बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • प्रहरीलाई सामाजिक सञ्जालको लत, ड्युटीमा मोबाइल प्रयोग गर्न रोक

प्रहरीलाई सामाजिक सञ्जालको लत, ड्युटीमा मोबाइल प्रयोग गर्न रोक

  • बिहिबार, भदौ १६, २०७९
प्रहरीलाई सामाजिक सञ्जालको लत, ड्युटीमा मोबाइल प्रयोग गर्न रोक

गत ८ भदौमा नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे । उनको सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले । मोबाइलमा रमाउँदारमाउँदै कैदी कतिखेर निस्किए, उनीहरूले चालै पाएनन् । ढोकामै बसेका उनीहरूले बुढाथोकी चिकित्सकको कोठाबाट निस्किएर अलि पर पुगेपछि मात्र देखे । पछ्याउने क्रममा कैदीलाई उनीहरूले भेट्टाउन सकेनन्, मोटरसाइकल चढेर फराए भए ।

यो घटनापछि कारागारमा कार्यरत प्रहरीलाई ड्युटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डरबाहेक अन्य प्रहरीलाई मोबाइल बोक्न रोक लगाइएको उपत्यकाका कारागारको सुरक्षा हेर्ने अनाश्रित गुल्मका डिएसपी कुमारविक्रम थापाले बताए । मोबाइल चलाउँदा ड्युटीमा खटिने प्रहरीको ध्यान काममा केन्द्रित नहुने भएपछि मोबाइल बोक्न रोक लगाइएको उनको भनाइ छ ।

ड्युटीमा कुनै प्रहरीले मोबाइल प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ : डिआइजी टेकप्रसाद राई, प्रवक्ता, नेपाल प्रहरी

ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल प्रयोग गर्न निषेध छ । यसमा धेरै प्रहरी कारबाहीमा पनि परेका छन् । सबैलाई जस्तै प्रहरीलाई पनि फेसबुक, टिकटक र युट्युबले भुलाउने भएकाले ड्युटीमा मोबाइल प्रयोग रोकेका हौँ । कसैले प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ ।

सो घटनामा संलग्न हवल्दार र जवानलाई निलम्बन गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानबिन गरिरहेको छ । चेकजाँच गरेर निस्कँदा दुवै प्रहरी मोबाइलमा व्यस्त भएकाले आफू सहजै भागेको कैदी बुढाथोकीले बताएका छन् । उनलाई भोलिपल्टै प्रहरीले ललितपुरको लुभु बसपार्कबाट पक्राउ गरेको थियो । उनी कर्तव्य ज्यान मुद्दामा कारागारमा थिए । उपत्यका प्रहरी कार्यालयले एसपी देवेन्द्र पालको नेतृत्वमा घटनाको छानबिन गरिरहेको छ । समितिले मोबाइल प्रयोगबारे पनि बुझिरहेको छ ।

फेसबुक र टिकटकमा भुल्छन् प्रहरी
मोबाइल प्रयोगका कारण प्रहरीको काम प्रभावित भएको यो मात्रै घटना होइन । मोबाइलको लतका कारण विगतमा पनि पटक–पटक त्रुटि भएका छन् । जसमा धेरै प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।

‘ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल प्रयोग गर्न निषेध छ,’ नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन्, ‘यसमा धेरै प्रहरी कारबाहीमा पनि परेका छन् ।’ खासगरी लामो समय सडकमा खटिने ट्राफिक प्रहरीमाथि मोबाइल प्रयोगको आरोपमा धेरै छानबिन भएको छ । प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीलाई ड्युटीको समयमा मोबाइल प्रयोग नगर्न परिपत्र गर्दै आएको छ ।

‘सबैलाई जस्तै प्रहरीलाई पनि फेसबुक, टिकटक र युट्युबले भुलाउने भएकाले ड्युटीमा मोबाइल प्रयोग रोकेका हौँ,’ प्रहरी प्रवक्ता राईले भने, ‘कसैले प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ ।’ उनका अनुसार ड्युटीमा मोबाइल प्रयोग गर्नेलाई पहिलोपटक सचेत गराउने र दोस्रोपटक नसिहत दिने गरिएको छ । अहिले पनि यस्तो घटनामा छानबिन चलिरहेको उनले बताए । सामाजिक सञ्जाल प्रयोगदेखि मोबाइलमा व्यस्त हुँदा पुलिसिङमा त्रुटि हुने गरेको छ ।

नेपालमा मात्र होइन, अन्य देशमा पनि ड्युटीको समयमा सुरक्षाकर्मीलाई मोबाइल प्रयोगमा कडाइ हुँदै आएको छ । छिमेकी देश भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको निवासको सुरक्षामा खटिएका प्रहरी मोबाइलमा व्यस्त हुँदा गत असारमा अनधिकृत व्यक्ति निवासभित्र छिरेका थिए । सात घन्टापछि मात्र सुरक्षाकर्मीले ती व्यक्ति छिरेको थाहा पाएका थिए । त्यो घटनापछि त्यहाँ कार्यरत प्रहरीलाई ड्युटीको समयमा मोबाइल बोक्न नै निषेध गरियो । ड्युटीमा मोबाइल चलाउँदा सुरक्षा प्रभावित भएको भन्दै भारतको गोवा, राजस्थान, बिहारलगायत राज्यमा प्रहरीलाई मोबाइल प्रयोगमा कडाइ हुँदै आएको छ । नेपालमा सुरक्षा निकायका कतिपय कार्यालयमा ड्युटीको समयमा फेसबुकलगायत सामाजिक सञ्जाल कम्प्युटरमा खोल्न नपाइने नियम लागू गरिएको छ ।

टिकटक बनाउने ४० प्रहरी कारबाहीमा
प्रहरी पोसाक, हतियार तथा हत्कडी देखाएर टिकटक बनाउने ४० प्रहरी कारबाहीमा परेका छन् । यो गत आर्थिक वर्षको तथ्यांक हो । प्रहरी पोसाक लगाएर टिकटक बनाउन तथा अन्य सामाजिक सञ्जालमा फोटो–भिडियो राख्न नपाइने प्रहरी आचारसंहिता छ । कतिपयलाई उजुरीका आधारमा त कतिपयलाई सामाजिक सञ्जालमा नियमन गरेर कारबाही गरिँदै आएको प्रहरी प्रवक्ता राईले बताए । कारबाहीमा पर्नेहरूमा धेरैजसो तल्लो तहका प्रहरी छन् । कतिपयले आचारसंहिता थाहा नभएर त कतिपयले अटेर गरेर टिकटक तथा सामाजिक सञ्जालमा प्रशंसा बटुल्न प्रहरी पोसाक, हतियार तथा हत्कडीसहित फोटो तथा भिडियो बनाउने गरेका छन् ।

प्रहरी आचारसंहिता, २०७७ तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिमा भनिएको छ, ‘प्रहरी कर्मचारीले सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दंगा भड्काउने, आतंककारी गतिविधिलाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता विषयमा लाइक, कमेन्ट, सेयर, ट्याग, ट्विट, रिट्विटजस्ता क्रियाकलाप गर्न वा गराउन नहुने ।’ त्यस्तै, नेपाल प्रहरीको सञ्चारमाध्यमसम्बन्धी नीति, २०६० एवं सामाजिक सञ्जाल व्यवस्थित  तवरले प्रयोग गर्नेसम्बन्धी गाइड लाइन, २०७१ मा पनि यससम्बन्धी व्यवस्था छ ।

आचारसंहिता उल्लंघनमा धेरैलाई प्रहरीले सचेत गराउने गरेको छ । तर, दुईपटक आचारसंहिता उल्लंघन गर्नेलाई नसिहतसहित कारबाहीसमेत हुने गरेको छ । सामाजिक सञ्जाल नियमनका लागि प्रहरी महानिरीक्षकको कार्यालयका डिएसपीको नेतृत्वमा एक शाखा नै बनेको छ । जसले प्रहरीविरुद्ध आउने उजुरीदेखि सामाजिक सञ्जालमा प्रहरीका गतिविधि नियमन गर्दै आएको छ ।नयाँपत्रिकाबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार