
बाजुरा–सुदूरपश्चिम प्रदेश सरकारले धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित बाजुराको बडीमालिका र अछामको रामारोशनलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने भएको छ । प्रदेश सरकारले सोमबार प्रदेशसभाको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा “बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र” घोषणा गरिने जनाएको हो ।
आगामी आर्थिक बर्षभित्र प्रदेश सरकारले बडीमालिका र रामारोशनलाई वन संरक्षण क्षेत्र घोषणा गरी सक्ने लक्ष्य लिएको छ । यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत बडीमालिका रामारोशन उच्च पर्वतीय पारिस्थितिकीय प्रणाली संरक्षण परियोजनाले बाजुरा र अछाममा वडा स्तरमा छलफल गर्दै त्यस सम्बन्धी काम गर्न थालिसकेको छ ।
उक्त परियोजनाले बडीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने, सो क्षेत्रको व्यवस्थापन र दिगो व्यवस्थापनका लागि समुदाय परिचालन सम्बन्धी काम गरिरहेको छ । सन् २०२४ डिसेम्बरबाट सुरु भएको सो परियोजनाले मे २०२९ सम्म बडीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने र त्यस सम्बन्धी गतिविधिहरु गरी सक्ने लक्ष्य राखेको छ । परियोजनाले बाजुराको बडीमालिका र त्रिवेणी नगरपालिका तथा अछामको रामारोशन गाउँपालिका र नजिकका अन्य पालिका क्षेत्रका सबै वडाहरुमा परियोजनाबारे जानकारी दिने, छलफल गर्ने र आर्थिक र सामाजिक वातावरणले प्रभाव पर्न नदिने गरी योजना बनाउने लगायका काम गरिरहेको जनाएको छ ।
यस्तै प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जैविक मार्गमा रहेका वन अतिक्रमण क्षेत्र खाली गराई वन क्षेत्र कायम गर्ने, वनक्षेत्रमा हुने अतिक्रमण नियन्त्रण गरी विगतमा भएका अतिक्रमण हटाउने कार्यलाई निरन्तरता उल्लेख गरेको छ ।


