शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अर्थ
  • राजस्वको लक्ष्य भेट्न कैलाली भन्सार असफल

राजस्वको लक्ष्य भेट्न कैलाली भन्सार असफल

  • बुधबार, साउन १५, २०७६
राजस्वको लक्ष्य भेट्न कैलाली भन्सार असफल

धनगढी : कैलाली भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ। आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा झण्डै ८ प्रतिशत बढी राजस्व संकलन गरेको कैलाली भन्सार कार्यालयले आव २०७५/०७६ मा लक्ष्य पूरा गर्न सकेन।

यो भन्सारबाट गत आवमा लक्ष्यभन्दा दुई करोड ४१ लाख कम राजस्व संकलन भएको छ। पाँच अर्ब १९ करोड ७५ लाख राजस्व संकलनको लक्ष्य थियो। लक्ष्यको ९९ प्रतिशतभन्दा बढी राजस्व संकलन भएकाले राजस्व संकलनमा धेरै कमजोर नदेखिएको भन्सार अधिकृत गोपीकृष्ण उपे्रतीको दाबी छ।

जिल्ला भन्सार मातहत रहेका दुईवटा छोटी भन्सार कार्यालय छुट्टै भन्सारको रूपमा स्थापना हुनु तथा केही समययता तरकारी आयात प्रभावित हुनुले पनि राजस्व संकलनमा असर परेकोे भन्सारको दाबी गरेको छ। सत्ती र पृथ्वीपुर छोटी भन्सार कार्यालय गत वर्षदेखि जिल्ला भन्सार मातहत नरहेको उनले बताए। उप्रेतीका अनुसार यी दुई कार्यालयबाट वार्षिक पाँच करोड जति राजस्व उठ्ने गरेको थियो। चालु आवका लागि कैलाली भन्सारले ६ अर्ब ७० करोड राजस्व संकलनको लक्ष्य पाएको छ।

कैलाली भन्सार कार्यालयबाट सबैभन्दा पेट्रोलियम पदार्थ आयात भइरहेको त्यसपछि बिस्कुट, दालमोटलगायत खाद्यान्न आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका सूचना अधिकारी उप्रेतीले आव ०७५/०७६ मा पेट्रोलियम पदार्थ आयातमा कुल राजस्व संकलनको ४७ प्रतिशत उठेको जानकारी दिए। उनले चालु आवका लागि ६ अर्ब ७० करोड लक्ष्य रहेको समेत बताए।

आयात भएका वस्तुबाट पाँच अर्ब १९ करोडभन्दा बढी राजस्व संकलन हुँदा भारत निर्यात भएका सामानको कुल मूल्य ७८ करोड ६३ लाख रुपैयाँ भएको भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीले बताए। यहाँबाट कत्था, कच, टर्पेनटाइन र रोजिन मात्र निकासी हुने गरेको उनले जानकारी दिए। सुदूरपश्चिममा ठूला उद्योगधन्दा स्थापना हुन नसक्दा निर्यात नाम मात्रै देखिएको उनको भनाइ छ।

भारतबाट सबैभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ। गत वर्ष संकलित कुल राजस्वको ४७ प्रतिशत पेट्रोलियम पदार्थबाट भएको भन्सार कार्यालयले जनाएको छ। यस्तै ७ प्रतिशत राजस्व बिस्कुट आयातबाट संकलन भएको भन्सार अधिकृत उप्रेतीले जानकारी दिए।

गत आवको जेठ मसान्तसम्म मात्रै त्रिनगर भन्सार नाका भएर भारतबाट एक अर्ब २३ करोड ६९ लाख मूल्यको २४ हजार एक सय ३८ मेट्रिक टन चामल आयात भएको छ। ६४ करोड ६२ लाख मूल्यको २१ हजार नौ सय ६१ मेट्रिक टन गहुँ र ११ हजार एक सय नौ मेट्रिक टन मकै आयात भएको भन्सार कार्यालयको तथ्यांक छ। दालमोठ, भुजिया, सुर्ती, टायल, पेपरलगायत सामान भारतबाट बढी आउने गरेको भन्सार अधिकृत उप्रेतीले बताए। निर्यातजन्य उद्योग नहुँदा यस्तो अवस्था आएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार