सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • बेचैन महरा, अनुसन्धान अस्पतालमै हुने

बेचैन महरा, अनुसन्धान अस्पतालमै हुने

  • मङ्लबार, चैत्र ६, २०८०
बेचैन महरा, अनुसन्धान अस्पतालमै हुने

काठमाडौं – ६६ वर्षमा प्रवेश गरेका कृष्णबहादुर महरा अस्वस्थ छन्। बोली प्रष्ट छैन। लर्बरिन्छ। स्वास्थ्यका कारण बोल्न पनि समस्या हुन्छ। उच्चरक्तचाप, ब्रोङ्काइटिस, मधुमेह, क्षयरोगलगायतका रोगले गलाएको छ।

आठ किसिमका औषधि सेवन गर्ने महरालाई काठमाडौं जिल्ला अदालतले उपचारको व्यवस्था गरी अनुसन्धान अघि बढाउन आदेश दिएपछि अस्पताल भर्ना गरिएको छ। विगतमा नियमित उपचार भइरहने थापाथलीस्थित नर्भिक इन्टरनेसनलको इमर्जेन्सी वार्डमा उनलाई राखिएको छ। महरालाई हिरासतमा राखेर अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले ७ दिनको म्याद मागेको थियो। तर, न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन मात्रै दिएका छन्।

महराको बेचैनी जिन्दगी
सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महरालाई प्रहरीले निगरानीमा राखेको महसुस भइरहेको थियो। सुन तस्करीमा छोरा राहुल पुर्पक्षका लागि थुनामा परेपछि आफू पनि पक्राउ परिने भयले उनी बेचैन थिए।

विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन प्रकरणमा जोडिएपछि राहुल पक्राउ परेका थिए। त्यसपछि भयभित महरालाई प्रहरीले निगरानीमा राखेको थियो।

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ।

चिनियाँ सुन तस्करसँग महराका बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको अनुसन्धानमा पाइएको थियो। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा असुरक्षित महसुस गरिरहेका थिए। जुनसुकै बेला पक्राउ पर्ने सुईको पाएपछि उनी भाग्ने क्रममा कपिलवस्तुबाट पक्राउ परेका हुन्।

अस्पतालमै अनुसन्धान

सुन तस्करीमा महराको संलग्नताको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। चोरी पैठारी तथा संगठित अपराधमा अनुसन्धान गर्दा महराको संलग्नता पाइएको थियो।

यसै विषयमा थप अनुसन्धान अघि बढ्ने जनाइएको छ। आरोपित महरा अस्पतालमा भर्ना भए पनि अनुसन्धानको पाटो जारी रहने छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आदेश दिएपछि अस्पताल भर्ना भएका महरामाथिको अनुसन्धान मंगलबार सुरु हुने भएको छ। महराको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै सरकारी वकिल कार्यालयमा ल्याएर बयान गर्ने प्रहरीको तयारी छ।

यदि यो प्रयास सम्भव नभएमा मेडिकल सुपरिभिजनमा अस्पतालमै बयान लिने लगायतका अनुसन्धानका कार्यहरू अघि बढ्ने गरी डाक्टरहरूसँग समन्वय भइरहेको छ। २०७६ साल असोज १२ गते संघीय संसद् सचिवालयकी तत्कालीन कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि महरा अस्पताल भर्ना भएका थिए।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महरालाई अस्पतालसँग समन्वय गरेर हिरासत कक्षमै अक्सिजनसमेत दिइएको थियो।

अनुसन्धानप्रति कांग्रेसको संशय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महरा पक्राउको कार्यलाई धन्यवाद दिए पनि प्रभावकारी अनुसन्धानमा संशय व्यक्त गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले भने, ‘सुन काण्ड हेरौं, प्रहरीले अनुसन्धान गर्दा खेरी शक्तिशाली मान्छेलाई लुकाउँदो रहेछ। भर्खर देखियो। महरालगायत शक्तिशालीको त नामै नपर्दो रहेछ।’

यसैबीच सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ १५ लाख धरौटीमा छुटेका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको हो। उनी फागुन १४ मा पक्राउ परेका थिए। नन्दबहादुर पुन उपराष्ट्रपति हुँदा गुरुङ वैदेशिक मामिला सल्लाहकार थिए।

चर्चामा

सम्बन्धित समाचार