शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • गर्मीयाम सुरु भएसँगै बाजुराका भेडापालक धमाधम फर्काइँदै भेडीगोठतिर

गर्मीयाम सुरु भएसँगै बाजुराका भेडापालक धमाधम फर्काइँदै भेडीगोठतिर

  • सोमवार, चैत्र २०, २०७९
गर्मीयाम सुरु भएसँगै बाजुराका भेडापालक धमाधम फर्काइँदै भेडीगोठतिर

टेक बहादुर बुढा –चिसो बढेसँगै बेँसी झारिएका बाजुराका हिमाली क्षेत्रका भेडीगोठ आफ्नै गाउँतर्फ फर्काइन थालेको छन । जिल्लाका   बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथलगायतका अधिकांश स्थानीयवासीको मुख्य पेसा भेडाबाख्रापालन हाे  । उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडाबाख्रा पाल्न सहजताका लागि कात्तिकतिर गोठ बेँसी झार्ने गर्दछन।

अहिले बेँसीमा गर्मी सुरु भएसँगै जिल्लाको पूर्वी–उत्तर क्षेत्रका बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथलगायतका भेडीगोठ धमाधम गाउँ फर्काउन थालिएको छ।बूढीनन्दा नगरपालिका–९, पाण्डुसैनका भेडापालक प्रेमबहादुर थापाले मङ्सिर, पुस, माघ र फागुनलगायत हिउँदका केही महिना गाउँमा चिसो हुने हुँदा त्यो चिसो छल्न कात्तिक महिनामा भेडीगोठ बेँसी झार्ने गरिएको बताए। उनका अनुसार बेँसीमा अहिले गर्मी सुरु भएसँगै भेडीगोठ गाउँ फर्काउन थालिएको छ।  भेडाबाख्रालाई गर्मीभन्दा त चिसो ठाउँमै बस्न सहज हुन्छ। हिउँदका केही महिना गाउँमा हिउँ पर्ने गर्छ। लामो समयसम्म हिउँ बिलाउँदैन। भेडाबाख्राले खानेकुरा सबै हिउँले पुर्छ। हिउँ परेपछि भेडाबाख्रालाई धेरै चिसो हुने र चरन टिपन गर्नसमेत समस्या हुने गरेकाले हिउँदका केही महिना बेँसीतिर भेडीगोठ झार्ने गरिएको थापाले बताए ।

पाण्डुसैनका अधिकांश किसानको भेडाबाख्रापालन मुख्य पेसा हो  ।  पहिला गाउँका सबै वन खुला हुने गरेकाले उनीहरूलाई भेडाबाख्रापालनमा निकै सहज हुन्थ्यो। अहिले गाउँका ती सबै वन सामुदायिक भएपछि भेडापालकलाई भेडापालनमा निकै चुनौती थपिँदै गएको छ। पहिला बाजुराको बूढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदह र छिमेकी जिल्ला अछामको साँफेबगर नगरपालिकाका केही वनसमेत खुला हुन्थे । उनीहरूलाई त्यो वनमा भेडाबाख्रापालन गर्न निकै सहज हुन्थ्यो। अहिले हिउँदमा हिमपातका डरले बेँसी झर्नुपर्ने, बेँसीमा पनि सामुदायिक वन उपभोक्ता समितिलाई महँगो कर तिर्नुपर्ने भएपछि भेडाबाख्रापालनमा चुनौती थपिएको प्रेम थापाले बताए। उनका अनुसार पहिले गाउँमा एकै परिवारले पाँच सयभन्दा बढी भेडाबाख्रा पाल्ने गर्थे। पहिले बेँसी झर्दा वनको समेत कर तिर्नु पर्दैनथ्यो।

अहिले भेडा वनमा पस्नेबित्तिकै सामुदायिक वनले समात्ने गरेको किसान थापाले बताए ।पछिल्लो समयमा भेडाबाख्रालाई चरिचरनमा समस्या भएपछि भेडाबाख्रा पाल्नेको सङ्ख्यासमेत निकै कमी हुँदै आएको अनुभव उनको छ।

भेडाबाख्रा वनमा पस्दा नयाँ हुर्किंदै गएका सबै बोटबिरुवा नष्ट पार्ने भएकाले वनमा भेडाबाख्रा चराउन बन्देज गरिएको वन उपभोक्ता समितिले बताउने गरेको छ। बूढीनन्दा नगरपालिका–९ का वडाध्यक्ष मानबहादुर रावतले बूढीनन्दा नगरपालिकाका अधिकांश स्थानीयको भेडाबाख्रापालन नै मुख्य पेसा भएकाले यसलाई थप प्रोत्साहन दिँदै जानुपर्ने बताएका छन   ।

चर्चामा

सम्बन्धित समाचार