सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • शिक्षकको परीक्षामा गाइडबाट हुबहु प्रश्न आएपछि आयोगको विश्वसनीयतामाथि प्रश्न !

शिक्षकको परीक्षामा गाइडबाट हुबहु प्रश्न आएपछि आयोगको विश्वसनीयतामाथि प्रश्न !

  • सोमवार, चैत्र २१, २०७८
शिक्षकको परीक्षामा गाइडबाट हुबहु प्रश्न आएपछि आयोगको विश्वसनीयतामाथि प्रश्न !

काठमाडौं — शिक्षक सेवा आयोगले लिएका परीक्षामा सन्दर्भ पुस्तक(गाइड)बाट हुबहु प्रश्न आएपछि आयोगले लिने परीक्षाको विश्वसनीयताको सवाल उठेको छ ।

आयोगले लिएको माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको वस्तुगत प्रश्नमा हुबहु सन्दर्भ पुस्तकबाट प्रश्न सारिएको भन्दै शंका उब्जिएको हो ।

आयोगले शिक्षक भर्नाको लागि १५ चैतदेखि परीक्षा लिन सुरु गरेको थियो । जसमा स्थायी शिक्षक भर्नाका लागि माध्यामिक तहको परीक्षा भएको थियो । सो परीक्षामा अधिकांश प्रश्न गाइडबाट हुबहु आएको पाइएको छ । जसमा गुरु बुकबाट मात्रै २० वटा प्रश्न हुबहु परेका थिए ।

गुरु बुकका लेखक डा. दत्तात्रय दाहाल भने आफ्नो पुस्तक आयोगले पाठ्यक्रमभित्र राखेको र सो पुस्तक नाफा कमाउने भन्दा पनि सजिलोका लागि लेखिएको बताउँछन् । भन्छन्, “विषय एउटै हो । प्रश्न एउटै पर्यो भन्नु गलत हो । कुनै न कुनैसँग त मिलिहाल्छ नि !”

यति मात्रै होइन, दाहालले आफ्ना विद्यार्थीसँग आयोगको परीक्षाका लागि तयार गर्न जुमबाट कक्षा लिएका थिए । सो कक्षामा आफूले भनेको पूरा नियम पालना गर्न, गुरु बुकमात्र पढ्न, सोही बुकबाट मात्र प्रश्न आउने र परीक्षाबारे थप गोप्य सूचना दिने बताएका थिए । सामाजिक सञ्जालमा उक्त भिडियोमा भएको कुराकानीमा प्रश्न उठाउँदै प्रयोगकर्ताले कतै सेटिङमा आयोगको परीक्षा प्रभावित भइरहेको त छैन भन्दै सवाल उठाएका छन् ।

त्यसबारेमा जिज्ञासा राख्दा दाहाल भन्छन्, “भिडियोको विषय नबुझी अगाडि र पछाडि बोलेको सन्दर्भ नराखी बीचका केही कुरा मात्र राखेर भिडियो सञ्जालमा पोस्ट गर्नु गलत हो ।”

उनी थप भन्छन्,“मैले मेरै बुक मात्र पढे पास हुन्छ भनेको होइन । तर, बजारमा आएका किताबसँग तुलना गर्नुभयो भने अरूभन्दा राम्रो पाउनुहुन्छ । मेरो बुक पढे सतप्रतिशत पास हुन्छ त अरूले पनि भन्छन् ।”

विज्ञले प्रश्न बनाउँदा विभिन्न पुस्तकको सहयोग लिनु सामान्य नियम हो । तर ह्रस्व दीर्घ सबै मिल्नुले आयोगमाथि शंका गरिएको छ ।

यता आयोगका अध्यक्ष मधुप्रसाद रेग्मी आयोगको परीक्षाको विश्वसनीयतामाथि उठेको प्रश्न गलत भएको दाबी गर्छन् । भन्छन्, “गाइडवालाले आफ्नो पुस्तकको बिक्रीका लागि के के भन्छन् ? त्यो हाम्रो सरोकारको विषय भएन । हामी भन्छौँ, छैन । गाइड बुकसँग केही प्रश्न मिले भन्ने कुरा छ । एक दुई वटा मिल्न सक्छ । त्यसलाई अन्यथा मान्नुभएन । आखिर प्रश्न सोध्ने विषय त त्यही नै हो ।”

उनी विज्ञले प्रश्न बनाउँदा कुनै न कुनै स्रोत प्रयोग गर्ने हुँदा केही प्रश्न मिल्यो भन्दैमा पूरै परीक्षाको विश्वसनीयतामाथि प्रश्न गर्नु उपयुक्त नहुने बताउँछन् ।

यसका अलवा सो प्रश्नपत्रमा कोर्सभन्दा बाहिरको प्रश्न परेको भन्दै विद्यार्थीले विरोध समेत गरेका छन् ।

यसैबीच सञ्जालमा आयोगको प्रश्नपत्र तीन लाखमाा खरिद गरेको भनेर एउटा अडियो समेत भाइरल भएको छ । तर उक्त अडियोको आधिकारिकता भने पुष्टि हुन सकेको छैन । अध्यक्ष रेग्मी भन्छन्, “त्यस्तो अडियो हामीले सुनेका छैनौँ । हल्लाको पछि नलागौँ । गलत भेटिएमा कारबाही हुन्छ नै । कसैले कुन उदेश्यले त्यस्ता अडियोको प्रचारप्रसार गर्छ, त्यसमा हाम्रो सरोकार छैन ।”

आयोगले लामो समयदेखि रोकिएको दरबन्दी पदपूर्तिका लागि विद्यालयको तीनै तह प्राथमिक विद्यालय(प्रावि), निम्न माध्यामिक विद्यालय (निमावि) र माध्यामिक विद्यालय(मावि) विज्ञापनमा खुलाएको थियो ।

प्रावि, निमावि र माविको खुलातर्फको सामान्य परीक्षा एक सय पूर्णाङ्कको वस्तुगत प्रश्नहरू र बढुवा प्रयोजनका लागि माविमा ४० पूर्णाङ्कको वस्तुगत र ६० पूर्णाङ्कको सब्जेक्टिभ प्रश्नहरू हुनेछन् । खुलातर्फको मावि, निमाविको र प्राविको परीक्षा भइसकेको छ भने बढुवाको सबै तहको चैत २१ मा परीक्षा हुँदैछ ।

खुलातर्फको परीक्षामा ३५ हजारभन्दा बढी माविमा, ८५ हजारभन्दा बढी निमावि र १ लाख १३ हजारभन्दा बढी प्राविमा परीक्षार्थीहरू सामेल भएका छन् भने बढुवामा लगभग सबै तहमा गरेर १४ हजारले परीक्षा दिँदैछन् ।१२खरिबाटसाभार ।

चर्चामा

सम्बन्धित समाचार