आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • इलाममा मतपत्रसहित कर्मचारी पुगे निर्वाचन स्थलमा

इलाममा मतपत्रसहित कर्मचारी पुगे निर्वाचन स्थलमा

  • शुक्रबार, बैशाख १४, २०८१
इलाममा मतपत्रसहित कर्मचारी पुगे निर्वाचन स्थलमा

इलाम– इलाम-२ को उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत केशवप्रासद घिमिरेले मतपत्र र आवश्यक सामग्रीसहित कर्मचारी र मतदान अधिकृतको टोली मतदान स्थल पुगिसकेको बताए। ‘मतपत्रसहित अन्य आवश्यक सामाग्री बोकेर कर्मचारि र मतदान अधिकृत पुगिसकेका छन्,’ उनले भने।

इलाम क्षेत्र नम्बर २ मा यहीँ वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। सबै तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए। उनले १५ गते साँझै जिल्लाभरबाट मतपेटीका संकलन गर्नेगरी सुरक्षा निकायले तयारी गरिरहेको बताए।

२०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन्। यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन्। उनका अनुसार निर्वाचनका लागि ७९ मतदान स्थल रहेको छ। यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी आयोगले गरेको छ। निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्पन्न गरेको २ दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृत घिमिरेलेले जानकारी दिए। वैशाख १५ गते इलाम जिल्लाभरि सार्वजनिक यातायात नचल्ने गरी सर्वदलीय बैठकले निर्णय गरेको घिमिरेले बताए।

निर्वाचन गराउन आयोगले तीन महिला मतदान अधिकृत तोकिएका छन्। निर्वाचन कार्यालयले इलाम नगरपालिकाअन्तर्गत रहेका तीन मतदान केन्द्रमा महिला अधिकृत तोकेको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए।

मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार इलाम मरब क्याम्पस, सप्तमाइ गुरूकुल र इलाम विद्या मन्दिरमा महिला अधिकृत तोकिएका हुन्। मरब क्याम्पसमा मिना आचार्य, सप्तमाइ गुरूकुलमा तारा श्रेष्ठ र इलाम विद्या मन्दिरमा हिमज्योती घिमिरे तोकिएका छन्। सबै केन्द्रमा निर्वाचनको व्यवस्थापन महिला कर्मचारीले गर्ने भएका छन्।

चर्चामा

सम्बन्धित समाचार