
बाजुरा– सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको ३१ औँ स्थापना दिवसका अवसरमा बाजुरामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ बाजुराकी अध्यक्ष सीता बराल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि डिभिजन वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द डीसी रहेका थिए। स्थापना दिवसको अवसरमा बालमन्दिर आधारभूत विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुरेश चन्दले सामुदायिक वनले वन संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न वृक्षारोपण र वन संरक्षणलाई थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
अध्यक्ष सीता बराल थापाले सामुदायिक वन उपभोक्ता समूहहरूको अधिकार संरक्षण, वन व्यवस्थापन तथा वातावरण संरक्षणमा महासंघले निरन्तर भूमिका निर्वाह गर्दै आएको बताइन्। उनले स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा पनि वातावरण संरक्षणसँग जोडेर मनाउन वृक्षारोपण कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय सचिवालयले जारी गरेको परिपत्रअनुसार देशभर ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइएकाे सामुदायिक वन उपभोक्ता महासंघका बन अधिकृत चेतराज जैशीले जानकारी दिएका छन । “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने नारासहित स्थापना दिवस मनाइएको महासंघले जनाएको छ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, वनकर्मी, शिक्षक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।


