शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फिचर
  • एसइई पास भएका विद्यार्थीलाई किन बनाइँदैछ ट्रोलको शिकार?

एसइई पास भएका विद्यार्थीलाई किन बनाइँदैछ ट्रोलको शिकार?

  • शुक्रबार, भदौ ५, २०७७
एसइई पास भएका विद्यार्थीलाई किन बनाइँदैछ ट्रोलको शिकार?
पूजा पराजुली वाग्ले
   पूजा पराजुली वाग्ले

एसइई नतिजा आउँदैछ रे भन्ने सुनेदेखि नानी तनावमा देखिन्थिन्। म भने नतिजाभन्दा कोरोनाबाट आफू र आफ्नो परिवारलाई जोगाउनु ठुलो कुरो हो भनेर सोच्ने। ज्यान छ र न संसार छ! जिन्दगी रह्यो भने यस्ता परीक्षाहरू आइरहन्छन्, गइरहन्छन्! ‘किन आत्तिनुपर्यो र नानी! रिजल्ट राम्रै आउँछ। फेरि यो एसइईको खासै महत्व हुँदैन, जति प्लस टु को हुन्छ,’ मैले भनेँ। उनले मेरो कुरामा खासै ध्यान दिइरहेकी थिइनन्। नतिजा प्रकाशित भएको लगभग एक घन्टा हुन थालिसकेको थियो। वेबसाइटमा भने राखिसकेको थिएन। उनको ध्यान त्यतै थियो।

‘वाउ, ४ जिपिए!’ नानी त एक्कासि चिच्याउँदै उफ्रिन पो थालिन्।

खुसी त परिवारमा कति हो कति! रिजल्टपछिको रात खुसीले निद आएन। त्यसअघि चाहिँ पाँच महिना तनावले सुत्न दिएको थिएन।

गएको चैत ५ गतेको कुरा हो यो। भोलिपल्ट बिहान सुरू हुने भनिएको एसइई परीक्षा एकाएक स्थगित भएपछि फोनका घन्टी तारनतार बज्न थाले। एकपछि अर्को आफ्ना मान्छेहरूको फोन आयो– ओहो, नानीको परीक्षा त रोकियो है!

खाई नखाई, घुँडा धसेरै मेहनत गरेकी थिइन् नानीले। जाँच नहुने खबर सुनेर मलाई पनि नमज्जा लाग्यो। एक मन त लाग्यो, यो परीक्षा सकेपछि मात्र लकडाउन भइदिएको भए हुने नि! फेरि आफूले भनेर मात्र नहुने!

हुन पनि बेला हरेक अभिभावकको सोच यही थियो। अलिकति सुरक्षा अपनाएर भए पनि परीक्षा गराएको भए हुने! जब फलाम तातेर रातो हुन्छ, त्यो बेला नै ठटाएर आकार दिइन्छ। यिनीहरूको पनि स्थिति त्यस्तै थियो।

लगभग सबै तयारी पूरा भइसकेको अवस्था थियो, तातेको फलामजस्तै। अब परीक्षा रोकिएपछि कहिले हुने हो फेरि!

सेलाइसकेको फलाम फेरि तताउनुपर्ने भयो!

नेपालमा भर्खरै दुई जनामा मात्र कोरोना पुष्टि भएको अवस्था थियो। संक्रमण दिनदिनै बढ्दै गयो भने त झन् परीक्षा हुने कहिले हो कहिले!

दुर्गम जिल्लाबाट परीक्षा दिन भनेर सदरमुकाम आई डेरा बसेका विद्यार्थीहरूको त झन् कति बिजोग! उनीहरू झिटीगुन्टा बोकेर फेरि आफ्नो घर फर्कनुपर्यो। त्यो पनि बिनाउपलब्धि।

एक हिसाबले सोच्दा त ठिकै पनि हो। स्वास्थ्यभन्दा ठूलो अरू के हुन सक्छ र! ज्यान सही सलामत रहे जिन्दगीमा यस्ता परीक्षा दिने मौका धेरै नै आउलान्! हामीले पनि यही सोचेर चित्त बुझाइयो।

दिन बित्दै जाँदा कोरोना बढ्दै गयो। लकडाउन झन् थपिँदै गयो। बिहानबाट रातिसम्म कस्सेर पढ्ने छोरी अब दिउँसो २-३ घन्टा मात्र पढ्ने भइसकेकी थिइन्। परीक्षा कहिले हुन्छ भन्ने कुनै टुंगो थिएन। बसेर समाचार हेर्ने अनि भन्ने– ममी, आज यति जना थपियो रे, बाफ रे!

बच्चाहरूको मनमा एक किसिमको आतंक मच्चाउँदै थियो कोरोनाले।

‘केही होइन यो कोरोना–सोरोना! त्यसै डराउन देको छ यो डब्लुएचओले,’ मैले नानीहरूको मनमा अलिकति डर कम होस् भन्ने हिसाबले भनेको थिएँ।

उनीहरूले उल्टै मलाई सम्झाए, ‘उसो भए त्यो स्पेन, अमेरिकामा किन त्यतिका मान्छे मरिराछन् त?’

मलाई के भन्नु भन्नु भयो। आफ्नो मनमा पनि त्रास त थियो उत्तिकै।

एक छिन सोचेजस्तो गरेर भनेँ, ‘मर्न त पहिला पनि मर्थे तर उतिबेला हल्ला हुँदैनथ्यो मात्र। अहिले त कोरोनाको ट्याग भिराइदेका छन्। अरू जुनसुकै जटिल रोगबाट मान्छे मरे पनि ती सबै रोगलाई ओझेल पारेर कोरोनालाई नै अगाडि सारेका हुन्।’

नानी मेरो कुरा मान्न तयार भइनन्। कोरोना खतरनाक हो भनेर अनेक तर्क-बितर्क गरिन्। बच्चाहरूको दिमागमा अझै बढी त्रास पसिसकेको रहेछ भन्ने मैले चाल पाएँ।

दिनहरू बित्दै गए। मान्छेहरू बाहिर कम निक्लन थालिसकेका थिए। मान्छे देख्दा मान्छे नै डराउनुपर्ने अवस्था थियो। घरमा न त कसैलाई बोलाउने न आफू कसैको घर जाने अचम्मको बानी विकास हुँदै थियो। साबुनपानीले हात त कति हो कति धोइयो। लिपिस्टिक र पर्फ्युमलाई मास्क र स्यानिटाइजरले विस्थापित गरिसक्यो। बाटोमा मास्क लगाएर हिँडेका मान्छे देख्दा पनि कोरोना नै हुन् कि जस्तो लाग्ने समय आयो। मोबाइलको रिङटोन पनि त्यस्तै सतर्क गराउने खालको थियो।

अब त नानी युट्युब हेरेर मिठामिठा परिकार बनाउन थालिसकेकी थिइन्। बीचबीचमा यति केस बढे र उति केस बढे भन्न छाडेकी थिइनन्।

उनको ध्यान शिक्षामन्त्रीबाट के कुरा आउँछ भन्नेमा पनि गइरहेकै थियो। ‘परीक्षा त लिएरै छाड्ने रे, ममी! यस्तो कोरोना बढिरहेको समयमा परीक्षा लिँदा सबैलाई कोरोना सरे के हुन्छ,’ उनी भन्थिन्, ‘बरू पहिला नै परीक्षा सकेर लकडाउन गरेको भए हुने नि!’

यता कोरोना बढ्दै गइरहेको अवस्था थियो, उता अब परीक्षा कहिलेबाट हुने कुनै टुंगो लागेको थिएन।

दिनहुँ समाचारमा अपडेट भइरहन थालेकी थिइन् नानी। घरि परीक्षा हुन्छ भनिदिने घरि हुँदैन। दिनहुँ तनाव!

जेठ महिनाको अन्तिमतिर एउटा ऐतिहासिक निर्णय गरियो। कक्षा दसको परीक्षा नहुने भयो। स्कुलको आन्तरिक मूल्यांकनका आधारमा कक्षा ११ मा प्रवेश पाउने भनेर ब्रेकिङ न्यूज आउन थाले।

समाचार हेरेपछि एकछिन त अलमल्ल परियो। उनी दस कक्षा पुगेदेखि नै जिपिए ४ को पछाडि लागेर मेहनत गरिरहेकी थिइन्। सबैले ४ जिपिए ल्याउनू है भन्दा दिमागमा कडा स्ट्रेस पक्कै थियो होला। अब परीक्षा नै नहुने भएपछि दिमागमा सकारात्मक-नकारात्मक दुवै कुरा आउन थाले। तै पनि चुपचाप रहनुको विकल्प थिएन।

परीक्षा सकेपछि यो ठाउँ घुम्न जाउँला, त्यो ठाउँ घुमौंला भन्ने सपना पनि सबै कोरोनाले लुटिसकेको थियो। पहिलेजस्तो एसइई सकेपछिको आनन्द महशुस गर्नै पाएनन्।

मान्छेहरू परीक्षा नै नदिई पास भए भनेर ट्रोल बनाउन सुरू गर्न थालिसकेका थिए। अरे बाबा परीक्षा नै नदिएको त कहाँ हो र! प्रि-सेन्डअप, सेन्डअप, प्रि-एसइई गरेर तीनवटा ठूला गेट पार गरेर आएकै हुन् नि। ती परीक्षा दिन पनि रातदिन घोटिएर पढेकै थिए। खाली अन्तिम परीक्षा मात्र त दिन नपाएका हुन्!

हुन लागेको परीक्षा रद्द गरियो त यसमा विद्यार्थीहरूको के दोष!

यसपालि एसइईमा सबै विद्यार्थीको नतिजा राम्रो आएको छ। कोभिड-१९ को त्रासमा डुबेका विद्यार्थीलाई विद्यालयको आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशन गर्दा जुन राहत भएको छ, त्यो एकदमै स्वागतयोग्य छ। समय-परिस्थिति यस्तै भइदियो त अरू के उपाय हुन्थ्यो र! तर यसलाई परीक्षा नै नदिइकन पास भयो भन्नु सरासर गलत हुन्छ। एसइईभन्दा अगाडि तीनवटा परीक्षा एक-एक महिनाको फरक पारेर दिइसकेका थिए उनीहरूले। परीक्षाको ठोस निर्णय नहुँदासम्म घोटिएकै थिए।

यो विषम् परिस्थितिमा तिनै पहिले लिइएका परीक्षालाई आधार मानेर नतिजा प्रकाशित गरियो त यसमा के गलत भयो र! सबैजसोको राम्रो जिपिए आयो भन्दैमा विद्यार्थीहरूलाई उडाउँदै, उनीहरूको बाल मस्तिष्कमा चोट पुर्याउँदै ट्रोल बनाउनु कहाँसम्म उचित होला!

चर्चामा

सम्बन्धित समाचार