बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • नेपाली सेनाद्धारा खप्तडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाली सेनाद्धारा खप्तडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

४ सय बढीले लिए सेवा

  • बुधबार, जेष्ठ १३, २०८३
सेयर गर्नुहोस् :
नेपाली सेनाद्धारा खप्तडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

टेक बहादुर बुढा,बाजुरा–नेपाली सेनाले धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । खप्तडमा लागेको गंगादशहरा मेलाको अवसरमा नेपाली सेनाले शिविर सञ्चालन गरेको थियो । खप्तड राष्ट्रिय निकुञ्जमा अवस्थित समरजीत गुल्म खप्तड व्यारेक बाजुराले खप्तड पुग्ने तीर्थालु तथा पर्यटकहरुलाई लेक लाग्ने तथा बिरामी हुने भन्दै मेला अवधिभर नै शिविर आयोजना गरेको सेनाले बताएको छ ।

खप्तडमा प्रत्येक वर्ष जेठ शुक्ल दशमीका दिन गंगादशहरा मेला लाग्ने गर्दछ । यो बर्ष जेठ १०, ११ र १२ गते गंगादशहरा मेला लागेको थियो । मेलाको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा साढे ४ सय बढीले सेवा लिएको समरजीत गुल्म खप्तड व्यारेक बाजुराका गुल्मपति अनुपम अर्यालले बताए । उनका अनुसार स्वास्थ्य शिविरमा २ सय २९ महिला र २ सय २७ पुरुष गरी ४ सय ५६ जना तीर्थालु तथा पर्यटकहरुको तीन दिनसम्म निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच, उपचार र औषधि वितरण गरिएको छ ।

पर्यटक तथा भक्तजनहरुको स्वास्थ्यमा हुने अनेक समस्या तथा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ गुल्मले नेपाली सेनामा कार्यरत प्राविधिक उपसेनानी डाक्टर कामना मल्ल सहितको चेकजाँच टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले बताएको छ । अक्सिजन चाइने बिरामीका लागि अक्सिजनको समेत व्यवस्थापन गरेको थियो । सेनाले मेलामा आएकालाई बस्न, खानलागयत अन्य कुनै समस्या नहोस् भनेर पालको व्यवस्था गरेको थियो । मेलामा आएका भक्तजनहरुका लागि हरेक वर्ष सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएका जनाएको छ ।

बाजुरा, बझाङ, अछाम र डोटी गरी चार जिल्लाको संगमस्थल खप्तडमा लागेको गंगादशहरा मेलामा यस वर्ष पनि सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट भक्तजन तथा पर्यटक मेला भर्न पुगेका थिए । यस्तै समरजीत गुल्म खप्तड व्यारेक बाजुराका अनुसार यस बर्षको गंगादशहरा मेलामा करिव ५ हजार ६ सय जना श्रद्धालु भक्तजनहरु उपस्थिति भएका छन् ।

समरजीत गुल्म, खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, खप्तड पर्यटन व्यवस्थापन समिति लगायतका संघ संस्थाहरुको समन्वय गरी मेला सुरक्षित तथा व्यवस्थित रुपमा सम्पन्न भएको जनाएको छ । यस बर्षको गंगादशहरा मेलामा खप्तड त्रिवेणी मन्दिरमा धार्मिक पूजाआजासँगै भलिबल प्रतियोगिता, घोडा दौड, देउडा लगायतका सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो ।

खप्तड राष्ट्रिय निकुञ्जमा गंगादशहरा मेलासँगै त्रिवेणी मन्दिर, खप्तड बाबाको आश्रम, नाग ढुङ्गा, पाटन, खापर दह, केदार ढुङ्गा, सहस्रलिङ आदि धार्मिक तथा पर्यटकीय स्थलहरु मुख्य आकर्षणका केन्द्रहरु मानिन्छन् । भू–स्वर्गका रुपमा वर्णन गरिने खप्तड एक प्रकृतिको उपहारसँगै धार्मिक आस्थाको धरोहरका रुपमा पनि परिचित छ ।

चर्चामा

सम्बन्धित समाचार