• होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा मन्त्री बन्ने होडबाजीले मन्त्री मण्डल विस्तारमा अन्योल

सुदूरपश्चिममा मन्त्री बन्ने होडबाजीले मन्त्री मण्डल विस्तारमा अन्योल

  • शुक्रबार, जेष्ठ ११, २०८१
सुदूरपश्चिममा मन्त्री बन्ने होडबाजीले मन्त्री मण्डल विस्तारमा अन्योल

धनगढी– सुदूरपश्चिममा एकीकृत समाजवादीको दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री छन्। चार जना प्रदेश सभा सदस्य रहेका समाजवादीबाट सोडारी मात्र मुख्यमन्त्री छन्। अन्य तीन जना प्रदेश सभा सदस्यहरूले मन्त्री तथा राज्य मन्त्रीको पद पाएका छैनन्।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पाटीका सात जना प्रदेश सभा सदस्यहरू छन्। उनीहरूमा कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन्। नागरिक उन्मुक्ति पार्टीका पाँच जना प्रदेश सभा सदस्यहरूले मन्त्री तथा राज्यमन्त्रीको पद पाएका छैनन्। उनीहरू प्रदेश सरकारको विपक्षमा छन्।
सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य सरकारको पक्षमा छन्। उनीहरूको बिचमा प्रदेशका मन्त्री तथा राज्य मन्त्रीको पदहरूको भागबन्डा गर्नुपर्ने हुन्छ। तर, स्वतन्त्र प्रदेश सभा सदस्य ताराप्रसाद जोशीले भागबन्डा नमिलेको बताए। उनले भने, ‘मुख्यमन्त्री ज्यू काठमाडौँ आउनु भएको छ। मन्त्रीको विषयमा छलफल गर्न होला। मलाई मन्त्री दिने, उपमन्त्री दिने वा राज्यमन्त्री कुनै छलफल भएको छैन।’
सुदूरपश्चिममा आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मन्त्री र राज्यमन्त्री विहीन छन्। एकीकृत समाजवादीले मुख्यमन्त्री पाएको छ। नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय पाएको छ। सुदूरपश्चिममा चार वटा मन्त्रालय मात्र खाली रहेका छन्। माओवादी केन्द्र र एमालले दुई÷दुई वटा मन्त्रालय भागबन्डा गर्दै छन्। तर, स्वतन्त्र प्रदेश सभा सदस्य जोशीलाई समेत प्रदेश सरकारमा सामेल गर्नुपर्ने भएपछि समस्या देखिएको हो। प्रदेशमा मन्त्री तथा राज्यमन्त्रीको पद भन्दा आकाङ्क्षी धेरै भएपछि मन्त्रालय फुटाउने तयारीसमेत गरिएको हो।
सुदूरपश्चिमको प्रदेश प्रमुख एमालेका नजिर मियाँ छन्। सभामुखमा माओवादी केन्द्रबाट भीमबहादुर भण्डारी र उपसभामुख एमालेकी कोइलीदेवी चौधरी छन। फेरि एमाले र माओवादीले दुई÷दुई वटा मन्त्रालयमा दाबी गर्दै छन्। माओवादीका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले मन्त्री तथा राज्यमन्त्रीको भागबन्डाको काम नसकिएको बताए। उनले भने, ‘एमालेले २ र माओवादीले २ मन्त्रालय पाउने हो। कुन मन्त्रालय पाउने छलफल भएको छैन। भोलि प्रचण्ड र केपी ओलीको बैठकपछि सबै खुल्छ।’ उनका अनुसार शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीको बिचमा बैठक रहेको छ। सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी पनि काठमाडौँ पुगेका छन्।

गत बैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले जेठ ३ गते सुदूरपश्चिमको प्रदेश सभाबाट विश्वासको मत पाएका थिए। गत वैशाख १८ गते नागरिक उन्मुक्ति पार्टीबाट भौतिकमा चौधरी र कृषि मन्त्रीमा थापालाई नियुक्त गरेका सोडारीले गठबन्धनमा रहेका दलहरूको बिचमा सहमति नभएकाले मन्त्री मण्डललाई पूर्णता दिन सकेका छैनन्।

माओवादी केन्द्रबाट आठ महिना मन्त्री बनेका रमेश सिंह धामी र झपटबहादुर साउँदले मन्त्रीमा दोहोरीने इच्छा व्यक्त गरेका छन। माओवादी केन्द्रका संसदीय दलका उपनेता रावल, ओम विक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विकले समेत मन्त्रीका लागि दाबी गर्दै छन्। रावलले पुराना मन्त्रीहरूलाई फेरि पठाउने वा नयाँ मन्त्री पठाउने भन्ने विषयमा सहमति नभएको बताए। तर, उनीहरू सबै मन्त्रीका लागि दौडधुपमा रहेका छन्। एमालेले सरकारमा जाने वा नजाने विषयमा निर्णय लिएको छैन। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको पर्खाइमा एमाले रहेको छ। तर, एमालेबाट सन्तोष शर्मा थापा, सुरेन्द्र पाल, वीरबहादुर थापा, दमनबहादुर भण्डारी र धर्मराज पाठकको नाम मन्त्रीका लागि चर्चामा छन्।

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार