुमेर आएपछि माझघट्टमा खाना पकाएर खाएर बेलुकाको बास झुगोलामा भएको बस्यौं । चौथो दिन विहान घरमा खाना पुगेका थियौ।चार दिनको राराको यात्राका लागि आमाले बनाइदिएको सामल र बा ले दिनु भएको बिस रुपैंयाले राराको यात्रा जीवनभरका लागि अविष्मरणिय रहनुका साथै बाटोमा चारै जनाले बोकेको सामल र पैंशा आलोपालो गरेर तिर्ने बाडेर खाँदाको रमाइलो बेग्लै थियो।

त्यो बेला अहिले जस्तो एन्ड्रोइड मोवाइल थिएन।फोटो खिच्नका लागि लगेको क्यामरा पनि रिलवाला भएको हुनाले रारामा खिचेको फोटो कस्तो आयो भनेर हेर्न दशैं सम्म कुर्नु परेको थियो।बर्षे बिदा सकेर नेपालगंज पढन गएका महेश काका दशैं बिदा मनाउन घर आएका बेला फोटो धुलाएर ल्याउनु भएको रहेछ । असारमा रारामा खिचेका फोटो दशैंमा हेर्न पाँउदा खुसीको सिमा नै रहेन।अवसर जट्यो भने एक पटक आफै क्यामरा लगेर राराको मुर्मा टपमा गएर फोटो खिच्ने रहर छ ।

चर्चामा

सम्बन्धित समाचार