आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरमा वैकल्पिक राजमार्ग नहुँदा पहाडी जिल्लासँगको सम्बन्ध यसरी टुट्दैछ

सुदूरमा वैकल्पिक राजमार्ग नहुँदा पहाडी जिल्लासँगको सम्बन्ध यसरी टुट्दैछ

  • शनिबार, साउन २७, २०८०
सुदूरमा वैकल्पिक राजमार्ग नहुँदा पहाडी जिल्लासँगको सम्बन्ध यसरी टुट्दैछ

कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ४ बुढीतोला लगायत क्षेत्रमा भीमदत्त राजमार्गमा पहिरो गएको छ। सोमवार रातिदेखिको वर्षाका कारण पहिरो जाँदा राजमार्ग अवरुद्ध छ। राजमार्ग सञ्चालनका लागि सडक डिभिजन कार्यालयलाई हम्मेहम्मे परेको छ। पाँच दिनसम्म पनि भीमदत्त राजमार्ग सञ्चालनमा नआएपछि पहाडी जिल्लासँगको सडक सम्पर्क टुटेको छ।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख हरि सुवेदीका अनुसार राजमार्ग सुचारु भए पनि यातायात सञ्चालनमा समस्या हुने देखिएको छ। शनिवारदेखि वर्षाको सम्भावना रहेकाले भीमदत्त राजमार्गको पहिरो हटाए पनि सहज नहुने देखिएको छ। ‘हामीले यो बाटो खोलौला, एक घण्टा चलाउला। तर भोलिबाट पानी पर्ने भनिएको छ। केही हुने होइन। धेरै गाह्रो छ। हामीले प्रयास गर्दैछौ। तर धेरै समस्या छ। पहिरो ठुलो छ,’ उनले भने।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग भीमदत्त हो। भीमदत्तको चुरे क्षेत्रमा पहिरो गएपछि पहाडी जिल्ला सडक सम्पर्क विहीन भएका छन्। पहाडी जिल्ला जोड्न धनगढी–विपीनगर–दीपायल सडक, दैजी–जोगबुढा सडक, सेती लोकमार्ग, चिसापानी–जंगलघाटा–मंगलसेन सडक निर्माणको चरणमा छन्। दैजी–जोगबुढा सडक प्रदेश सरकारको मातहतमा छ भने अरु सबै सडक संघीय सरकारले निर्माण गर्दैछ।

तर सबै सडकमा यातायात सञ्चालन गर्न सक्ने अवस्था भने छैन। सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख सुवेदीले वैकल्पिक सडकहरु भएको भए प्रदेशका नागरिकले दुःख पाउने अवस्था नहुने बताए। भीमदत्त राजमार्गको चुरे पहाडमा पहिरो गएकाले उत्तम विकल्प धनगढी–विपीनगर–दीपायल सडक हो। धनगढी–दीपायल द्रुतमार्गको कैलाली खण्डमा ट्रयाक निर्माणको काम पूरा भएको छ। तर बर्खाका कारण उक्त सडक पनि पहिरोले अवरुद्ध गरेको छ।
संघीय सरकारले बजेट विनियोजन नगरेकाले गत आर्थिक वर्षमा सडक निर्माणको पूर्ण काम गर्न सकिएको थिएन। धनगढी–दीपायल द्रुतमार्ग सडक योजना कार्यालयका प्रमुख लक्ष्मण रावलले दु्रतमार्ग बर्खाको पानीले पहिरो जाँदा बन्द भएको बताए। उनले भने, ‘पहिरोले बाटो अवरुद्ध छ। यातायात सञ्चालन गर्न सक्ने अवस्था छैन। सिपीनगरसम्म जान सक्ने अवस्था छैन।’

पहाडी जिल्ला अछाम, बाजुरा जोड्ने चिसापानी–जंगलघाट मंगलसेन सडक निर्माणको एक पुस्ता खाएको छ। सेती लोकमार्ग निर्माणको विषयले पनि एक पुस्ता खाएको छ। तर प्रदेशका पहाडी जिल्लाका नागरिकको सहजताका लागि निर्माण थालिएका सडकको काम अझै अलपत्र छन्।

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने वैकल्पिक राजमार्ग नहुँदा प्रदेशवासी हैरान भएका छन्। सुदूरपश्चिमको सात पहाडी जिल्ला भीमदत्त राजमार्गबाहेक वैकल्पिक सडक मार्ग नहुँदा प्रदेशवासीलाई हैरानी हुने गरेको छ। धनगढी–विपीनगर–दीपायल सडक, दैजी–जोगबुढा सडक, सेती लोकमार्ग, जंगलघाट मंगलसेन सडक निर्माणमा बेवास्ता गरिँदा प्रदेशवासीले सास्ती झेल्नु परेको छ। भीमदत्त राजमार्गमा पहिरो जाँदा वैकल्पिक सडक प्रयोग गर्न सकिएको छैन्।

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार