मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनसँग ७३ प्रतिशत मतभार

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनसँग ७३ प्रतिशत मतभार

  • शुक्रबार, पुस २०, २०८०
राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनसँग ७३ प्रतिशत मतभार

धनगढी —राष्ट्रियसभाका २० सदस्यको कार्यकाल अगामी २० फागुनमा सकिँदैछ । कार्यकाल सकिनुभन्दा एक महिना पहिले नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधानअनुसार निर्वाचन आयोगले अगामी माघ ११ मा रिक्त हुने सिटका लागि निर्वाचन गर्दैछ । त्यसका लागि पुस २३ गते मनोनयन दर्ताको दिन तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा पुगेका नेकपा माओवादी केन्द्रका हरिराम चौधरी (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेका इन्दु कडरिया (कञ्चनपुर)को पदावधी सकिन लागेकाले सुदूरपश्चिममा तीन सिटका लागि निर्वाचन हुनेछ ।

तीन सिटका लागि उम्मेदवार बनाउन कतिपय राजनीतिक दलले प्रदेशबाट केन्द्रीय कमिटिमा आकांक्षीहरुको नाम पठाइसकेका छन् भने कतिपय छलफलमै रहेको बताउँछन् । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह समेत ८२ जना आकांक्षीको नाम जस्ताकोत्यस्तै केन्द्रीय समितिमा पठाइसकेको जनाएको छ ।

यस्तै सत्तारुढ गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले पनि देवराज रेग्मी, रेणु चन्द र गम्भीर थापा समेतका २१ जना आकांक्षीको नाम केन्द्रीय समितिलाई पठाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने केन्द्रीय कमिटीलाई नाम सिफारिस गर्न बाँकी छ । जिल्लाबाट प्रदेशलाई आकांक्षीको सूची आइसकेको र प्रदेश समितिले रायसहित ९ जना आकांक्षीको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने एमालेले जनाएको छ ।

यी बाहेक नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलले पनि राष्ट्रियसभा निर्वाचननलाई लिएर आन्तरिक रणनीति बनाइरहेका छन् र आकांक्षीहरुको नाम आ–आफ्ना केन्द्रीय कमिटीमा पठाउने तयारी गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनलाई लिएर केन्द्रमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विभिन्न कोणबाट छलफल जारी रहेका बेला प्रदेशमा आकांक्षीहरु पनि आ–आफ्नो ढंगले लबिङमा लागेका छन् ।

कुन दलको मतभार कति ?

सुदूरपश्चिम प्रदेशमा गत बैशाख र मंसिरमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । कांग्रेसले स्थानीय तह र प्रदेशसभामा सबैभन्दा बढी ठाउँमा जितेको थियो । कांग्रेसले ८८ वटा स्थानीय तहमध्ये ४० ठाउँमा प्रमुख तथा अध्यक्ष र ४६ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसले १९ सिट जितेको थियो । आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको सिट रिक्त छ । अहिले प्रदेशसभामा कांग्रेसका १८ सदस्य छन् ।

निर्वाचन आयोगले राष्ट्रियसभामा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार १९ र प्रदेशसभाका सदस्यको मतभार ५३ कायम गरेको छ । यो हिसाबले कांग्रेससँग स्थानीय तहतर्फ १ हजार ६३४ र प्रदेशसभातर्फ ९५४ गरेर कुल २ हजार ५८८ मतभार छ ।

दोस्रो ठूलो दल नेकपा एमालेले स्थानीय तहमा प्रमुख तथा अध्यक्षमा २६ ठाउँ र उपप्रमुख तथा उपाध्यक्षमा २४ ठाउँमा जितेको थियो । प्रदेशसभामा एमालेका १० सदस्य छन् । यो हिसाबले उसको मतभार स्थानीय तहमा ९५० र प्रदेशसभामा ५३० गरेर जम्मा १ हजार ४८० छ ।

यस्तै तेस्रो दल नेकपा माओवादी केन्द्रले १४ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र ११ मा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रका ११ सांसद छन् । माओवादीको स्थानीय तहतर्फ ४७५ र प्रदेशसभातर्फ ५८३ गरेर कुल मतभार १ हजार ५८ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत समेटेर लैजानुपर्नेमा जोड दिएका कारण समीकरण कस्तो हुन्छ त्यहीअनुसार सुदूरपश्चिमको राजनीति अघि बढ्ने सत्तारुढ गठबन्धनका नेताहरु बताउँछन् ।
४ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष, ३ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष र ७ जना प्रदेशसभा सदस्य जितेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)को मतभार ५०४ र २ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र ३ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष जितेको नेकपा एकीकृत समाजवादीको मतभार ३०७ रहेको छ ।

स्थानीय तहमा दुई प्रमुख र अध्यक्ष तथा एउटा उपाध्यक्ष स्वतन्त्रले जितेका थिए । उनीहरुको मतभार ५७ छ । प्रदेशसभामा राप्रपासँग एक जना सांसद रहेकाले उसको मतभार ५३ छ भने एक जना स्वतन्त्र सांसदको मतभार पनि ५३ छ ।

यो हिसाबले हेर्दा सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभामा कुल ६ हजार १०० मतभार रहेकोमा ७३ प्रतिशत अर्थात् ४ हजार ४५७ मतभार अहिले कायम सत्तारुढ गठबन्धनसँग छ । केन्द्रीय समीकरणअनुसार सुदूरपश्चिम सरकारमा पनि कांग्रेसको नेतृत्वमा माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको गठबन्धन छ ।

सत्तारुढ गठबन्धनसँग ७३ प्रतिशत मतभार हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग १ हजार ४८० र राप्रपाको मतभार ५३ मात्र छ भने स्थानीय तहको ५७ र प्रदेशसभाको ५३ गरेर ११० मतभार स्वतन्त्रको छ । त्यसैले अहिलेकै अवस्थामा सुदूरपश्चिम प्रदेशमा पनि प्रमुख विपक्षी दल नेकपा एमाले शून्य हुने अवस्थामा छ भने सत्तारुढ गठबन्धनसँग सुविधाजनक मत छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत समेटेर लैजानुपर्नेमा जोड दिएका कारण समीकरण कस्तो हुन्छ त्यहीअनुसार सुदूरपश्चिमको राजनीति अघि बढ्ने सत्तारुढ गठबन्धनका नेताहरु बताउँछन् ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव जनक बुढाले हाल कायम गठबन्धनमा खुल्ला र आपांगतर्फका दुवै सिटमा आफ्नो पार्टीको दाबी हुने बताए तर केन्द्रमा एमालेसहित राष्ट्रियसभाको निर्वाचनमा जाने कुरा चलेकाले अहिले नै यस्तै हुन्छ भन्न भने नसकिने उनको भनाइ छ ।

‘सुदूरपश्चिममा फागुनमा रिक्त हुने ३ मध्ये दुई सिट माओवादी केन्द्रकै हो । ती दुवै सिट हामीले पाउनुपर्छ भन्ने दाबी अहिलेको गठबन्धनमा हो,’ बुढाले भने, ‘तर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ज्यूले एमालेलाई पनि समेटेर जाने कुरा गरिरहेकाले परस्थिति कसरी अघि बढ्छ त्यहीअनुसार हुन्छ । अहिले केही भन्न सकिँदैन ।’

प्रधानमन्त्रीको पहलकदमीले पर्ख र हेरको अवस्थामा सत्तारुढ गठबन्धन रहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्ना उम्मेदवार जिताउन प्रदेशमा अहिलेको गठबन्धनमा आवद्ध दलहरुसँग छलफल र संवाद गर्ने जनाएको छ ।

एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले केन्द्रीय समीकरण जे भएपनि प्रदेशमा आफ्ना उम्मेदवार जिताउन आवश्यक सबै रणनीति अवलम्बन गरिने बताए । ‘केन्द्रीय स्तरमा जे जस्तो भए पनि सुदूरपश्चिममा राष्ट्रियसभामा कसरी हाम्रा उम्मेदवार जिताउन सकिन्छ भन्नेमा हाम्रो ध्यान रहेको छ,’ सचिव चन्दले भने, ‘अहिलेको गठबन्धनमा आवद्ध दलहरुसँग छलफल र संवाद गर्छौं । केन्द्रकै गठबन्धन प्रदेशमा लागु हुनुपर्छ भन्ने हुँदैन ।’ अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार