शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • समाचार
  • रुसी सेनामा भर्ति भएका नेपालीका आफन्तलाई प्रधानमन्त्रीले भने – कूटनीतिक प्रयास जारी छ, फर्काउन थप पहल गर्छु

रुसी सेनामा भर्ति भएका नेपालीका आफन्तलाई प्रधानमन्त्रीले भने – कूटनीतिक प्रयास जारी छ, फर्काउन थप पहल गर्छु

  • मङ्लबार, बैशाख २५, २०८१
रुसी सेनामा भर्ति भएका नेपालीका आफन्तलाई प्रधानमन्त्रीले भने – कूटनीतिक प्रयास जारी छ, फर्काउन थप पहल गर्छु

काठमाडौं — रुसी सेनामा भर्ति भएका नेपालीका आफन्तले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर परिवार सदस्य फिर्ताका लागि पहल गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गर्न माग गरेका हुन्।

जवाफमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने आश्वासन दिए। ‘तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले लगातार कूटनीतिक पहल गरि नै रहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ।’

नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको बताए।

‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैँले थप पहल गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने। युद्ध मैदानमा रहेका नेपालीहरूसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलमा निरन्तर छलफल भइरहेको जानकारी दिए।

रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौँमा धर्ना दिएका थिए। प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसीले उहाँहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको छ।

चर्चामा

सम्बन्धित समाचार