शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा ४ बर्षमा ७३ जनाले गरे आत्महत्या

बाजुरामा ४ बर्षमा ७३ जनाले गरे आत्महत्या

  • बिहिबार, चैत्र ८, २०८०
बाजुरामा ४ बर्षमा ७३ जनाले गरे आत्महत्या

टेकबहादुर बुढा / बाजुरा ८ चैत– बाजुरामा पछिल्लो समयमा आत्महत्याका घट्नाहरु दिनहुँ बढ्दै गइरहेका पाईएको छ । जिल्लामा ४ बर्षको अवधिमा ७३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक बर्ष २०७७।०७८ मा ७ जना बालवालिका सहित १८ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यसमा बालबालिका सहित २० देखि ६७ बर्ष उमेरका युवा युवतीले आत्महत्या गरेको देखिन्छ ।
त्यस्तै आर्थिक बर्ष २०७८।०७९ मा ३ बालबालिका सहित ९ जना युवा युवतीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकले देखाएको छ । त्यसै गरि आर्थिक बर्ष २०७९।०८० मा अघिल्लो आर्थिक बर्ष ०७८।०७९ को भन्दा दोब्बर संख्याले आत्महत्याका घट्ना बढिरहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सो आर्थिक बर्षमा ११ बालवालिका सहित १६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
त्यस्तै यस आर्थिक बर्ष २०८०।०८१ को हालसम्म प्रहरीको तथ्यांक अनुसार जिल्लामा १६ जनाले आत्महत्या गरेका छन् । जसमा १२ जनाले झुण्डिएर, २ जनाले पानीमा हाम फालेर र २ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।
चार बर्षको तथ्यांक हेर्दा जिल्लामा आत्महत्याका घटना दिन प्रति दिन बढिरहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्लामा आत्महत्याका घटना दिन प्रति दिन बढिरहेकाले आत्महत्याका घट्नामा कमी ल्याउन मानसिक स्वास्थ्यका कार्यक्रममा बढी केन्द्रीत हुनुपर्ने प्रहरीले बताउने गरेका छन् । यस्ता विभिन्न किसिमका घटनाहरुमा कमि ल्याउन जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालयको समुदाय–प्रहरी साझेदारी मार्फत विभिन्न ठाउँमा स्थानिय व्यक्तीहरूलाई जम्मा गरी आत्महत्या तथा कानुनी व्यवस्था सम्बन्धी सचेतनामुलक कार्यक्रम पनि भइरहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आत्महत्याका घटनामा धेरैजसो बालवालिकाहरु प्रेममा असफलता, गरिबी तथा पढाइमा असफलता हुनु जस्ता कारणले आत्महत्या गरिरहेका जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका छन् ।
त्यस्तै समाज मानवीय संवेदना खुम्चिँदै गएर आर्थिक, सामाजिक विकाससँंगै समाज र व्यक्तिको दुरी बढेको छ । पहिला समाज र परिवार व्यक्ति भन्दा बढी महत्वपूर्ण हुन्थे, अहिले व्यक्ति पहिला हुन थालेको भण्डारीले बताए । व्यक्तिकृत हुँदै गएको समाजमा व्यक्ति आफू एक्लिनुले आत्महत्याका घटना निम्त्याएको उनले बताए ।
मनोरोगबाट ग्रसित व्यक्तिमा परिस्थिति समग्रमा बुझ्ने, समाधानका उपायको मनन गर्ने र उपयुक्त उपायको चयन गर्ने मनोवैज्ञानिक क्षमताको कमी हुन जान्छ । व्यक्तिमा भविष्य प्रति निराशा, अरु व्यक्तिप्रति बेसहारा तथा आफू व्यर्थ भएको नकारात्मक दृष्टि पैदा हुनजान्छ ।
आफनो जीवनको अन्त्य नै प्रतिकूल परिस्थितिको एक मात्र समाधानको रूपमा देख्ने हुँदा व्यक्ति यस्तो प्राणघातक कदम उठाउन पुग्छ । कतिपय मनोरोगमा यसका लक्षणहरूको कारण पनि बेचैन, त्रसित वा अन्योल भई आत्महत्याका घटना बढी भएको देखिन्छ ।
यस्ता व्यक्तिहरूले आफूलाई त्यक्त, एक्लो, बेसहारा, व्यर्थ र विवश भेट्छ । भविष्य प्रति निराशा हुनु र समस्याको समाधान नदेख्नु नै आत्मघाती व्यवहारका मूल कारण भएको जानकारहरु बताउछन् ।
कुनै पनि व्यक्तिमा मनोरोगका लक्षणहरूको समयमै पहिचान, उपचार र पुनःस्थापना भएमा धेरैजसो आत्महत्याको सम्भावना कम हुनसक्छ । त्यसैले आत्महत्याको व्यवस्थापनमा तगारोको रूपमा विद्यमान अज्ञानता, अन्धविश्वास, रुढी विचार र मिथ्या धारणा हटाउन सबैले मनोरोग र आत्महत्याबारे जान्ने, सुन्ने, बुझ्ने र सचेत हुने बेला आएको छ ।
स्वास्थ्य सेवा प्रदायकहरूले पनि यस समस्याको गाम्भीर्यर्तालाई मनन गरी आआफ्ना तर्फबाट आत्महत्याको खतरा सूचक लक्षणहरूको पहिचान गरी व्यवस्थापन गर्नमा एकछत्र भएर अघि बढ्न जरुरी भएको छ। व्यक्ति, परिवार, समाज, राष्ट्र र पुरा विश्व एकजुट भएर यो समस्या विरुद्ध लाग्नुपरेको देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार