
बाजुरा– बाजुरा उद्योग वाणिज्य संघको २५औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनको अवसरमा बाजुरा जिल्लाकाे पहिलाे अनलाइन सञ्चार माध्यम बडीमालिका खबर सम्मानित भएको छ। संघले जिल्लाको आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिलाई उजागर गर्दै संघका गतिविधि, व्यवसायिक हक–हितका मुद्दा र निजी क्षेत्रका सम्भावनालाई समाचार तथा विभिन्न सामग्रीमार्फत निरन्तर प्रकाशन–प्रसारण गरी सकारात्मक भूमिका निर्वाह गरेको भन्दै बडीमालिका खबरलाई प्रशंसा–पत्र सहित सम्मान गरेकाे हाे ।
संघका अध्यक्ष देव बहादुर रोकायाले बडीमालिका खबरले जिल्लाको आर्थिक समृद्धिका सम्भावनाहरूलाई उजागर गर्न तथा निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताए । अधिवेशन समारोहका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति बाजुराका समन्वय प्रमुख तुलसीराम रोकायाले स्थानीय सञ्चार माध्यमहरूले विकास, व्यापार र उद्यमशीलताका विषयलाई प्राथमिकताका साथ उठान गरेर जिल्लाको समग्र प्रगतिमा योगदान पुर्याएको बताए। उनले तथ्यपरक र उत्तरदायी पत्रकारिताले निजी क्षेत्र र समुदायबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।
बडीमालिका खबरले र बाजुरा उद्योग वाणिज्य संघबीचको सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेकाे छ। संघले स्थानीय सञ्चार माध्यमको भूमिकाको उच्च मूल्यांकन गर्दै प्रदान गरेको उक्त सम्मानलाई पत्रकारिता क्षेत्र र निजी क्षेत्रबीचको सहकार्य तथा पारस्परिक विश्वासको प्रतीकका रूपमा हेरिएको छ।


