• होमपेज
  • खेलकुद
  • आजदेखि सुरु हुँदै विश्वकप क्रिकेट : हेर्नुहोस् खेल तालिका

आजदेखि सुरु हुँदै विश्वकप क्रिकेट : हेर्नुहोस् खेल तालिका

  • बिहिबार, जेष्ठ १६, २०७६
आजदेखि सुरु हुँदै विश्वकप क्रिकेट : हेर्नुहोस् खेल तालिका

एजेन्सी-लन्डन

विश्वकप क्रिकेटको १२औं संस्करण बिहीबारदेखि सुरु हुँदैछ। प्रतियोगिता इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्दैछन्। इङ्ल्यान्डमा विश्वकप हुन लागेको यो पाँचौं पटक हो। यसअघि सन् १९७५ मा पहिलो, सन् १९७९ मा दोस्रो र सन् १९८३ मा तेस्रो विश्वकप इङ्ल्यान्डमै भएको थियो। सन् १९९९ मा सातौं संस्करण पनि इङ्ल्यान्ड, वेल्स, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्सले संयुक्त रूपमा आयोजना गरेका थिए।

यसपटक विश्वकप मे ३० तारिखमा सुरु भएर जुलाई १४ तारिखसम्म चल्नेछ। विश्वकप अवधिभरमा कुल ४८ खेल हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ। उद्घाटन खेल लन्डनस्थित दी ओभल क्रिकेट मैदानमा खेलिनेछ। विश्वकपका अधिकांश खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। दुई खेल परेको दिन दोस्रो खेल नेपाली सयमअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने दिउँसो ३:१५ बजे नै सुरु हुनेछ। १२औं विश्वकपमा १० वटा टोली सहभागी छन्। सहभागी सबै टोलीलाई एउटै समूहमा राखिएको छ। प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक टोलीले एकअर्कासँग एक÷एक खेल खेल्नु पर्नेछ। लिग चरणको समाप्तिपछि अंक तालिकामा सबैभन्दा रहने चारवटा टोली सेमिफाइनल चरणमा पुग्नेछन्। फाइनल खेल जुलाई १४ तारिखमा लन्डनस्थित लर्डस मैदानमा खेलिनेछ।

अस्ट्रेलिया विश्वकपको साबिक विजेता टोली हो। सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रूपमा आयोजित ११औं विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो। अस्ट्रेलिया सबैभन्दा बढी विश्वकप जित्ने राष्ट्र पनि हो। हालसम्म अस्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जितिसकेको छ।

यसपटक विश्वकपको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ। आईसीसीले यो विश्वकपमा नगद पुरस्कार लागि कुल एक करोड अमेरिकी डलर छुट्ट्याएको छ। विजेता टोलीले ४० लाख अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ। उपविजेताले २० लाख डलर प्राप्त गर्नेछ भने सेमिफाइनलमा पराजित हुने दुई टोलीले १६÷१६ लाख डलर पाउनेछन्। यसका अतिरिक्त लिग चरणमा प्रत्येक खेल जितेबापत सहभागी टोलीले छुट्टै ४० हजार डलर पुरस्कार प्राप्त गर्नेछन्। सन् २०१५ को विश्वकपमा भने विजेतालाई ३७ लाख ५० हजार र उपविजेतालाई १७ लाख ५० हजार डलर पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिज, श्रीलंका, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, भारत, इङ्ल्यान्ड, बंगलादेश, अस्ट्रेलिया र अफगानिस्तानको सहभागिता रहेको छ। टेस्ट मान्यता प्राप्त दुई टोली जिम्बाबे र आयरल्यान्ड भने विश्वकपमा छनोट हुन सकेनन्। त्यसैले सबै टेस्ट मान्यता प्राप्त राष्ट्रले सहभागिता जनाउन नपाएको यो पहिलो विश्वकप पनि बनेको छ। सन् २०१७ को जुनमा अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता पाएपछि टेस्ट टोलीको संख्या १२ पुगेको छ।

यसैगरी टोलीको संख्या घटाउँदा एसोसिएट्स सदस्य राष्ट्रहरू पनि अन्यायमा परे। यसपटक कुनै पनि एसोसिएट्स राष्ट्रले विश्वकप खेल्ने अवसर पाएनन्। विश्वकपको अघिल्लो संस्करणमा भने १४ वटा टोलीलाई समावेश गरिएको थियो। त्यतिबेला टेस्ट मान्यता प्राप्त १० राष्ट्रका अतिरिक्त आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड र संयुक्त अरब इमिरेट्सले पनि विश्वकप खेल्ने अवसर पाएका थिए। एसोसिएट्स राष्ट्रहरूमाथि अन्याय भएको भनेर यो विश्वकपको चर्को आलोचना भएको थियो।

विश्वकपका खेलहरू विभिन्न ११ वटा रंगशालामा खेलाइँदै छ। विश्वकप खेलाइने रंगशालाहरू दी ओभल (लन्डन), लर्डस (लन्डन), ओल्ड ट्राफोर्ड (म्यानचेस्टर), एजबास्टन (बर्मिङ्घम), ट्रेन्ट ब्रिज (नटिङ्घम), सोफिया गार्डेन्स (कार्डिफ), काउन्टी ग्राउन्ड (ब्रिस्टल), रोज बल (साउथह्याम्पटन), काउन्टी ग्राउन्ड (टाउनटन), हेडिङ्ली (लिड्स) र रिभरसाइड ग्राउन्ड (चेस्टर ली स्ट्रिट) हुन्।

हालसम्म विश्वकपको ११ वटा संस्करण सम्पन्न भइसकेको छ। तर, यस अवधिमा सातवटा टोलीले मात्र उपाधि जित्न सकेका छन्। अस्ट्रेलियाले हालसम्म पाँचपटक विश्वकपको उपाधि जितिसकेको छ। अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा विश्वकपको उपाधि जितेको थियो। यसैगरी वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि जितेको थियो। सन् १९८३ र सन् २०११ मा भारत च्याम्पियन बनेको थियो। सन् १९९२ मा पाकिस्तान र सन् १९९६ मा श्रीलंकाले विश्वकप उचालेका थिए।

इङ्ल्यान्डलाई क्रिकेटको जननीका रूपमा लिइन्छ। तर, इङ्ल्यान्डले हालसम्म विश्वकपको उपाधि जित्न सकेको छैन। यसका अतिरिक्त न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पनि हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन्। सन् २०१५ मा एकपटक विश्वकपको फाइनलमा पुगेको न्युजिल्यान्डलाई अस्ट्रेलियाले उपाधिबाट विमुख गराएको थियो।

चर्चामा

सम्बन्धित समाचार