मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन

असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन

  • शुक्रबार, बैशाख १४, २०८१
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन

काठमाडौँ– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चैत १५ सम्म भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको भन्दै कर्मचारीहरूसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार नेपाल निजामती कर्मचारी संगठनको क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालु आर्थिक वर्षको चैत १५ सम्ममा १९ प्रतिशत मात्रै भौतिक प्रगति हुनु दयनीय अवस्था भएको बताए । उनले आर्थिक समस्या भएको अवस्थामा वित्तीय प्रगति त्यति हुँदा चित्त बुझाउने ठाउँ भएपनि भौतिक प्रगतिमा त्यस्तो नहुने बताए । उनले आयोजनाहरूको आगामी असार १५ गतेसम्म सबै भुक्तानी गराउने तर कार्यतालिका अनुसार द्रुत गतिमा काम गर्न निर्देशन दिए ।

मन्त्री महासेठले आयोजनाहरूको एक चरणको भुक्तानी भएको भन्दै अर्को चरणको पनि चाँडै हुने विश्वास दिलाए । उनले आयोजना प्रमुख र आयोजनामा काम गर्ने कर्मचारीहरू असार मसान्तसम्म कार्यस्थल छोडेर कतै नजान पनि निर्देशन दिए । उनले कार्यतालिका अनुसार असार मसान्तसम्म परिणाम दिनेगरी काम गर्न निर्देशन दिए ।
मन्त्री महासेठले आयोजना छोडेर अनावश्यक रुपमा सरुवा गर्न वा अन्य कामको लागि काठमाडौँमा रहेका आयोजनाका प्रमुख वा कर्मचारीहरूलाई तत्काल कार्यस्थलका पठाउने सचिव तथा आयोजनाका विभागीय प्रमुखहरूलाई निर्देशन दिए । उनले आयोजनामा कार्यतालिका अनुसार काम गर्न काठमाडौँ नआउने निर्देशन गरेकाले तत्काल कुनैपनि कर्मचारीहरूलाई कतै सरुवा नगर्ने प्रतिबद्धता जनाए । उनले ९८ प्रतिशत कर्मचारी सरुवा नगर्ने उल्लेख गरे ।

मन्त्री महासेठले सरकारले निजामती कर्मचारी सम्बन्धी ऐन कर्मचारीहरूको हितमा ल्याउने बताए । उनले उक्त ऐनमा आवश्यक संशोधनको लागि संगठनले कानुनी विज्ञहरूसँग छलफल गरी प्रतिवेदन तयारी पारेर दिन आग्रह गरे । उनले तत्काल कर्मचारी ऐन ल्याउने पक्षमा सरकार रहेको बताए । उनले निजामती कर्मचारीहरूलाई प्रतिकुल हुनेगरी ऐन पास नहुने उल्लेख गरे ।

चर्चामा

सम्बन्धित समाचार