बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • मुक्तिकोट गाउँमा कुपोषण कहर, ३ सय ४३ जना कुपोषित

मुक्तिकोट गाउँमा कुपोषण कहर, ३ सय ४३ जना कुपोषित

कुपोषित खोज्दै मुक्तिकोट गाउँमा स्वास्थ्यकर्मी

  • सोमवार, चैत्र २१, २०७८
मुक्तिकोट गाउँमा कुपोषण कहर, ३ सय ४३ जना कुपोषित

बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाँउपालिका १ मुुक्तिकोटमा (डुमकोट) गाउँभरी कुपोषणको कहर रहेको पाईएको छ । गाउँपालिका अनुसार मुक्तिकोट गाउँका ३ सय ८ परिवारमा निकै कुपोषण दर रहेको स्वामिकार्तिक खापर गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत पारस बहादुर शाहीले वताएका छन् ।
बिभिन्न सञ्चारमाध्यममा समचार प्रकाशित पछि स्वास्थ्यकर्मी टोली गाउँमा पुगेर चेकजाँच गर्दा ३ सय ४३ जना कुपोषित रहेको गाउँपालिकाले जनाएको छ । जसमा ५९ जना भने कडा कुपोषणको चपेटामा रहेको पाईएको हो । असार यता ८ जना शिशु तथा वालवालिकाको मृत्यु समेत भइसकेको पालिकाले वताएको छ ।
५ बर्ष मुनिका २ सय ९३ जना बालवालिकालाई चेकजाँच गर्दा १६ जना कडा कुपोषित, ४५ जना मध्यम कुपोषित रहेका छन् । त्यस्तै २ सय ४३ जना प्रजनन आमालाई चेक गर्दा २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पालिकाका सुचना अधिकारी कुबेर बहादुर शाहिले वताएका छन् ।
त्यस्तै १० देखी १४ बर्ष सम्मका किशोर र किशोरीलाई जाँच गर्दा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् । १५ बर्ष देखी १९ बर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाईएको हो ।
स्वास्थ्य कार्यलय बाजुरा, अस्पताल बाजुरा र स्वामीकार्तिक खापर गाउँपालिकाले संयुक्त रुपमा स्वास्थ्यकर्मीको टोली मुक्तिकोट गाउँमा पुगेको थियो । गाउँमा कुपोषणको दर निकै रहेको पाईएपछि मुक्तिकोटमा बाह्य पोषण उपचार केन्द्र स्थापना गरेर कुपोषणको उपचार शुरु गरिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
कुपोषितलाई बालभिटा, पोषिलो लिटो दिन शुरु गरिएको छ । केहीलाई थप उपचारका लागि अस्पताल बाजुरामा रहेको पोषण पुर्नस्थापना केन्द्रमा पठाइसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर कैलाले वताए ।
मुक्तिकोट गाउँ पुगेका स्वास्थ्य कार्यलय बाजुरा प्रमुख दयाकृष्ण पन्तले भने चरम गरिबि, भिरालो जमिन, खेतीयोग्य जमिन को अभाव, बाढि पहिरो, खाधान्न को कमिले चरण कुपोषण भएको वताए । त्यस्तै बेरोजगारी, खानेपानी सरसफाइ को कमि, स्वास्थ्य सेवा को कम उपलब्धता, जनचेतना को कमि, असिक्षा, कम उमेरमा बिबाह रहेको पन्तले वताए ।
मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजन को साधन को प्रयोग न्यून रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । समग्र अवस्था सुधारगर्न सबै सरोकारवालाहरुले बहुक्षेत्रीय यथार्थपरक योजना बनाई कार्यान्वयन गर्नु पर्ने अवस्था रहेको पन्तले थपे ।
बाजुरको स्वामिकार्तिक खापर गाँउपालिका देश र जिल्लाकै सबै भन्दा बढि गरिब स्थानिय तह हो । गरिब घर परिवार पहिचान बोर्डले २०७२ मा निकालेको प्रतिबेदनमा गाँउपालिकामा ७५ प्रतिशत गरिबिको रेखामुुनि रहेको जनाएको छ । वोर्डले गरेको सर्वेक्षणले स्वामिकार्तिक खापर गाँउपालिकामा २१ सय ८५ परिवार मध्ये १८ सय ३८ परिवार चरम गरिबिको रेखामुनि रहेको देखाएको थियो । मुक्तिकोट गाँउ अहिले चरम खाद्य संकट मात्र नभई अभाब र गरिबिले तड्पिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार