
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकाले काठमाडौं महानगरपालिकाबाट एम्बुलेन्स पाएको छ । महानगरपालिकाले स्वास्थ्य सुविधा अभावले समस्या झेलिरहेको भन्दै दुर्गम तथा मापदण्डका आधारमा गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो ।
काठमाडौं महानगरपालिकाले यसअघि २०८० मंसिरमा खप्तड छेडेदह सहित देशका दुर्गम गाउँपालिकाहरुलाई नेपाल सरकारबाट राजश्व छुटको व्यवस्था मिलाई एम्बुलेन्स दिने निर्णय गरेको थियो ।
उक्त निर्णय बमोजिम महानगरपालिकाले पहिलो चरणमा बाजुराको खप्तड छेडेदहसहित ३५ वटा दुर्गम गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको छ । दुर्गम तथा पिछडिएका ग्रामिण क्षेत्रमा स्वास्थ्य सुविधालाई थप प्रभावकारी बनाउन एम्बलेन्स वितरण गरेको छ ।
उक्त एम्बुलेन्स महानगरपालिकाले शुक्रवार एक औपचारिक गाउँपालिका अध्यक्ष दिल बहादुर रावतलाई हस्तान्तरण गरेको हो । योसँगै अब गाउँपालिकामा २ वटा एम्बुलेन्स भएका छन् । यसअघि गाउँपालिकाले २०८२ जेठ ३२ गते भारतीय दूतावासबाट समेत उपहार स्वरुप एम्बुलेन्स प्राप्त गरेको थियो ।
पालिकाले एम्बुलेन्स सञ्चालन कार्यविधि बमोजिम पालिकामा सहज, सुलभ रुपमा सेवा दिइने गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताए । पालिकाबाट जिल्ला सदरमुकाम मार्तडी, बयालपाटा अस्पताल अछाम, लगायत देशका विभिन्न सहरसम्मको भाडादर पनि कायम गरिएको उनले बताए । त्यस्तै गर्भवती तथा सुत्केरी, जेष्ठ नागरिक, विपद् तथा दुर्घटनामा परेका र विपन्न नागरिकहरुलाई पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने अध्यक्ष रावतले बताएका छन् ।
याे पनि पढ्नुहाेस् ।
खप्तड छेडेदहले निर्धारण गर्यो एम्बुलेन्स भाडादर (सूचीसहित)
