
बाजुरा– बडीमालिका नगरपालिकामा स्थानीय शिक्षा योजना निर्माण, स्थानीय पाठ्यक्रम परिमार्जन तथा शैक्षिक प्राश्व चित्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न गोष्ठीमा नगरभित्रको शिक्षाको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय आवश्यकता, संस्कृति, भाषा, भूगोल तथा सामाजिक परिवेशलाई समेटेर पाठ्यक्रम परिमार्जन गर्ने विषयमा सहभागीहरूले सुझाव दिएका थिए।
बडीमालिका नगरपालिकाको आयोजनामा तथा प्लान इन्टरनेशनल र पिसविन नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा आयोजित गोष्ठीमा स्थानीय तहको शिक्षा प्रणालीलाई समयसापेक्ष, गुणस्तरीय र व्यवहारमुखी बनाउन आवश्यक रणनीतिबारे छलफल गरिएको थियो। कार्यक्रमका अध्यक्ष तथा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले स्थानीय सरकारको मुख्य दायित्वमध्ये शिक्षा क्षेत्रको विकास पनि रहेको बताउँदै स्थानीय आवश्यकता, भाषा, संस्कृति र भूगोललाई समेटेर तयार गरिने शिक्षा योजनाले नगरको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रमका सहजकर्ता तथा काठमाडौँ विश्वविद्यालयका डा. प्रकाश पौडेलले संघीय शासन प्रणालीअनुसार स्थानीय तहले आफ्नै शिक्षा योजना निर्माण गर्नु समयको आवश्यकता भएको बताए। उनले स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो समाज, संस्कृति, इतिहास र सम्भावनासँग जोड्ने भएकाले यसलाई व्यवहारिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। शिक्षा योजनाको आधारमा विद्यालय व्यवस्थापन, शिक्षक क्षमता विकास र सिकाइ उपलब्धिमा समेत सुधार आउने उनको भनाइ थियो।
त्यस्तै, अनुसन्धान विज्ञ रमेश दुलालले शिक्षा क्षेत्रको वास्तविक अवस्था पहिचान गरेर तथ्यमा आधारित योजना निर्माण गर्नुपर्ने बताए। उनले शैक्षिक याेजना निर्माणले विद्यार्थीको सिकाइ अवस्था, विद्यालयको उपलब्धि तथा सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न सहयोग पुग्ने उल्लेख गरे। दिगो शैक्षिक विकासका लागि अनुसन्धानमा आधारित योजना निर्माण अपरिहार्य रहेको उनको धारणा थियो।
कार्यशालामा नगरभित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षा क्षेत्रका सरोकारवाला, जनप्रतिनिधि तथा सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय पाठ्यक्रम परिमार्जन, शिक्षा योजना निर्माण र शैक्षिक उपलब्धि अभिवृद्धिका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रमले बडीमालिका नगरपालिकाको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र स्थानीय आवश्यकता अनुरूप विकास गर्ने आधार तयार गरेको सहभागीहरूले बताएका छन्। बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काकाे अध्यक्षतामा सचालन भएकाे कार्यक्रमकाे स्वागत नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले गरेका थिए भने कार्यक्रमकाे संचालन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका राम बहादुर कटुवालले गरेका थिए ।


