सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस किन कमजोर बनिरहेको छ ?

कांग्रेस किन कमजोर बनिरहेको छ ?

  • सोमवार, पुस २५, २०७९
कांग्रेस किन कमजोर बनिरहेको छ ?

नेपाली कांग्रेस गौरवपूर्ण इतिहास बोकेको लोकतान्त्रिक पार्टी हो। उसले निरंकुश राणाशासन विरुद्ध लड्यो र देशलाई राणाशाही मुक्त गरायो। पछि आएर २०४६ सालमा निर्दलीय पञ्चायत विरुद्ध लड्यो। बहुदलीय व्यवस्था स्थापित गर्‍यो। फेरि २०६२ सालमा निरंकुशतातिर देश बढ्न लाग्दा आफ्ना आधारभूत राजनीतिक दर्शनलाई तिलाञ्जली दिएर भए पनि हत्या–हिंसाको चपेटाबाट देशलाई उन्मुक्ति दियो र देशमा गणतन्त्रात्मक संघीय बहुदलीय व्यवस्था सम्भव भयो।

यही व्यवस्था अन्तर्गत देशमा दुई वटा राष्ट्रिय निर्वाचन सम्पन्न भएका छन्। मतपरिणाम अनुसार देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेर पनि सत्ता राजनीतिमा ऊ हारेको छ। बिडम्वना ! सत्ता राजनीतिमा पराजयको वास्तविक कारण पहिल्याउन र त्यस अनुरूप आफूलाई रुपान्तरण गर्न वर्तमान कांग्रेस राजनीतिको शीर्ष नेतृत्व तयार देखिंदैन। पार्टी नेतृत्व यस्ता गहन विषयमा निरपेक्ष भैरहने हो भने यसले भविष्यमा कांग्रेसलाई मात्र नभै समग्रमा राष्ट्रिय राजनीति, प्रजातन्त्र, देशको सार्वभौमसत्ता, राष्ट्रियता लगायत देशको बहुआयामिक क्षेत्रमा असर पार्न सक्छ।

राजनीतिको सत्यसापेक्ष आँखाले हेर्दा वर्तमानमा कांग्रेस कहाँ चुक्यो र चुक्तै छ ? भविष्यमा पार्टीलाई पुनर्जीवन प्रदान गर्न के कस्ता उपाय अपनाउनुपर्छ भन्ने प्रश्नमा बुँदागत रूपमा निम्न कारण औंल्याउन सकिन्छ:

१. २००७ सालभन्दा अगाडि नै चन्द्रशमशेरको शासनकालमा स्व. कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई उपहारस्वरूप पठाएको गरिब नेपाली किसानको फाटेको टोपीको आत्मकथा पढ्न कांग्रेसको वर्तमान नेतृत्वले भुसुक्कै बिर्सियो। त्यो झुत्रे टोपीको प्रश्न तात्कालिक चन्द्रशमशेरतर्फ तेर्सिए पनि राणाकालीन सत्ताको अवसानपछि स्थापित भएका विभिन्न कालखण्डमा सरकारको नेतृत्व गर्ने पार्टी र व्यक्तिहरूबाट आजपर्यन्त सन्तोषजनक उत्तर कसैले दिन सकेको छैन। वितेका विभिन्न कालखण्डमा पंचायती व्यवस्था बाहेक धेरैजसो समय कांग्रेसले नै सत्ताको बागडोर सम्हाल्दै आएको छ। आजसम्म पनि गरिब नेपाली र गाउँका किसानको जीवन स्तर उठ्न नसक्नुमा कांग्रेसको नेतृत्व पनि जवाफदेही हुनुपर्छ। पार्टीको वर्तमान गतिविधि हेर्दा जवाफदेहीको अनुभूति गरेको पाइँदैन।

२. २०३३ सालमा जननायक बीपी कोइराला स्वदेश फर्कंदा आफ्नो मृत्युको पर्वाह गरेनन्। एक्लो बृहस्पति भएर पनि देशको राष्ट्रिय अस्मिता, स्वन्त्रतता र लोकतन्त्रको आत्मा बचाएर राख्ने काम गरे। अहिलेको अवस्थामा २०४६ सालपछि देखिनै यस्तो किसिमको साहस र दूरदर्शिता पार्टी हाँक्ने शीर्ष नेपाली कांग्रेसका नेताहरूमा सर्वथा अभाव देखिन्छ। देश, जनता, प्रजातन्त्र र राष्ट्रियताको सवालमा आफ्नो जीवन गौण देख्ने राजनेता बीपी कोइरालाको सान्निध्य बसेर राजनीति सिकेका र गरेका नेताहरू थोरै संख्यामा रहे पनि हालसम्मको कांग्रेसको नेतृत्व उनीहरूले नै गरेका छन्। दु:ख साथ भन्नुपर्छ उनीहरूले बीपीको राजनीतिक दर्शन र इमानदारिता आफूमा कहिल्यै लागू गर्न सकेनन्। फलतः हामीभन्दा आर्थिक तथा भौतिक विकास सूचकांक समान रहेका या हामी भन्दा कम विकसित देशहरू थाइल्यान्ड, भियतनाम, बङ्गलादेश लगायतले हामीलाई धेरै पछाडि छोडिसकेका छन्।

३. जननायक बीपी कोइरालाले आम नेपाली कांग्रेसका कार्यकर्तालाई सम्झाउँदै भनेका थिए, ‘यदि पार्टीमा आन्तरिक प्रजातन्त्र रहेन भने आम कार्यकर्ताले नेतृत्व विरुद्ध विद्रोह गर्न सक्नुपर्छ। यदि त्यस्तो हुन सकेन भने त्यो प्रजातान्त्रिक जीवन्त पार्टी हुन सक्तैन। केवल त्यो दासहरूको समूह बन्न जान्छ।’

अहिले कता कता लाग्छ नेपाली कांग्रेस पार्टी दासहरूको ठूलो समूह बन्न पुगेको छ। यही कारण हो यहाँ नियमित रूपमा वैचारिक बहस हुन छाडेको छ। वैचारिक मतभिन्नताले नभएर कार्यकर्ताहरू विभिन्न स्वार्थको कारणले विभिन्न गुट–उपगुटमा विभाजित हुन पुगेका छन्। यसले पार्टीलाई थप कमजोर बनाएको छ।

४. सत्ता लिप्सामा सधैं बसिरहने स्वादका कारण अनैतिक गठबन्धनमा नेपाली कांग्रेसको नेतृत्व चुर्लुम्म डुबेको छ। यसले गर्दा कुनै व्यक्तिविशेषको स्वार्थको कारणले पार्टी दिनानुदिन कमजोर बन्दै गएको छ। यसको ज्वलन्त उदाहरण यसपटकको नेपाली कांग्रेसले पाएको समानुपातिक मत परिणामले दर्शाउँछ।

२०७४ सालको आमचुनावमा नेपाली कांग्रेसको जनमत ३४-३५ प्रतिशत थियो भने आज घटेर हाराहारी २५ या २६ प्रतिशतमा झरेको छ। यो नेपाली कांग्रेसको घटेको मत फेरि हासिल गर्न फलामको च्युरा चपाउनु जस्तै हुन जान्छ। मासमा आधारित पार्टी हुनाले हराएका नेपाली कांग्रेसका पूर्व मतदाताहरू फेरि कांग्रेसलाई कुरेर बस्दैनन् अपितु नयाँ राजनीतिक संगठनमा आबद्ध हुन पुग्छन्। यसले गर्दा पार्टी दिनानुदिन कमजोर बन्दै गएको छ।

५. पार्टीमा उज्यालो राजनीतिक भविष्य बोकेका देशका नयाँ ऊर्जावान युवाहरूलाई आकर्षण गर्ने कुनै कार्य योजना छैन। पार्टीमा रहेको सिन्डिकेट प्रणालीले गर्दा चुनाव लड्नको लागि थैली चढाउन सक्ने पैसावाल हुनुपर्‍यो या नेतृत्वको दास हुनुपर्‍यो। यसैको परिणामस्वरूप यसपटक डा. स्वर्णिम वाग्ले, डा. मिनेन्द्र रिजाल, महेश आचार्य जस्ता नेताहरू पार्टीको टिकट वितरण कोटामा अटाउन सकेनन्।

स्वाभिमानी कार्यकर्ताहरू पार्टी सत्ताको दास हुँदैनन्। उनीहरू पार्टी नेतृत्वलाई प्रश्न गर्छन्, स्वस्थ आलोचना र गलत निर्णयको विरोध गर्छन्। यस्ता कार्यकर्ताहरू अन्ततः पार्टीको ऊर्जा र पूँजी हुन् जुन कुरो मान्न वर्तमान कांग्रेसको नेतृत्व तयार देखिंदैन। यसले गर्दा दिनप्रतिदिन कांग्रेस कमजोर बन्दै गएको छ।

६. अबको पुस्ता पार्टीको गौरवमय इतिहास सम्झेर जति अत्याचार भए पनि पार्टीमै झुण्डिएर बस्ने पुस्ता होइन। बदलिंदो सामाजिक परिवेशमा आफ्नो भविष्य सुरक्षित नरहने र एउटै असफल नेतृत्वले पार्टी सधैं कब्जा गरिरहने अवस्थामा उनीहरू अर्को राजनीतिको बाटो पछ्याउन थाल्छन्। मान्छे स्वतन्त्र चिन्तन बोकेको चेतनशील प्राणी हो। ऊ कुनै पनि राजनीतिक संगठनमा सधैं बन्दी भएर बस्न सक्दैन। वैकल्पिक राजनीतिको बाटो पहिल्याउन थाल्छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले भर्खरै सम्पन्न आम निर्वाचनमा पाएको मत यसैको परिणाम हो भन्दा अत्युक्ति नहोला।

अब छिटोभन्दा छिटो नयाँ भरपर्दो ऊर्जावान नेतृत्व नेपाली कांग्रेसमा स्थापित हुन नसकेमा विस्तारै कांग्रेस इतिहासको लोक कथामा परिणत हुनसक्छ। समय गतिशील छ अनि समयको फैसला निर्मम हुन्छ।

७. बीपी कोइरालाले भनेका थिए, ‘यदि नेपाली कांग्रेसका नेता– कार्यकर्ता अलमलमा परे देशको एक मुठी माटो हातमा लिएर एउटा गरिब नेपाली किसानको अनुहार सम्झिनू। त्यस बखत तिम्रो मनले जे भन्छ त्यही गर्नू।’

आज त्यही अवस्था आएकोले सबैले चिरनिद्राबाट ब्युँझेर सही मार्ग पहिल्याउने बेला भएको छ। यसको लागि आम कार्यकर्ता दास मनोवृत्तिबाट माथि उठ्न सक्नुपर्छ। यदि त्यो हुन सकेन भने भीरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न।

चर्चामा

सम्बन्धित समाचार