आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराका विद्यालयमा जनशक्ति अभाव

बाजुराका विद्यालयमा जनशक्ति अभाव

  • सोमवार, पुस १६, २०८०
बाजुराका विद्यालयमा जनशक्ति अभाव
फाइल तस्बिर

बाजुरा — ‘विषय शिक्षक छैनन्, एउटै कोठामा १ सय ४० जना विद्यार्थी खाँदिएर भुइँमा बस्छौं, अर्को स्कूल जाउँ भने दिनभर लाग्छ,’ बाजुराको अति विकट स्वामीकार्तिक खापर गाउँपालिकाको साप्पाटास्थित राघुमाता माध्यमिक विद्यालयमा कक्षा ९ अध्ययनरत पाण्डव विकले भने, ‘के हामी जस्तो दुर्गममा बस्ने गरिबका बच्चालाई राम्रो शिक्षा पाउने अधिकार छैन ?’ शिक्षक–अभिभावककै अघिल्तिर उनले तिखो स्वरमा गुनासा पोख्दै गर्दा विद्यालयका शिक्षक र विद्यार्थीले ताली बजाएर समर्थन गरे ।

राघुमाताबाट नजिक पर्ने अर्को विद्यालय जुकोटस्थित शम्भुसुनन्दा माविमा आउन जान झण्डै एकदिन लाग्ने भएकाले साप्पाटाका विद्यार्थीलाई राघुमाताको विकल्प छैन । १२ कक्षासम्म पढाइ हुने राघुमाता माविमा जस्ताले छाएका पुराना दुईवटा भवनका भित्ता चिराचिरा भएका छन् ।

एउटा शौचालय भए पनि पानीको व्यवस्था छैन । खोलाको लेदो पानी खानुपर्छ, शौचालयमा पानी नभएर खोलामा जानुपर्छ, न खेल मैदान नै छ । कक्षाकोठामा डेक्सबेन्च नभएकाले धुलाम्मे भुइँमा बसेर पढ्नु पर्छ । भिरालो ठाउँमा भएकाले विद्यालयको प्राङ्गणबाट बल खसे भीरबाट सिधै कर्णाली नदीमा पुग्ने अवस्था छ ।

शिक्षक अभाव त पुरानै कुरा भइहाल्यो । साप्पाटाकै खोलीकोट आधारभूत विद्यालय भवन माथिबाट चारैतिर पहिरोको चिराचिरा छ । डाँडाको टाकुरामा जस्ताले छाएको भवनमा मध्याह्नदेखि बेजोड हावा चल्न सुरु भएपछि बसिसक्नु हुँदैन र विद्यार्थी क्रमशः घर फर्किन्छन् । खोलीकोटकै अलि पल्तिर मण्डाली आधारभूत विद्यालयको कक्षाकोठामा डेस्कबेन्च छैन । बाहिर खेल मैदानको भित्तामा एउटा कालोपाटी ठड्याइएको छ । कलिला नानी चिसो भुइँमा पलेटी कसेर बस्छन् ।

हिमाली गाउँपालिकास्थित कोट माविमा माध्यमिक तहका एक मात्र शिक्षक छन् । गाउँपालिकाबाट अर्को एक शिक्षकका लागि बजेट प्राप्त भएको छ । ‘गणित र विज्ञान पढाउने शिक्षक खोज्न थालेको धेरै भइसक्यो । विकट भएकाले कोही पनि आउनै मान्दैनन्,’ प्रधानाध्यापक चन्द्रवीर बुढाले भने, ‘आधारभूत तहका आईएस्सी शिक्षकलाई नै माविमा पनि पढाउन लगाउँछौं । गुणस्तरीय शिक्षाको कुरा त के गर्नु ?’

स्वामीकार्तिक खापर गाउँपालिकाको राघुमाता र हिमालीको कोट मावि मात्र होइन, कर्णालीसँग जोडिएका बाजुराको पूर्वोत्तर क्षेत्रका स्थानीय तहमा सञ्चालित माध्यमिक तहका सबै विद्यालयको शैक्षिक अवस्था कमजोर छ । पूर्वोत्तर क्षेत्रका स्वामीकार्तिक खापर, हिमाली, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका अधिकांश माविले झेलिरहेको समस्या एकनासकै छ । यहाँका सबैजसो विद्यालयले अझै पनि शिक्षक र भौतिक पूर्वाधारको अभाव झेलिरहेका छन् ।

साप्पाटाको राघुमातामा माविमा ९ देखि १२ कक्षाका लागि तीन जना शिक्षक छन् । माविमा एउटै स्थायी दरबन्दी नभएको यो विद्यालयमा दुई राहत र एक संघीय अनुदानबाट नियुक्त शिक्षक हुन् । ०६५ देखि माध्यमिक तहको पढाइ सुरु भएको राघुमातामा ९–१० कक्षामा २ सय ५६ विद्यार्थी छन् भने कक्षा ११–१२ मा १ सय ५५ जना अध्ययनरत छन् । तीन जना शिक्षकले माविका ४ सय ११ विद्यार्थीको पढाइ धानिरहेका छन् ।

तीनमध्ये राहतकोटाका दुई शिक्षक अंग्रेजी र विज्ञान विषयका हुन् । अनुदान कोटाका शिक्षक नेपाली विषय पढाउँछन् । यहाँ ६ देखि ८ कक्षा पढाउने शिक्षकको अभाव उस्तै छ । दुई जना दरबन्दीका र दुई गाउँपालिका अनुदान रकमबाट पारिश्रमिक पाउने शिक्षकले नै पढाइ धानिरहेका छन् । ‘निमाविका सरहरुले समय झिकेर माथिल्लो कक्षामा पनि पढाउँछन्,’ शिक्षक पूर्ण बुढाले भने ।

स्वामिकार्तिक खापर गाउँपालिकाभर माध्यमिक तहसम्मको पठनपाठन हुने ६ विद्यालय छन् । तीमध्ये तीनवटामा १२ कक्षासम्म पढाइ हुन्छ । तर ती ६ विद्यालयमा मावि तहमा स्थायी दरबन्दीको शिक्षक संख्या ९ मात्र छ । १० कक्षासम्म सञ्चालनमा रहेका कुलादेवी मावि बर्कु र शम्भुसुनन्दा मावि जुकुमा अनुदान स्रोतबाट राखिएका दुई/दुई जना शिक्षकले माध्यमिक तहको पठनपाठन धानिरहेका छन् ।

भैरवनाथ मावि जेरामा पनि संघीय सरकारको अनुदान रकमबाट दुई जना र पालिकाको अनुदानबाट एक जना शिक्षक राखिएका छन् । उनीहरु तीन जनाले नै विद्यालयको माध्यमिक तह धानिरहेका छन् ।

‘गुणस्तरी शिक्षाको कुरा हुन्छ, हाम्रो जस्तो विद्यालयमा पढाउने शिक्षक नै छैनन्,’ स्वामिकार्तिक खापरका शिक्षा शाखा प्रमुख दीपक शाहीले भने, ‘विषय शिक्षक र अन्य पूर्वाधार अभाव रहेको शैक्षिक संस्थाबाट सक्षम शैक्षिक जनशक्ति उत्पादन सम्भव हुन सक्दैन । तल्लो तहमा रहेका भए पनि शैक्षिक योग्यता भएका शिक्षकले माथिल्लो कक्षा पनि हेर्ने गर्छन् सबै विद्यालयमा ।’ राघुमाता माविमा गत वर्ष २०७९ एसईईमा सहभागी ७४ विद्यार्थीमध्ये एक जनाले पनि बी ग्रेड नल्याएको अभिलेख छ ।

हुम्लासँग सीमा जोडिएको हिमाली गाउँपालिकाले बाजुराको कूल भूगोलको ४३ प्रतिशत ओगटेको छ । यहाँ आठवटा मावि रहेकामा ३ मा १२ कक्षासम्म पढाइ हुन्छ भने अन्यमा १० कक्षासम्म पढाइ भइरहेको छ । ‘आठवटा माविमा स्थायी दरबन्दीका दुई/दुई जना शिक्षक मात्र छन्,’ गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले भने, ‘सुगममा बसेर शैक्षिक गुणस्तरका ठूलठूला कुरा गर्न सजिलो हुन्छ, हाम्रोजस्तो दूरदराजको शैक्षिक अवस्था जुगाडमा चलिरहेको छ ।’ शिक्षक र अन्य आधारभूत पूर्वाधार नै पुर्‍याउन नसकेको ठाउँबाट शैक्षिक गुणस्तरको कुरा गर्नु व्यर्थ भएको उनले बताए ।

हिमाली गाउँपालिकाका बिच्छ्या, यूना, शैलेश्वरी, धुलाचौर, जनता माविको अवस्था पनि उस्तै छ । ‘गुनासो गरेर पनि के गर्नु, विकल्प नै छैन,’ कोटका बासिन्दा मनलाल बुढाले भने, ‘नजिकको अर्को विद्यालयमा जान एक दिन लाग्छ । त्यहाँ पनि समस्या उस्तै त हो ।’ बडीमालिका मावि धिममा मावि तहमा दुई जना दरबन्दी र एक राहत र प्लस टुका लागि गाउँपालिकाले दुई जना स्वयंसेवक शिक्षक दिएको यही एकमात्र विद्यालय हो । ‘पाँच जना शिक्षकको भरमा ९–१२ धानेका छौं,’ प्रधानाध्यापक यादवप्रसाद पौडेलले भने, ‘हाम्रो विद्यालयको शैक्षिक उपलब्धि ५४ प्रतिशत मात्रै छ ।’

बाजुरामा विकटमा पर्ने अर्को स्थानीय तह जगन्नाथ गाउँपालिकामा रहेका माध्यमिक तहका तीन विद्यालयमध्ये सरस्वती मावि ढाडाकोट पनि एक हो । २०१७ सालमा स्थापना भए पनि २०५६ मा मावि सञ्चालन भएको यो विद्यालय पनि अनेक अप्ठेरा पार गरेर जेनतेन चलिरहेको छ । मावि तह सञ्चालन भएको दुई वर्षपछि सशस्त्र द्वन्द्वकालमा २०५८ सालमा शिक्षक अभावका कारण विद्यालय ८ कक्षामा झर्‍यो । २०६४ सालमा पुनः १० कक्षासम्म सञ्चालन भएको यो विद्यालयमा अहिले १२ कक्षासम्म पढाइ भइरहेको छ ।

आधारभूत तहका शिक्षक विष्णुबहादुर विष्टले प्रधानाध्यापकका रुपमा प्लस टुसम्मको विद्यालयको बाध्यात्मक नेतृत्व गरिरहेका छन् । माध्यमिक तह कक्षा १२ सम्म अध्यापन हुने भए पनि सरस्वतीमा एक राहत शिक्षक, संघीय सरकारको अनुदान स्रोतबाट गणित र विज्ञान पढाउने दुई शिक्षक, पालिकाको अनुदान स्रोतबाट एक नेपाली विषयका गरी चार शिक्षकले ९–१० कक्षा पढाउनु पर्ने बाध्यता रहेको प्रअ विष्टले बताए ।

जगन्नाथमा रहेका तीनवटा विद्यालय टाढाटाढा छन् । सरस्वती मावि ढाडाकोटमा विद्यार्थीको चाप छ । कक्षा ९–१० मा १ सय ४१ जना र कक्षा ११–१२ मा ४७ जना विद्यार्थी छन् । ११ र १२ कक्षा पढाउन पालिकाले दुई जना निजी शिक्षकका लागि अनुदान दिने गरेको छ । ‘गुणस्तरीय शिक्षाको कुरा गर्नु व्यर्थ हो,’ प्रअ विष्टले भने, ‘विद्यालय छ भन्नु मात्र न हो । यत्ति चलाउन पनि आर्थिक व्यवस्थापनमा कुनै कठिनाइ नभएर नियमित भइदिए हुन्थ्यो भन्ने पो लाग्छ ।’

देवलडाँडा मावि गोत्रीमा पनि स्वीकृत दरबन्दी नै छैन । तीन जना राहत शिक्षकको भरमा ९–१२ कक्षा सञ्चालन भइरहेको छ । जगन्नाथमा रहेका माध्यमिक विद्यालयमध्ये कैलाश मावि महतिमा मात्र मावि तहमा दुई जना शिक्षकको स्थायी दरबन्दी रहेको पालिकाका शिक्षा शाखा प्रमुख जयबहादुर साउँदले बताए ।

कर्णाली क्षेत्रसँग जोडिएको बाजुराको पूर्वोत्तर क्षेत्रको अर्को स्थानीय तह बुढीनन्दा नगरपालिकामा सञ्चालित माध्यमिक तहका विद्यालयको अवस्था पनि उस्तै छ । यस नगरपालिकामा जनप्रकाश र सत्य माविमा प्लस टुसम्म पढाइ हुन्छ भने देवलडाँडा, नन्देश्वरी र बाँधु मावि १० कक्षासम्म सञ्चालित छन् ।

देवलडाँडा माविमा कक्षा ९–१० मा ८५ जना विद्यार्थी छन् । शिक्षक दरबन्दी छैन । अनुदान स्रोतबाट एक जना अंग्रेजी र अर्को विज्ञान गरि दुई जना शिक्षक मात्र छन् । बाँधु माविमा पनि त्यही अवस्था छ । ९–१० कक्षामा ९९ जना शिक्षक छन् । अध्यापनका लागि गणित र अग्रेजी विषयका लागि दुई जना मात्र शिक्षक छन् । ‘यहाँका विद्यालयमा शिक्षक अभाव छ, भएका शिक्षकहरुको मूल्यांकन गर्ने परिपाटी पनि हरायो,’ बुढीनन्दा नगरपालिका शिक्षा शाखाका प्रमुख दयाराम जोशी भन्छन्, ‘यही अवस्थाका कारण नतिजा कमजोर छ । ८ कक्षाको उत्तीर्ण दर २२ प्रतिशत मात्र छ ।’

कर्णालीसँग जोडिएका बाजुराको पूर्वोत्तर क्षेत्रका चार स्थानीय तहमा २४ मावि तहका विद्यालय छन् । ती विद्यालयमा २० जना मात्रै स्थायी दरबन्दीका शिक्ष छन् । स्वामीकार्तिक खापरमा रहेका ६ विद्यालयमा ९, जगन्नाथ गाउँपालिकामा रहेका चार माविमा दुई, हिमाली गाउँपालिकामा रहेका आठ विद्यालयमा दुई र बुढीनन्दा नगरपालिकामा रहेका ६ विद्यालयमा सात जना मात्र स्थायी दरबन्दीका शिक्षक छन् ।

भौगोलिक र विद्यार्थी संख्याका आधारमा विद्यालय संख्या वृद्धि भए पनि बाजुरास्थित शिक्षक संगठनका अगुवा तुलाबहादुर थापाका अनुसार बाजुरामा २०६६ सालयता शिक्षक दरबन्दी थप भएको छैन । तत्कालीन अवस्थामा शिक्षक दरबन्दी दिने दायित्व शिक्षा विभाग जिल्ला शिक्षा समन्वय समितिको थियो ।

शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टका अनुसार हालको व्यवस्था अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकेको मापदण्ड अनुसार दरबन्दी मिलानको अधिकार र दायित्व स्थानीय तहलाई छ । शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक नभएका माध्यमिक विद्यालयमा दरबन्दी वा अनुदान कोटा दिने व्यवस्था रहेको उनले बताए ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया गाउँपालिकाको स्रोतबाट अभावैअभावमा रहेको शैक्षिक पूर्वाधारलाई सुधार गर्न असम्भव रहेको बताउँछन् । ‘स्थानीय तहको सीमित आर्थिक स्रोतमा पनि बाटोघाटो, सडक, खानेपानी, सिँचाइलगायतका पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने बाध्यताले शैक्षिक सुधारमा आवश्यकता अनुसार बजेट अपुग हुने गरेको छ,’ उनले भने । आफ्नो पालिकामा वार्षिक करिब १० करोड रुपैयाँ शिक्षा क्षेत्रमा खर्च भइरहेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । ‘अर्बौंको बजेट आवश्यक भएको क्षेत्रमा यति रकमले दीर्घकालीन समस्या समाधान गर्दैन,’ उनले भने ।

एकातिर देशमा बेरोजगारीको जर्जर अवस्था छ । अर्कोतिर बाजुराजस्तो ठाउँका विद्यालय शिक्षक नपाएर समस्यामा छन् । हिमाली गाउँपालिकाको कोट माविले पनि त्यही समस्या खेपिरहेको छ । इन्टरनेटको जमानामा टेलिफोन पनि नचल्ने, यातायातको कठिनाइ र विद्युत्समेत नपुगेकाले बाहिरबाट शिक्षकहरु आउनै नमान्ने कोट माविका प्रअ चन्द्रवीर बुढा बताउँछन् । विकट क्षेत्र भएकाले माध्यमिक तहमा गणित, विज्ञान र अंग्रेजीका विषय शिक्षकको अभाव भइरहेको बुढाको भनाइ छ ।

‘माध्यमिक तहमा अध्यापन गर्न कम्तीमा स्नातक तह उत्तीर्ण जनशक्ति आवश्यक पर्छ । स्थानीय तहमा गणित, विज्ञान पढाउन सक्ने जनशक्ति नै छैन,’ उनले भने, ‘अर्कोतिर न्यून पारिश्रमिक हुने भएकाले पनि यस्तो दूरदराजमा बाहिरबाट दक्ष जनशक्ति आउन मान्दैनन् । दरबन्दीका शिक्षकले कम्तीमा ६५ हजारसम्म पारिश्रमिक पाउँछन्, तर हामीले करारमा राख्दा बढीमा ३५–४० हजार मात्र दिन सक्ने अवस्था छ ।’

नौ स्थानीय तह रहेको बाजुराका पूर्वोत्तर क्षेत्रका विद्यालयमा मात्र शैक्षिक पूर्वाधार अभावमा गुणस्तर उठ्न नसकेको नभई जिल्लाभरकै विद्यालयको अवस्था एउटै रहेको शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्राविधिक सहायक गोपालदत्त पाण्डे बताउँछन् ।

इकाइ कार्यालयका अनुसार बाजुरामा ६४ वटा माध्यमिक तह सञ्चालित विद्यालय छन् । तीमध्ये २७ वटामा प्लस टुसमेत सञ्चालित छन् । ६४ विद्यालयमा ९–१० कक्षामा अध्ययनरत विद्यार्थी संख्या ५ हजार ४ सय २९ रहेको छ भने शिक्षक दरबन्दी संख्या ७१ मात्र रहेको छ । थप ६० जना राहत, संघीय अनुदान स्रोतका २६, प्रदेश सरकारको अनुदान स्रोतका ६, सम्बन्धित स्थानीय तह स्रोतका १४ र एक जना करार शिक्षक गरी १ सय ७८ शिक्षक छन् । ६४ विद्यालयमध्ये ४७ वटामा एउटै पनि स्थायी शिक्षक दरबन्दी छैन । २४ वटा विद्यालयमा स्थायी दरबन्दी र राहतका कुनै पनि शिक्षक छैनन् । कान्तिपुर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार