शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • चिनी र दूध विनाको कफी स्वास्थ्यका लागि उपयुक्त

चिनी र दूध विनाको कफी स्वास्थ्यका लागि उपयुक्त

  • बिहिबार, पुस २२, २०७८
चिनी र दूध विनाको कफी स्वास्थ्यका लागि उपयुक्त

काठमाडौँ– विज्ञानले एउटा नयाँ रहस्य पत्ता लगाएको छ । यदि तपाईंलाई कालो कफी धेरै मन पर्छ भने तपाइलाई कडा खालको चकलेट पनि मन पर्छ । यो तपाईंका लागि खुसीको करा पनि हो , किनकि तपाईं आफ्नो स्वास्थ्यप्रति ख्याल राख्ने गर्नुहुन्छ । नर्थ वेस्टर्न युनिभर्सिटी ,फेनबर्ग स्कुल अफ मेडिसिनका एसोसीएट प्रोफेसर म्यारलीन कारनियल्सको रिसर्चले यो पत्ता लगाएको हो ।

उनले यो विषयलाई गम्भीर बहसको विषय बनाउनुपर्नेमा पनि जोड दिएकी छिन् ।

उनकै अध्ययन अनुसार दैनिक तीन देखि पाँच कप कफीको सेवनले थुप्रै रोगको जोखिम कम गराउँछ । यसरी कफीले जोखिम कम गराउने रोगमा पार्किन्सन्स, टाइप टु मधुमेह र मुटुको रोग छन् । तर, यसका लागि दूध र चिनी लगायत पदार्थको मिश्रण भने हुनु हुँदैन ।

कारनीयल्सका अनुसार यसरी कफी पिउँदा चिनी र दूध नमिसाउँदा यसले धेरै फाइदा दिन्छ । तर, मिसाएर सेवन गरे यसले दिने लाभमा कत्ति प्रतिशतले कमी ल्याउने छ भन्ने चाहिँ अध्ययनकै विषय हुन सक्छ । उनले क्यालोरी फ्री भएको तथा धेरै क्यालोरी भएको कफीको बीचमा भिन्नता हुने बताएकी छिन् ।

‘कफी सेवनले स्वास्थ्यमा लाभ भएको यथेष्ट प्रमाण हामीसँग छ । तर, कफी पिउने भन्दैमा यसलाई दूधसँग मिसाएर पिउँदा या चीनीसँग मिसाएर पिउँदा यसबाट हुनुपर्ने लाभ नहुन सक्छ , ’कोरनीयल्सले भनेकी छिन् ।

कुनै व्यक्ति एकै दिन बारम्बार कफी पिउन मन पराउँछन् । कसैलाई यसरी पिउन मन लाग्दैन । यो भिन्नताका कारण पत्ता लगाउन कारनीयल्स र उनको टोलीले एक अध्ययन गरेको थियो ।

‘यदि व्यक्तिको अन्तर दहन संयन्त्रले कफीनलाई चाँडो खपत गर्ने जिन छ भने उसलाई एकदम चाँडो अर्को कप कफी पिउन मन लाग्छ,’ उनले भनेकी छिन् । कारनीयल्सकै विचारमा यसै कारण कोही कफी सेवनपछि सामान्य हुन्छन् भने कसैको शरीरमा यसले धेरै असर गरिसकेको हुन्छ । कफीकै कारण चिन्तित हुने पनि छन् ।

नेचर साइन्टीफीक रिपोर्टमा कारनीयल्सले प्रकाशित गरेको रिपोर्टअनुसार भिन्न खाले कफी पिउनेहरूलाई अध्ययन गरिएको हो । ब्ल्याक कफीको सेवन कर्तालाई दूध तथा क्रिमसहितको सेवन कर्तासँग तुलना गरिएको छ ।

‘हामीले जेनेटिक भेरिअन्ट अनुसार कफीले कसरी असर गर्छ भनेर हेर्दा छिटो मेटाबोलीजम हुनेहरूले कालो कफीलाई प्राथमिकता दिएका छन्,’ कारनीयल्सले भनेकी छिन्,‘ यसै प्रकृतिका मानिसहरू चीनी राखेको भन्दा चीनी नराखेको चिया मन पराउँछन् । साथै उनीहरू गुलियो धेरै भएको भन्दा तीतो र कडा खालको चकलेट मन पराउँछन् ।’

यसका बारेमा अन्य थुप्रै अध्ययन हुन बाँकी नै छन् । कालो कफीले गर्ने लाभका बारे पनि अध्ययन भइरहेको छ । हाललाई भने उनले पत्ता लगाएको तथ्य भने महत्त्वपूर्ण छ । यसरी कडा र तीतो स्वादबाट आफ्नो मानसिक अवस्थालाई सक्रिय गराउनेहरूलाई कफीले भिन्न खालको आनन्द दिने गर्छ । यो कुनै पनि व्यक्तिको मानसिक अवस्थासँग पनि सम्बन्धित हुन्छ ।

‘हामीले पत्ता लगाएको तथ्य अनुसार मानिसको तितो कफीसँगको आकर्षण उनीहरूको मानसिक सन्तुलनसँग पनि सम्बन्धित हुन्छ,’ कारनीयल्सले भनेकी छिन्,‘ उनीहरू केही कुरा थाहा पाउन र बुझ्न तीतो स्वादसँग सहज महसुस गर्छन् । यसरी कडा कफी पिउनेले शरीरलाई रोमाञ्चित गराएको र केही जान्ने चाहना बढाएको पाइएको छ ।’

दूध सहितको चकलेटभन्दा गाढा चकलेटको सवालमा पनि यसै तथ्य फेला परेको उनले बताएकी छिन् । ‘जब उनीहरू कफीका बारे सोच्न थाल्छन्, उनीहरू तितो कुराको बारे सोच्न थाल्छन् । यस कारण उनीहरू कडा चकलेटमा पनि रमाउन सक्छन्,’ उनी बताउँछिन् ।

उनकै अनुसार ती व्यक्तिहरू कफीको स्वादसँग एकदमै धेरै संवेदनशील र चाँडो थाहा पाउने हुन्छन् । यस्ता अन्य तीतो स्वाद भएका चकलेटजन्य पदार्थले उनीहरूको शरीरभित्रको तन्तुलाई पनि त्यसै गरी जागरुप गराउँछ ।

कडा चकलेटमा कफीको केही मात्रा मिसाइएको हुन्छ । साथमा थीयोब्रोमाइन भन्ने एउटा मिश्रणको मात्रा धेरै हुन्छ । यो मिश्रण धेरै हकमा कफीकै प्रकृतिको हुन्छ । यो स्नायु प्रणालीसँग सम्बन्धित हुन्छ । यसको सामान्य मात्राले स्वास्थ्यलाई फाइदा गर्न सक्छ । तर, यसको डोज धेरै भए यो प्रत्युत्पादक पनि बन्न सक्छ । डोज धेरै भएमा मुटुको धड्कन बढाउने छ र हामीलाई बरबाद भएजस्तो आभास हुन थाल्नेछ ।

यसका क्यालोरीको मात्रा पनि धेरै हुन्छ । यस कारण धेरै खाने गर्दा कम्मरको समस्या पनि उत्पन्न हुन सक्छ । अध्ययनअनुसार दैनिक थोरै मात्रामा यस्तो कडा चकलेट खाने गर्दा मुटु रोगको जोखिम घटाउने काम गर्छ भने मधुमेहको जोखिमलाई पनि यसले घटाउँछ ।

कोकामा धेरै मात्रामा भ्लेभेनल्स, इपीकाटेचीन, काटेचीन र एन्टीजोयड्यानट हुन्छ । यसले रक्त सञ्चारलाई राम्रो गराउँछ । यसै कारण मुटु रोग र मधुमेहको जोखिम घटाएको अनुमान गरिएको हो । यसको पूर्ण अध्ययन हुन भने बाँकी नै छ ।

भ्लेभेनल्सको मिश्रण भएका अन्य खाद्य तथा पेय पदार्थमा चिया, वाइन, प्याज, बेरिज फलफूल र भटमास छन् ।

कारनीयल्सले मान्छेको जिन र तीतो पदार्थ प्रतिको उसको रुचि मात्र होइन , यसका अन्य थुप्रै फाइदा र बेफाइदाकाबारे अध्ययन हुँदै जाने बताएकी छिन् । यो अध्ययनले अहिले कफीमा रमाइ रहेकाहरूका लागि राम्रो स्वास्थ्यका लागि अन्य बाटो पहिल्याउन पनि सहज हुनेछ ।

कफी बिन्सलाई पकाएर पिउने कफी तयार पारिन्छ । १५ औ शताब्दीबाट सेवन गर्न थालिएको भनौँ या मानिसले पत्ता लगाएको यो पेय पदार्थ अहिले भिन्न स्वरूपमा फेला पर्न थालेको छ । केही वर्ष अगाडिसम्म यसको तीतोपन कम गर्न चिनीको प्रयोग गर्ने र अन्य दूधको मात्रा मिसाउने चलन भए पनि पछिल्लो समय अन्य केही पनि नमिसाएर यसको सेवन गर्ने प्रचलन बढेको छ ।

अन्य खाद्य पदार्थ, चकलेट, केक र थुप्रै बेकरी पदार्थमा यसको प्रयोग बढ्दै आएको छ ।

सबै भन्दा आश्चर्य त के छ भने संसारमा धनी र समृद्ध देशमा कफी संस्कारको विकास भए पनि यसको प्रादुर्भाव अफ्रिकामा भएको मानिन्छ । १५ औँ शताब्दीमा नै इथोपियामा कफीको चलन थियो । तर, यसको व्यवस्थित खेती हुने गरेको थिएन । यसपछि बिस्तारै सोमालियाका सिमानामा यसको चलन बढेको हो ।

१६ औँ शताब्दीसम्ममा मध्यपूर्व र उत्तर अफ्रिका हुँदै युरोपमा पनि यसको प्रभाव परेको थियो ।

कफीको दुई प्रचलित स्वरूप अरबीका तथा रोबुस्टा हो । अहिले संसारमा ७० देशमा कफी खेती गरिन्छ । अमेरिका र दक्षिण एसियाको मध्य क्षेत्रमा यसको उत्पादन बढी हुने गर्छ । संसारमा सबैभन्दा धेरै कफीको गेडा उत्पादन गर्ने देश ब्राजिल हो । त्यहाँ संसारको कुल ३५ प्रतिशत उत्पादन हुन्छ ।

कफीको अर्थतन्त्र भने गजबकै छ । कफी संस्कार धनाढ्यमा बढी भए पनि हालसम्मको तथ्याङ्क अनुसार कफी उत्पादकको आर्थिक अवस्थामा धेरै सुधार हुन सकेको छैन ।

इतिहासको एउटा कालखण्डमा सुफी गाउनेहरूले रमाइलोका लागि अत्यधिक कफी सेवन गर्थे । १६ औँ शताब्दीमा मध्यपूर्वमा व्यापक प्रवेश पाएको यो पेय पदार्थ भारतमा आइपुग्दा समेत सुफी संस्कृतिले नै काम गरेको थियो ।

यस अघि पनि कफीका लाभका विषयमा थुप्रै चर्चा भएका थिए । शरीरलाई स्फूर्ति राख्न, मोटोपनबाट रोक्न, क्यान्सरको जोखिम घटाउन लगायत थुप्रै कारणले यसलाई लाभदायक मानिएको थियो ।

यसका केही बेफाइदा पनि छन् । कफी बिग्रेको छ भने यसको रियाक्सन भएर स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने सम्भावना पनि रहेको छ । कफीको ओभर डोजले पनि मानिसको ज्याने जान सक्नेसमेत अध्ययनले देखाएको छ । दैनिक चार कपभन्दा बढी कफीले हामीलाई नोक्सान गर्ने सम्भावना प्रबल रहन्छ । गर्भवती महिलाले दैनिक एक कपभन्दा बढी कफी कहिले पनि पिउनु हुँदैन । कोलेस्ट्रोल भएकाहरूले बिन कफी पिउन उपयुक्त मानिँदैन । बच्चाहरूले कफी पिएमा पिसाबसम्बन्धी समस्या आउन सक्नेछ ।

कफीका फाइदा र बेफाइदा दुवै देखिए पनि चिनी र दूध नमिसाएको कालो कफी स्वास्थ्यका लागि लाभदायक भएको पाइएको छ ।–एजेन्सीहरूको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार