बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • बुढीनन्दामा घरमै पुगेर वृद्धवृद्धाको हातमै वृद्धभत्ता

बुढीनन्दामा घरमै पुगेर वृद्धवृद्धाको हातमै वृद्धभत्ता

  • मङ्लबार, कार्तिक ८, २०७९
बुढीनन्दामा घरमै पुगेर वृद्धवृद्धाको हातमै वृद्धभत्ता

बाजुरा–बुढीनन्दा नगरपालिकाले जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरि सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न थालेको छ । बैंकमै पुगेर भत्ता बुझ्नु पर्दा जेष्ठ नागरिक र अशक्तहरुलाई थप सास्ती बेहोर्नु पर्ने समस्यालाई ध्यानमा राखेर पालिका र बैंकको संयुक्त सहकार्यमा वडाबाटै वितरण गर्न सुरु गरिएको हो ।

वडा स्तरमा बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । सम्बन्धीत वडासँगको सहकार्यमा नगरपालिका र पालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकको सयुक्त सहकार्य रहने गरि सामाजिक सुरक्षा भत्ता वडामै पुगेर बाँड्न सुरु गरिएको हो ।

३–३ महिनाको अन्तरमा सबै वडाले सामाजिक सुरक्षा भत्ता वितरण शिविर नै सञ्चालन गर्ने पालिका प्रमुख जनक कुमार बोहराले बताएका छन् । ‘पार्टी घोषणा पत्रमा नै उल्लेख विषय हो, त्यो भन्दा पनि नागरिकको सहज सेवा पाउने अधिकारको ग्यारेन्टी हुने गरि सेवा घरमै पुगेर प्रवाह गर्न लागिएको होे, नगर प्रमुख बोहराले भन्नु भयो ।’

जेष्ठ नागरिकलाई सास्ती नहुने गरि र बैंकिङ्ग सेवा मार्फत नै भत्ता वितरण गर्ने राज्यको नीतिलाई संवोधन गर्ने गरि शिविर मार्फत सेवा प्रवाह गर्न बुढीनन्दाले घरमै पुगेर सेवा दिन सुरु गरेको हो । जिल्लाको पहिलो अभ्यास गर्ने पालिका भने खप्तड छेडेदह गाउँपालिका हो । खप्तड छेडेदह गाउँपालिकाले जिल्लामै पहिलो अभ्यासका रुपमा साउन महिना मै थालनी गरेको थियो ।

नगरपालिकाले सबैको भत्ता बैङ्कमा जम्मा गरी बैङ्कका कर्मचारी सँगै लिएर सेवाग्राहीबाट चेक लिने र नगद भुक्तानी दिने गरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने परिवारहरू आर्थिक र सामाजिक हिसाबले समाजका अन्य वर्ग भन्दा कमजोर छन्, सबैले सहज बैंकसम्मको पहुँच राख्दैनन्, त्यसैले बस्तीमै पुगेर भत्ता वितरण गरेको पालिकाका उपप्रमुख रामबहादुर बोहराले बताएका छन् ।

मासिक चार हजार भत्ता बुझ्नका लागि एक दिन पैदल सम्म हिँडेर जानुपर्ने, बैंकमा नेट नचल्दा हप्ता दिन सम्म बस्नुपर्ने अवस्था थियो । हिँड्न नसक्ने वृद्धवृद्धालाई घरका छोरा छोरीले बोकेर बैंक सम्म पु¥याउनुपर्ने बाध्यता थियोे तर अहिले यो समस्या हटेको छ ।

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता पाउँदा जेष्ठ नागरिकमा खुसी छाएको छ । सकेजति जनतालाई सहज हुने सेवाका लागि हामी प्रतिवद्ध हुने नीति र योजना सहीत अघि बढेका छौं, त्यसको निरन्तरता घरमै पुगेर वृद्धावृद्धा र अपाङ्गता भएका ब्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिनु पनि हो, नगर प्रमुख जनक कुमार बोहराले भन्नु भयो ।

पाालिकाको केन्द्र्र रहेको कोल्टी पुग्न अन्य वडाबाट कम्तीमा २ देखि ६ घण्टा पैदल यात्रा लाग्ने गरेको छ । पालिकाको १० वटै वडाका केन्द्रमा सडक सञ्जाल जोडिएको छ । तर ती सडक सधैंका लागि र सबैका सहज छैनन् । वृद्धावृद्धहरुले भनेको समयमा सवारी साधान पाउँदैनन्, पाएका पनि एकतर्फी मात्रै पाउँछन् । पैदल हिँड्न थप गाह्रो छ । पालिकाले गरेको निर्णय र सुरुवादी प्रति स्थानीय खुसी छन् ।

राज्यले वृद्धवृद्धालाई सुविधाका नाममा सास्ती दिएको आरोप जेष्ठ नागरिक र अशक्तबाट सुनिने गरेको थियो । भत्ता बुझ्नकै लागि वृद्धवृद्धा र अशक्त नागरिकले सकि नसकी पालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था हटाएर नागरिकको सरकारको महशुस गराउने काम गरिएकोमा जनप्रतिनिधी नै खुसी छन् ।

वृद्धवृद्धाहरू भत्ता बुझ्नकै लागि दुईदिनसम्म हिँडेर पालिकाको केन्द्र आइपुग्नु पर्ने बाध्यता थियो । पालिकाको ३, ४, ८, ९ र १० नम्बर वडा निकै टाढा छन् । आउँदा जाँदा पनि निकै दुःख हुने र भत्तामा पाएको रकम समेत आउजाउमै खर्च गर्नुपर्ने अवस्था रहेकाले वडाबाट भत्ता पाउने व्यवस्था गरिएको हो ।

पालिकाले वडा कार्यालयले पालिकासम्म हिँड्न नसक्ने सेवाग्राहीको विवरण र खाता नम्बर उपलब्ध गराएपछि बैंकले पुनर्पुष्टि गरेर सूचीसहित कर्मचारीलाई वडामा पठाउने र सम्बन्धित व्यक्तिलाई रकम बुझाएर रसिदमा दस्तखत गराउने प्रणालीको विकास गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार