
बाजुरा– बडीमालिका नगरपालिकाले ११ औं नगर दिवसको अवसरमा शिक्षक धनबहादुर रावललाई शिक्षा, सामाजिक सेवा तथा संस्कृतिको प्रवर्द्धन क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान प्रदान गरेको छ। नगरले विगतमा निरन्तर समुदायमुखी सेवामा समर्पित व्यक्तित्वलाई सम्मानित गर्ने परम्परा अनुरूप यस वर्ष रावललाई छानेको हो।
रावल २०६३ सालदेखि शिक्षण क्षेत्रमा आबद्ध हुँदै आएकोमा उनले विद्यालय सुधार, जनचेतना अभिवृद्धि तथा विद्यार्थी हितका लागि निरन्तर काम गर्दै आएका छन्। कोरोना महामारीका कठिन समयमा समेत उनले गाउँ–गाउँमा पुगेर मास्क वितरण, सचेतना अभियान तथा बालबालिकालाई घरमै बसेर अध्ययनमा प्रोत्साहन गर्ने अभियान सञ्चालन गरेका थिए।
हाल रावल चौयाकोट माध्यमिक विद्यालयमा निमावि राहत शिक्षकका रूपमा कार्यरत छन्। उनले ‘पढ्दै–कमाउँदै’, ‘झिकाउने–टिकाउने–सिकाउने–विकास गर्ने’ जस्ता कार्यक्रममार्फत विद्यालयमा निरन्तर सुधार ल्याउँदै आएका छन्। त्यसका साथै उनले विद्यार्थीलाई न्यानो लुगादेखि स्टेशनरी, खेलकुद सामग्रीसम्म जुटाउने कम समेत गर्दै आएका छन्। वृद्धवृद्धालाई समेत सहयोग वितरण गर्दै उनी सामाजिक सेवामा समेत उत्तिकै सक्रिय रहेका देखिन्छन ।
शिक्षक संगठनकाे समेत अगुवाइ गर्दै आएका रावल बाल्यकालदेखि विभिन्न स्तरका कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका छन्। उनी नृत्य निर्देशन तथा सांस्कृतिक कलामा समेत सक्रिय व्यक्तित्व मानिन्छन्। रावल शिक्षण क्षेत्रमा मात्र होइन, सामाजिक सेवा र सांस्कृतिक संरक्षणमा समेत अगाडि रहने शिक्षकको उदाहरण हुन्।
