शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • समाज
  • एचआइभीले उजाडिएको जिन्दगी : जब संक्रमित श्रीमानले ढाँटे…

एचआइभीले उजाडिएको जिन्दगी : जब संक्रमित श्रीमानले ढाँटे…

  • बुधबार, बैशाख ४, २०७६
एचआइभीले उजाडिएको जिन्दगी : जब संक्रमित श्रीमानले ढाँटे…

विमलबहादुर विष्ट

डोटी- ४ बैशाख चरीले राएन हो कि लेग काफल पाक्दा!

न घरबारी न जिन्दगी एड्स रोग लाग्दा !!

‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित हरिदेवी ( नाम परिवर्तन)।

एचआइभी एड्सकै कारण उनले २४ वर्षको उमेरमा आफ्ना पति मात्रै गुमाएकी छैनन्, आफ्ना स सना छोराछोरीलाई स्कुलमा पढ्न पठाउन समेत सकिरहेकी छैनन्। त्यति मात्रै होइन श्रीमान्को मृत्युपछि उनलाई हातमुख जोर्न समेत धौधौ परेको छ।

हरिमाया भन्छिन्, “दुःखी, गरीब, असहायका त भगवान् हुन्छन् भन्छन्, मेरा त भगवान् पनि आफना भएनन्।” आठ वर्षकी एक छोरी र छ वर्षको एक छोरा पढाउनका लागि निकै दुःखकष्ट गरिन तर सफल भएकी छैनन्। कयौँ मोड र घुम्तीसँग जम्काभेट गर्दै अगाडि बढ्दा उनले अनगिन्ती ठेस भोग्नुका साथै थुप्रै हण्डर खाएकी छन्।

हरिमायालाई एड्स (बम्बैया रोग) लागेको करीब चार वर्ष भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा एचआइभी एड्सलाई बम्बैया रोग भन्ने चलन छ।

श्रीमान् दीर्घबहादुर भारतमा काम गर्दागर्दै बिरामी परेर गाउँ फर्केको सात महीनापछि ओछ्यानमा परे। श्रीमान् आफूलाई टिबी भएको भन्दै औषधि खान्थे। मरेपछि गाउँलेले ‘भाइयौ यसको लोग्ने त एड्स लागि म¥याको हो’ भनेपछि बल्ल उनले थाहा पाइन लोग्नेलाई पहिले नै एचआइभी एड्स भएको रहेछ।

अन्जान तथा निर्दोष उनलाई श्रीमान्ले एचआइभी थमाइदिए। तर उनका छोराछोरीमा भने यो रोग नदेखिएको बताइएको छ।

गाउँमा उनलाई एचआइभी छ भन्ने हल्ला फैलिएपछि गाउँलेले भन्नथाले, ‘यइले पनि दुनियाँको रोग सारी।’ आफनो श्रीमान् बितेको करीब एक वर्षसम्म गाउँगाउँमा मागेर आफ्ना केटाकेटी पालिन। तर उनलाई गाँउमा बस्ने बाताबरण बनेन। उनी विस्तापित हुन पुगिन।

गाउँबाट विस्थापित भएसँगै हरिमायाको जिन्दगीका पाइला टेक्ने एक टुक्रा जमीन र टाउको लुकाउने झुप्रो घर पनि खोसियो। उनको घरमा जस्तै डोटीका धेरैजसो गाउँबाट भारतका मुम्बइ र दिल्लीमा काम गर्न जाने पुरुषले घर फर्कंदा परिवारमा नासोस्वरुप एचआइभी ल्याइदिने गरेका छन्। रोजगारीका लागि भारत गएर आउनेले ल्याएको एचआइभी एड्सले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी एड्स बढी भएको दोस्रो पहाडी जिल्लामध्येमा गनिन्छ।

सिकारीको तिर लागेर घाइते भएको मृगजस्तै डोटी पनि एचआइभी रोगको ओछ्यानमा दिनानुदिन थला पर्न थालेको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एचआइभी एड्स घट्नुको साटो दिनानुदिन बढिरहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको तत्थ्याङ्कमा उल्लेख छ।

यहाँका एचआइभी सङ्क्रमितहरु गाउँमा बहिस्कृत छन्, अपहेलित छन्।

हरिमायाका छोराछोरी साथीसँग खेल्न गाउँमा यताउता जाने गर्दैनन्। साथीसँगीले पनि ‘बम्बैयाको सन्तान आयो (एड्स आयो)’ भन्ने गरेका कारण उनीहरु साथीसँगीसँग खुलेर बोल्न र हिँड्न नसक्ने गरेको दुखेसो पोख्दै उनी भन्छिन्, “जङ्गलमा काफल पाकेको चरीले नचिन्दा भोकै बस्नुपरेको र समयमै श्रीमानलाई लागेको एचआइभी नचिन्दा आफनो यस्तो अवस्था भयो, त्यसैले बिलौनाका गीत गाएर बस्न बाध्य छु।” आफूलाई जस्तो अरुलाई नपरोस् भन्दै भगवानसंग प्रार्थना गर्ने र गीत गाउने गरेको समेत हरिमाया बताउँछिन्।

एचआइभी एड्स सङ्क्रमितका क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका अनुसार डोटीमा खुलेका मात्रै ९८० एचआइभी एड्सबाट सङ्क्रमित छन् भने नखुलेकाहरु अझै धेरै हुनसक्छन्। अहिले डोटीमा एचआइभी एड्स सङ्क्रमितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न गैरसरकारी संस्था सक्रिय रहेका छन्। जिल्लामा एचआइभी रोकिनुको साटो दिनानुदिन बढिरहेको पाइएको छ। यहाँको एचआइभी रोकथामका लागि प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ। रासस / स्वास्थ्य खबर अनलाइन

चर्चामा

सम्बन्धित समाचार