• होमपेज
  • समाज
  • बाजुरामा असिनापानीले हिउँदे बालीमा क्षति

बाजुरामा असिनापानीले हिउँदे बालीमा क्षति

मार्तडी कोल्टी सडक अवरुद्ध

  • बुधबार, बैशाख २६, २०८१
बाजुरामा असिनापानीले हिउँदे बालीमा क्षति

बाजुरा —बाजुराको उत्तरी भेग बुढिनन्दा नगरपालिकामा असिनापानीले पाक्नै लागेको हिउँदे बालीमा ठुलो मात्रामा क्षेति गरेको छ । मंगलबार बेलुकादेखि परेको असिनापानीले पाक्नै लागेको गहुँ, जौ बालीनालीसहित तरकारीमा क्षेति गरेको हो ।

करिब चार घण्टाको असिनापानीले अन्नबालीका साथै फलफूल र तरकारी खेतीमा ठुलो क्षति पुर्‍याएको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।
बुढिनन्दा नगरपालिकाका‐१, २, ३, ७ लगायत अन्य वडामा पनि असिना पानीले खेतबारीमा पाकेको गहुँबाली चुटेर नष्ट गरेको स्थानीय कृषकहरुले बताएका छन् ।

असिनापानीले बुढिनन्दा नगरपालिका ३ मा स्थानीयका ११ भेडा असिनापानीसँगैको बाढीमा परेर मरेका छन् भने ९ भेडा हराएका स्थानीहरुले बताएका छन् । स्थानीय श्याम रोकायाका ४ भेडा मरेका छन भने एक अर्का स्थानियका ७ भेडा मरेका र ९ भेडा हराएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै असिनापानीका कारण सदरमुकाम मार्तडी कोल्टी सडक अवरुद्ध भएकोे छ । मार्तडी कोल्टी सडकखण्ड अन्तर्गत बुढिनन्दा नगरपालिका १० पाण्डुृसैन देखि ७ र ५ वडा सम्मको ५ किलोमिटर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिंह ऐरीले बताएका छन् । असिनापानीसँगै आएको बाढीले अवरुद्ध सडकखण्ड सुचारु हुन अझै केहिदिन लाग्ने प्रहरी निरिक्षक ऐरीले बताए । सदरमुकाम मार्तडीबाट जिल्लाको उत्तरी भेग जोड्ने सडकखण्ड अवरुद्ध भएपछि यातायात सेवा पनि बन्द भएको प्रहरीले जनाएको छ ।

बुढिनन्दा नगरपालिका वडा नम्बर ७ चाटाबगरमा दुई कोठे निजी विद्यालयसहित भान्छा घरमा असिनापानीसँगैको बाढीले क्षति गरेको स्थानीय दिपक मल्लले बताएका छन् । चाइल्ड डेभलोभमेन्ट स्कुल असिनापानीसँगै आएको बाढीले छापेको छ भने नजिकै रहेको भान्छा घर बगाएको उनले बताए ।

असिनापानीले स्थानीय मल्लसहित छिमेकीको अन्नबाली, तरकारी लगायत घरमा ठुलो क्षति गरेको स्थानीयहरुले बताएका छन् । यस बर्ष हिउँदे बाली पाकेर भित्र्याउने समयमा असिनापानीले नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार