
बाजुरा— स्थानीय स्तरमा उपलब्ध कृषि उत्पादनको उपयोग गर्दै उद्यमशीलता प्रवद्र्धन र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले बडीमालिका नगरपालिका–७, ढम्कनेमा पाँच दिने अचार तथा गुन्द्रुक बनाउने सीप विकास तालिम सुरु भएको छ । बडीमालिका नगरपालिकाको उद्यम विकास शाखाको आयोजना तथा आस्मान नेपालको सहकार्यमा सञ्चालन भएको तालिम जेठ १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भएको छ ।
वडा नं. ७ का अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी प्रमुख अतिथि रहेका थिए भने वडा नं. ५ का अध्यक्ष धरमपाल मिजार विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा वडा नं. ७ का वडा सदस्य लोकेन्द्र रोकाया लगायत स्थानीय जनप्रतिनिधि, सहभागी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लोकराज जोशीले स्थानीय उत्पादनलाई व्यवसायिक रूपमा विकास गर्न यस्ता सीपमूलक तालिम महत्वपूर्ण हुने बताए । उनले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गरे। अध्यक्ष धर्मराज पाध्यायले वडा स्तरमा उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै आयआर्जनका अवसर सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले महिलाहरू तथा स्थानीय युवालाई उद्यमशीलतामा जोड्न यस्ता कार्यक्रम नियमित गर्दै आएकाले यो तालमि पनि प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
तालिममा सहभागीहरूलाई अचार तथा गुन्द्रुक उत्पादन, प्रशोधन, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ । तालिमले घरेलु तथा साना उद्यम स्थापना गर्न आवश्यक आधार तयार गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन बडीमालिका नगरपालिकाको उद्यम विकास शाखा प्रमुख रञ्जिता शाहीले गरेकी थिइन्। नगरपालिकाले स्थानीय आर्थिक विकास तथा महिला सशक्तीकरणलाई प्राथमिकता दिँदै आगामी दिनमा समेत यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ ।


