बिहिबार, जेष्ठ ३, २०८१

महानगर भर्सेस तिमी !

  • आइतवार, बैशाख २९, २०७६
महानगर भर्सेस तिमी !

मानसी

‘सरकारले जस्तै मेरो मायामा डोजर चलायौ तिमीले !’

खुलामञ्चमा डोजर चलाएको दृश्यावलोकन गर्दै नजिकै पार्कमा बसिरहेकी युवतीले आफ्नो प्रेमको समसामयिकता तुलना गरी।

चिटिक्क परेका कोठा टम्म मिलेका दन्तलहर जस्तै। रङ्गको गन्ध पनि ताजै । त्यसमाथि नयाँनयाँ डिजाइनका कपडा, जुत्ता, चप्पल, चिया, कफी, चाउचाउ, बिस्कुट, चकलेट, चिप्स, खाद्यान्न, मदिरा आदिले भरिभराउ र्‍याक, पौष्टिक आहारले हृष्टपुस्ट छिमेकीको पुन्टे (लालगोविन्द) जस्तै।

एउटा पत्रकारले स्ट्यान्डबाइ दिइरहेको थियो, ‘महानगरले सार्वजनिक स्थानलाई भाडामा लगाउने सम्बन्धमा आफैंले गरेको सम्झौता भंग गर्दै खुलामञ्चमा बनेका टहरामा डोजर चलाएको छ। खुलामञ्चमा संरचना निर्माण गरी भाडामा लगाउने महानगरको निर्णयविरूद्ध जनविरोध चुलिएपछि प्रधानमन्त्रीले सटर भत्काउन निर्देशन दिएका थिए। सरकारको निर्देशनअनुसार महानगरले टहरामा डोजर चलाएको हो….’

‘टहरा’ शब्दप्रति असन्तुष्टि थियो उसको। नयाँ घर, नयाँ कपडा, नयाँ उत्साह… कम्ताको संयोजन थिएन ! कसरी त्यो टहरा भयो ? थापाथलीको जीर्ण पुलनजिकै बाग्मतीको किनारमा बनेका पो टहरा। टहरा र पक्की कोठा पनि चिन्दैनन् कि क्याहो पत्रकारहरू ! सटरसहितका पक्की कोठाहरूको लस्करलाई ‘टहरा’ भनेकोमा बढेको असन्तुष्टिको डिग्री पुरानै संरचनाको सम्झनाले तत्काल तल झार्‍यो । टन्टलापुर घाम, धूलाम्य वातावरणबीच पनि खुलस्त र रौनक त्यहाँको दृश्य अझै उसका आँखामा नाचिरहेका छन्।

पूर्वदेखि पश्चिमसम्म तन्किएको भवनसहितको हराभरा बजार क्षणभरमै खण्डहर बन्यो। ममताको भण्डार थन्क्याएको मानव जातिको समूह आफ्नै समूहमाथि अमानवीय र निर्मम प्रहारसहित जाइलागेको थियो डोजर अघि लगाएर।

उनीहरू म जस्तो मौन रहेनन्, लगानी फिर्ता भनौं वा लागत सुनिश्चितताको प्रत्याभूति खोजे। हुन पनि त्यो व्यापार थियो। व्यापारमा लगानी सुनिश्चिता र प्रतिफल खोज्नु स्वभाविक हो। तर, तिमीप्रति मेरो स्वतःस्फुर्त प्रेम पनि त स्वभाविक थियो !

महानगरप्रति उनीहरूको विश्वास र भरोसा बाध्यता थियो । फुटपाथमा डुलुवा व्यापार गरेर पेट पालेका, जीविकोपार्जन गरेका र परिवार चलाएका उनीहरूलाई पहिले त्यही महानगरले फुटपाथ प्रयोग गर्न रोक्यो। विकल्पविहीन उनीहरूले ‘महानगरसँगको सम्बन्ध गाँसिदिन्छु’ भन्ने बिचौलिया वा लमीलाई विश्वास गरे र आफूसँग भएको सबै सम्पत्ति सुम्पिए। नहुनेले ऋणपान गरेर पनि दिए। सर्वस्व सुम्पिएर सुमधुर भविष्यको सपना साँचेका उनीहरूको भरोसालाई ध्वस्त बनायो महानगरले एकैछिनमा, तिमीले जस्तै— न सोधनी भयो, न त विकल्प दिइयो ।

मैले तिमीलाई हृदयभरिको प्रेम सोहोरेर दिएकी थिएँ नि ! मेरो प्रेमको डोरीलाई तिमीले आफ्नो हृदयसम्म पुग्नै दिएनौं ! महानगरले जस्तै घात गर्‍यौ तिमीले मसँग ।

उनीहरूले महानगरको स्वरूपमा उभिएको बिचौलियालाई विश्वास गरे जस्तै मैले पनि कर्तव्य र जिम्मेवारीबोधको प्रतिरूपमा तिमीलाई विश्वास गरें । भन त, खुलामञ्चमा अलपत्र व्यापारी र ममा देखिने भिन्नता- अरूणा लामाले भने जस्तै ….मनै फाट्यो केले सिउने केले टाल्ने हो…..

उसले पनि छेउकुना कसेर सम्पूर्णतामा तुलना गरी आफूलाई ।

असरल्ल छरिएका खानेकुरा बटुलिरहेका थिए केटाकेटी । कोही प्लास्टिकको झोला, कोही जुटका बोरा र कार्टुनमा कोच्दै थिए धमाधम । गुच्चा खेलेर होस् वा एकखुट्टे, सुन्तला मिठाइ र पिपल गेडी खाँदै बाल्यजीवनको स्वाद लिनुपर्ने बेला जीविकोपार्जनका विभिन्न भूमिका र जिम्मेवारीले थिचिएका उनीहरूको क्रियाकलापले भित्रैसम्म पुगेर कोप्यो उसलाई ।

तिनका अभिभावक चर्को स्वरमा डुबेको लगानी, ठेकेदारबाट पाएको धोका र व्यवसायका लागि महानगरले देखाएको प्रलोभनबारे फलाकिरहेका थिए।

‘मेरो प्रेम कसैको प्रलोभन थिएन । धोका तिमीले दियौ ? होइन । धोका म आफैले खाएँ । मैले तिमीलाई विश्वास गरें। माया गरें, मुटुमा राखें। न मैले तिमीलाई सोधेर माया गरें, न त तिम्रो अनुमति लिएर हृदयमा राखें। जरूर म मेरो आफ्नै इच्छाले सञ्चालित थिएँ।’ अनायासै प्रेममा परेको सम्झनाको मिठो अनुभूतिले मन फुकायो।

‘तीन वर्षअघि एक लाखबाट दिन सुरू गरेको। अहिलेसम्म १४ लाख भयो। पाँच लाखको रेडिमेड सामान हालेको थियो पसलमा भर्खरै, १० दिन मात्रै भयो। …..खर्पनमा च्याउ बेचेर कमाएको,जीवनको रगत र पसिनाले भिजेको पैसा दिएको….’ पाँचैं औंला गोलाकार पारेर देखाउँदै वृद्धाले भनिन्, ‘…..नपुगेर सहकारीबाट ऋण लिएर दिएकी छु। अहिलेसम्म १४ लाख दिइसक्यौं हाम्ले।’

पीडाका आर्तनाद सलबलाएपछि उसले औंला भाँची, ‘कति वर्षअगाडि दिएकी थिएँ मैले मन उसलाई ?’ जो साँच्चै आज महानगरको भूमिका उत्रिएको छ ।

स्थानीयले विरोध गरे । सटर भत्काउन महानगरलाई सरकारले ठाडो निर्देशन दियो ।

सायद तिम्रो पनि नक्कली मान, प्रतिष्ठा, अनि सामाजिक स्तरीकरणले निर्दिष्ट गर्‍यो मसँगको प्रेम तोड्न। समान अवस्था, ठ्याक्कै उस्तै। सायद महानगर र डोजरसँग तिम्रो पनि आन्तरिक तालुकात थियो ?

‘खुलामञ्चमा त्यत्तिका सटर बन्दै गर्दा बेखबर थिएन महानगर। हरेक सम्बन्धका दुइटा पाटा हुन्छन् रे-आन्तरिक र बाह्य।

सम्बन्ध जुनसुकै होस्, सूचनाको सहजता व्यक्तिभन्दा सरकारी निकायलाई यथेष्ट हुन्छ। तर, सम्बन्ध र सुविधाले छोपेको सूचना उदाङ्गो पार्न ‘जनताको विरोध’ लाई आधार बनाइयो। ठीक त्यस्तै हो, मेरो देहमा माया अङ्कुरण भएको, बढेको, अनि फुल्न र फल्न लागेको यथार्थबाट बेखबर थियौ तिमी। दुई पक्ष होइन, त्यही तीन–चार पक्षको व्यापार फस्टाएको थियो दृश्य र अदृश्य पटमा। तर, जीवनका उकाली–ओराली लुकाउन जसरी तिमीले नाटक रच्यौ, महानगरले पनि त्यसै गरी मञ्चन गर्‍यो ।

‘दुनियाँका अगाडि बाँध लगाऊ। मेरो प्रेमको प्रतिरोध गर। प्रतिशोधमा पिल्स्याऊ। मलाई केही असर पर्दैन। किनकि मेरो मनमा तिम्रा लागि उम्रिएको प्रेममा आली लगाउन सक्तैनौ तिमी। न छेकबार गर्न सक्छौ, न पक्की बाँध लगाउन सक्छौ, न त सगरमाथा जस्तै चुलिँदै गएको प्रेम, आस्था, विश्वास अनि भरोसामा खुलामञ्चमा डोजर चले जस्तै डोजर चलाउन सक्छौ!’

खुलामञ्चमा महानगरले घुमाएको डोजर, त्यसले निम्त्याएको आर्तनाद, डोजर लगाउनै पर्ने गरी उत्पन्न समस्या, त्यहाँभित्रका घातप्रतिघात र प्रलोभन आदि अनेक स्थिति, क्षण र अवस्था हेरिरही उसले।

‘मैले तिमीलाई प्रेम गरेकी थिएँ व्यापार होइन। त्यसैले उनीहरूले जस्तै लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चिताको प्रत्याभूति खोज्दिनँ म!’

००

प्रेमको दरखास्त आह्वान त तिमीले नै गरेका हौ है फेरि अनेक बहानामा महानगरले जस्तै- बसपार्क, टिकट काउन्टर, औषधि पसल, सुरक्षा संयन्त्र, सोधपुछ कक्ष, केके हो केके। स्वीकृति र सम्बोधनको प्रलोभन दियौ निस्वार्थता देखाएर। तिमीमा पनि मेरो प्रेम पाउँछु भन्ने आशा प्रबल थियो। त्यसैले त मैले निवेदन दिएँ तिम्रै निर्णय स्वीकारेर तर अन्ततः आफ्नै निर्णयबाट पछि हट्यौ तिमी महानगर जस्तै।

हो, दुनियाँको नजरमा मेरो प्रेममा डोजर लगायौ त के भो ? मनभित्र तिम्रो स्मृति निकै मिठो गरी बसेकै छ। तिमी ‘गर’ वा ‘नगर’, म तिमीलाई प्रेम गर्न सधैं स्वतन्त्र छु। सधैं तिम्रो प्रेम पाइरहन्छु भन्ने आशा थियो जरूर तर नपाउँदैमा बिचलित पनि छैन म। जीवन रहेसम्म तिम्रो प्रेमको आभास भइरहन्छ मलाई। मनैमन कुरा गरिहन्छु तिमीसँग चाहेको बेला, कल्पनामै निरन्तर भेटिरहन्छु, सँगसँगै जीवन बिताइरहन्छु। रूक्मिणी बनाएनौ त के भो, राधा हुनबाट रोक्न सक्छौ तिमी ?

‘मेरो प्रेम व्यापारसँग कदापी तुलना हुँदैन। हुनै सक्तैन। त्यसैले म प्रेम गरिरहन्छु, दिइरहन्छु तिमीलाई। दिनुमा जति आनन्द लिनुमा कहाँ छ?

मापदण्ड मिचेर बनाइने कङ्क्रिटको पहाड हो र प्रेम, डोजर चलाउन ? मेरो प्रेम अमर छ।

कङ्क्रिटको पहाड जसरी अस्तित्वविहीन हुने छैन कहिल्यै- सम्झौता, निर्देशन र कुनै मापदण्डबिनाको प्रेम।

प्रतिफलबिनाको प्रेम।

नाफाबिनाको प्रेम।

लालसाबिनाको प्रेम।

यथार्थमा प्रतिपक्षीबिनाको संसद् जस्तो- न समर्थनको आश, न त विरोधको त्रास । जहाँ जे गर्न पनि एकछत्र राज।’

वर्षौदेखि कतै अवरूद्ध भएको मुस्कान बिस्तारै उसको भावभङ्गीमा झल्किँदै थियो । फलामले फलाम काट्छ भनेझैं खुलामञ्चको दुःखले उसको दुःख काट्यो सायद

‘एकोहोरो प्रेम ।

दोहोरो प्रेम ।

त्यागको प्रेम !

सब वाहियात। बिलकुलै होइन। मेरो मनको रोजाइँमा पर्‍यौ तिमी। त्यो लालसा तिमीमा पनि थियो जरूर। म नजिकिएँ, तिमीले साथ दियौ। कसरी भयो त्याग ?’

खुलामञ्चबाट बिस्तारै धूलो उड्न छोड्यो।

डोजरको आवाज मत्थर हुँदै हरायो।

दङदङी उडेको धूलोसँगै पीडितहरूको आक्रोश पनि वायुमण्डलको शून्यतामा कमजोर हुँदै गयो।

महानगरको स्पष्ट धोका! भरोसा र नाफाका लागि ठूलो जिजीविषा पालेकाहरूको जीविकोपार्जनमै पीडा र समस्या थपियो। सुन्ने कसले ? एकोहोरो खुलामञ्चको खुलापनको वकालत गर्दै आएको मिडियाले ? फेरि कान कहाँ हुन्छ र त्यसको— सिर्फ आँखाले चल्ने भएपछि।

‘सबैलाई छानोमुनि ल्याउने, अब कोही भोकैनाङ्गै नरहने’ चर्को भाषण गरेरै नथाक्ने सरकारी टाउको खोइ अहिले?

खुलामञ्च अतिक्रमणकारी बद्मासलाई तक्मा, पीडितको उठिबास ?

कम्तीमा मेरो प्रेममा त्यस्तो अन्यायचाहिँ भएको छैन है। न विजयोत्सव, न पराजयको सान्त्वना !

००

डोजर फर्कियो। डोजरसँगै चलाउने, चलाउन लगाउने, चलाउने तारतम्य मिलाउने, निर्देशन दिने, निर्णय लिने सबै गोलटोल मिलाएर फर्किए सरकारी सुरक्षा, संयन्त्र र प्रशासनको नाममा-पीडितको आशा, भरोसा र कमाइको स्रोत एकसाथ चकनाचुर पारेर। गुल्जार बजारमा एकैछिनमा मरूभूमि पसारियो लमतन्न।

आशाको त्यान्द्रोमा झुन्डिएका गरिबविरूद्ध युद्ध जितेर आएको लावालस्कर देखेर युवतीले सङ्कल्प गरी ऊप्रतिको मायाको बिरूवालाई अझै बलियो र सशक्त बनाउने। आफूभित्रको विश्वास, आशा र भरोसाले बुलन्द भयो उसको हृदय ।

मन्द मुस्कान छाउँदा पनि अनुहार धपक्क बल्यो-

‘मेरो प्रेम व्यापार होइन, किमार्थ होइन !’ फेरि दोहोर्‍याइ ।

निकै समयदेखि बन्दी बनेको उसको हाँसोले खित्का छोड्यो ।

वास बस्न ठिक्क परेका चराचुरूङ्गी भुरूर्र उडे ।

चरा उड्दा उत्पन्न बतास उसको हृदयमा भित्रैसम्म पुगेर शीतलता प्रदान गर्‍यो ।

०००

सेताेपाटी बाट

चर्चामा

सम्बन्धित समाचार