
काठमाडौँ —एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल नछाड्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुस ३ गते अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि आफूलाई अध्यक्ष छानेको बताए ।
उनले भने, ‘अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन । त्यसका निम्ति होइन, जस्तोसुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको सङ्घर्षको नेतृत्व गर्नु हो । सङ्घर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो ।’
उनले आफूले नेतृत्व छाड्छ भन्ने कुनै आशङ्का नराख्न आग्रह गरे । उनले थपे, ‘मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशङ्का मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधान, विधि, प्रक्रिया छन्, त्यसबमोजिम मैले विश्राम लिने स्थिति बन्छ ।’
पार्टी, आन्दोलन र देशलाई यस चुनौतीको सामना गर्दै अगाडि बढाउने सङ्कल्प दृढ रहेको बताए । उनले विद्या भण्डारीले सदस्यता नवीकरणको लागि आवेदन दिएकाले अहिले दिएको बताए ।
उनले भने, ‘विद्या भण्डारीजीको कुरा अहिले पनि उठिराखेको छ । उठाउनै पर्दैन, उहाँ राष्ट्रपति भएका बेला सदस्य हुनुहुन्नथ्यो । नभएको सदस्यता नवीकरण हुँदैनथ्यो । अस्ति भर्खर उहाँले आवेदन दिनुभयो । आवेदन दिएपछि कमिटीले उहाँको सदस्यता दियो। यसमा भ्रम राख्नु पर्दैन ।’


