बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आगामी वर्षभित्र बडीमालिका र खप्तड क्षेत्रमा विद्युत सेवा पुर्‍याइने

आगामी वर्षभित्र बडीमालिका र खप्तड क्षेत्रमा विद्युत सेवा पुर्‍याइने

  • बुधबार, जेष्ठ २०, २०८३
सेयर गर्नुहोस् :
आगामी वर्षभित्र बडीमालिका र खप्तड क्षेत्रमा विद्युत सेवा पुर्‍याइने
खप्तड ।

बाजुरा–सुदूरपश्चिम प्रदेश सरकारले धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बडीमालिका र खप्तड क्षेत्रमा आगामी आर्थिक वर्षभित्रै विद्युत सेवा पुर्‍याउने भएको छ । प्रदेश सरकारले सोमबार प्रदेशसभाको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा खप्तड र बडीमालिकामा विद्युत पुर्‍याइने जनाएको हो ।

प्रदेश सरकारले नेपाल विद्युत प्राधिकरणसँगको समन्वय र साझेदारीमा खप्तड र बडीमालिका क्षेत्रमा आगामी आर्थिक वर्षमा नै विद्युत सेवा पुर्‍याउने गरी आवश्यक कार्य सञ्चालन गरिने उल्लेख गरेको छ । प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका र चार जिल्लाको संगम खप्तड राष्ट्रिय निकुञ्जमा हालसम्म पनि विद्युत र सहज सञ्चार सेवा पुगेको छैन् । विद्युत नहुँदा त्यस पुग्ने पर्यटक तथा खप्तड राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरुले समस्या भोग्दै आएका छन् ।

यस्तै प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशका प्रमुख प्राकृतिक पर्यटकीय स्थलहरूलाई स्वास्थ्य पर्यटन हबको रूपमा विकास गरिने जनाएको छ । यसका लागि स्वास्थ्य पर्यटन सम्बन्धी क्षमता अभिवृद्धि, प्रवद्र्धनात्मक एवम् पूर्वाधार विकास लगायतका कार्य अगाडि बढाइने उल्लेख गरेको छ । त्यस्तै बडीमालिका क्षेत्रको एकीकृत विकास योजना बनाई लागू गर्ने र निजी क्षेत्रसँगको सहकार्यमा बडीमालिका क्षेत्रमा टेन्टमार्फत पर्यटक आकर्षण तथा पर्यटन सेवा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने घोषणा गरेको छ ।

यस्तै खप्तड क्षेत्रमा विद्युत, यातायात, पदमार्ग, होमस्टे, होटल जस्ता भौतिक पूर्वाधारको निर्माण तथा व्यवस्थापन गर्नका लागि राष्ट्रिय निकुञ्ज र स्थानीय तहसँग समन्वय र सहकार्य गरिने जनाएको छ । पर्यटकहरूको सुरक्षा, सरसफाई, मेला व्यवस्थापन आदिलाई थप व्यवस्थित बनाउन खप्तड विकास गुरुयोजनालाई अद्यावधिक गरी पर्यटन पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी, प्रदेश सरकारको नीति तथा कार्यक्रममा अपि–सुर्मा–सैपाल–खप्तड–रानीसैन–बडीमालिका–रामारोशन क्षेत्रमा उच्च पहाडी तथा हिमाली पर्यटन प्रवद्र्धन तथा पदमार्ग निर्माण गरी प्रदेशलाई आकर्षक तथा सुरक्षित पर्यटन गन्तव्यको रूपमा विकास गरिने घोषणा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार