• होमपेज
  • समाज
  • बाजुरा कारागारमा एक जना कैदीमाथि कुटपिट

बाजुरा कारागारमा एक जना कैदीमाथि कुटपिट

  • आइतवार, जेष्ठ १३, २०८१
बाजुरा कारागारमा एक जना कैदीमाथि कुटपिट

बाजुरा —बाजुरा कारागारमा एक जना कैदी माथि कुटपिट भएको छ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका त्रिवेणी नगरपालिका ९ का तुलाराम थापामाथि कुटपिट भएको हो ।

जेलभित्र १०।१२ जना कैदीको समूह मिलेर आज बिहान बिना कारण आफूमाथि निर्घात कुटपिट भएको पिडित थापाले बताएका छन् । पिडित कैदी थापाले बडिमालिका खबरसँग भने,“म पहिले बाजुरा थिए फेरि डडेल्धुराबाट बाजुरा कारागार आएको ४ महिना भयो, म माथि पटकपटक धम्की आइरहन्थ्यो तर निर्घात कुटपिट भएको यो पहिलो घटना हो ।” कुटपिटपछि शरीरकाे पिठ्यु , हात, घाटीमा चाेट लागेकाे बताएका छन् ।

आफुले कुनै गल्ती नगर्दा पनि एक आपसमा समूह बनाएर कुटपिट गरेको पिडित थापाले आरोप लगाएका छन् । आफूमाथि कुटपिटको घटना सामान्य अवस्था भएपछि मात्रै कारागारको आन्तरिक प्रशासन आएर मिल्नुपर्छ भन्ने कुरा गरेको बताए ।जेलभित्र आफूमाथि कैदीबाटै निर्घात कुटपिट हुदाँसम्म पनि अहिलेसम्म उपचार पनि गर्न नपाएकोे र न्यायको लागि कारागार प्रसाशनसँग हारगुहार गर्दापनि वास्ता नगरेको आरोप पिडित कैदी थापाले लगाएका छन् । आफूमाथि कुटपिट हुँदा कारागारले वास्ता नगरेपनि न्यायका लागि कानुनी प्रक्रियामा जाने उनले बताए । आफूमाथि भएको कुटपिटको घटनापछि आफूले तत्काल उपचार गर्न पाउनुपर्ने र कुटपिट गर्नेमाथि कारवाहीको माग पिडित कैदी थापाले गरेका छन् । पछिल्लो समय जेलभित्र कामजोरलाई हेप्ने,मनोमानी गर्ने तथा अनैतिक क्रियाकलाप हुने गरेको आरोप कैदी थापाले लगाएका छन् ।

यस बिषयमा बाजुरा कारागारका निमित्त जेलर हंस बहादुर बोहराले कुटपिटको घटनामा आफूलाई कुनै जानकारी नभएको र कारागार प्रशासनमा अहिलेसम्म कुनै निवेदन पनि नआएको बताएका छन् । घटनाको बारेमा आफूले बुझेर छानविन हुने जेलर बोहराले बताए ।

यता प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले कुनै जानकारी नआएकाले घटना बुझ्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार