बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णालीमा एमाले नेतृत्वमा आकांक्षीको भीड

कर्णालीमा एमाले नेतृत्वमा आकांक्षीको भीड

  • आइतवार, भदौ ३१, २०८०
कर्णालीमा एमाले नेतृत्वमा आकांक्षीको भीड

सुर्खेत — आगामी १०–११ असोजमा हुने कर्णाली प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि चयन भएका छन् । प्रदेश कमिटीका प्रचार प्रमुख सूर्यमणि गौतमका अनुसार, कर्णालीका १० जिल्लाबाट ५५४ र जनसंगठनहरुबाट ५० गरी ६०४ जना प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि चयनसँगै पहिलोपटक हुने प्रदेश अधिवेशनको औपचारिक प्रक्रिया अगाडि बढेको छ । यो प्रक्रिया नेतृत्व चयन गरेर टुंगिनेछ ।

तर प्रतिनिधि चयन हुनु अघिबाटै प्रदेश नेतृत्व चयनको गृहकार्य सुरु भइसकेको छ । प्रदेश अध्यक्षको राजनीतिक हैसियत पार्टीको पोलिटब्यूरो सदस्य सरह हुने र कार्यकारी पद समेत भएकाले नेताहरुको आकर्षण देखिएको छ ।

कर्णालीबाट एमालेमा गुलाबजंग शाह (सल्यान), लक्ष्मी पोखरेल (दैलेख), मोहन बानियाँ (मुगु) र भैरवसुन्दर श्रेष्ठ (जाजरकोट) पोलिटब्यूरो सदस्य छन् । यी मध्ये शाहलाई संभावित प्रदेश अध्यक्षका रुपमा प्रचार गरिएको छ ।

तत्कालीन राप्ती अञ्चलको राजनीतिमा महासचिव शंकर पोखरेल पोखरेललाई लामो समयदेखि सहयोग गर्दै आएका शाह तत्कालीन नेकपा विभाजनपछि प्रदेश अध्यक्ष बनेका थिए । शंकर पोखरेल नजिक भएकैले त्यो भूमिका उनले पाएको नेताहरु बताउँछन् ।

यद्यपि शाहले आफ्नो आकांक्षा सार्वजनिक गरेका छैनन् । ‘अहिले नै को उम्मेदवार भन्ने स्थिति छैन । केन्द्रबाटै निर्धारण हुन्छ’, उनी भन्छन् । पार्टी केन्द्रले आफूलाई नै अगाडि सार्ने मनस्थितिकै कारण शाहले यस्तो बताएको उनी निकट नेताहरु बताउँछन् ।

उनीहरुका अनुसार, गुलाबजंग शाह आफू प्रदेश अध्यक्ष बन्न नपाए सुर्खेतका ध्रुब शाहीलाई समर्थन गर्ने तयारीमा छन् । तर लुम्बिनीमा मतदानबाट नेतृत्व चयन भएकाले शाह र उनी निकट नेताहरुको चाहनाले मात्रै कर्णालीको नेतृत्व टुंगिने संभावना कम छ ।

एक नेताका अनुसार, परिस्थिति आफ्नो पक्षमा बने नेताहरु विष्णु रिजाल, निरज आचार्य, दल रावल, नगिन्द्र शाही (नेशनल) लगायत पनि प्रदेश नेतृत्वमा आउने सम्भावना छ । जनप्रतिनिधिले मुख्य पदमा जान नपाउने एमालेको नीतिका कारण अहिलेका प्रदेश अध्यक्ष विनोदकुमार शाहले चाहिँ उम्मेदवार बन्न पाउने छैनन् । उनी हाल कर्णाली प्रदेशसभा सदस्य छन् ।

प्रदेश उपाध्यक्ष लालबहादुर महतरा वा योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही र पूर्वसभामुख राजबहादुर शाहीलाई सम्भावित प्रदेश अध्यक्षका प्रतिस्पर्धीका रुपमा हेरिएको छ । राजबहादुर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट भएकाले पनि उनको आकांक्षालाई चासोका साथ हेरिएको छ ।

यद्यपि कर्णालीमा राष्ट्रिय राजनीतिजस्तो समीकरण छैन । त्यसो हुँदा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी अथवा लुम्बिनीको जस्तो उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल निकट भएर प्रतिस्पर्धा हुने सम्भावना कम रहेको नेताहरु बताउँछन् । बरु कर्णालीमा स्थायी कमिटी सदस्यद्वय यामलाल कंडेल र गोरखबहादुर बोगटी समूहबीच प्रतिस्पर्धा हुन सक्छ ।

कँडेल महासचिव शंकर पोखरेल निकट नेता हुन् । गएको जेठमा प्रदेश इन्चार्जबाट आफूलाई हटाएकोमा असन्तुष्ट कँडेल महासचिव पोखरेलसँग टाढा गइहाल्ने अवस्थामा नरहेको नेताहरु बताउँछन् । तसर्थ उनको समर्थन गुलाबजंग शाहलाई हुने देखिन्छ ।

तर कँडेलको समर्थनलाई स्वीकार्ने अवस्थामा बोगटी नरहेको एक प्रदेश कमिटी सदस्य बताउँछन् । त्यस्तो अवस्थामा बोगटीले योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाहीलाई समर्थन गर्ने सम्भावना देख्छन्, ती नेता ।

शाहीले पनि आफू प्रदेश अध्यक्षको उम्मेदवार रहेको बताउँछन् । ‘यो विषयमा मेरो कुनैपनि शीर्ष नेतृत्वसँग कुरा भएको छैन । तर उम्मेदवारी भने रहन्छ’, शाहीले भने, ‘नेतृत्वको सम्मान, कार्यकर्ताको साथ, अन्तरविरोधको समाधान सहितको चार वर्षे योजना नै बनाएर उम्मेदवारी दिन्छु ।’

तर प्रतिनिधि चयन हुँदासमेत कसैले पनि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । स्रोतका अनुसार, अधिकांशले माथिल्लो तहका नेताहरुको ‘ग्रिन सिग्नल’ कुरिरहेका छन् ।

‘प्रदेश अध्यक्षका आकांक्षी धेरै कमरेडहरु भएपनि शीर्ष नेतृत्वले अझै उपयुक्त पात्र ठम्याइसकेको अवस्था छैन । सबैलाई मिलाएर लैजाने उपयुक्त पात्रको खोजीमा हुनुहुन्छ जस्तो देखिन्छ’, एक केन्द्रीय सदस्य भन्छन् ।

आमचुनावमा एमाले कर्णालीमा नराम्रोसँग पराजित भएकाले पनि बलियो नेतृत्वको खोजी पार्टी नेतृत्वले खोजिरहेको यहाँका नेताहरुको बुझाइ छ । ०७४ को चुनावमा कर्णालीका १२ सिटमध्ये आधा ६ जना प्रतिनिधिसभा सदस्य एमालेले जितेको थियो । तर यसपटक शून्य भयो । प्रदेशसभामा पनि ४० मध्ये एमालेले २० सिट जितेको थियो । तर यसपटक १० सिटमा खुम्चिएको छ ।

यस्तो बेला छिमेकी प्रदेश लुम्बिनीको पार्टी नेतृत्व मतदानबाट टुंगिएकाले पनि कर्णालीमा आफूलाई योग्य रहेको दाबी गर्ने नेताहरुको संख्या बढेको अनुमान लगाउन सकिन्छ । केन्द्रीय सदस्य विष्णु रिजाल कार्यकर्ताबाट नेतृत्व चुन्ने अवस्था आएपनि स्वीकार्नुपर्ने बताउँछन् ।

‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सर्वस्वीकार्य छ । जबजको सिद्धान्त र महाधिवेशनबाट पारित कार्यदिशाप्रति कुनैपनि बिमति छैन’। उनी भन्छन्, ‘सबै कुरामा एकतावद्ध भइहरहँदा बाँकी कुरा तपशीलका हुन् । प्रतिस्पर्धाबाट नेता जन्मिनुपर्छ ।’ अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार