
बुटवल — नेकपा एमालेले लुम्बिनी सरकारका मन्त्री फेर्ने भएको छ । बजेटको अन्तिम तयारीमा रहेका बेला केन्द्रबाट राजीनामाको निर्देशन आएपछि आज बिहानै मन्त्रीहरुले राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री छन् । कांग्रेसले पूर्वसहमति अनुसार नेतृत्वसहित सरकार परिर्वतन गर्ने अडान लिँदै आएको छ । जेठको पहिलो साता नै मन्त्री फेर्ने प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैसाथ सरकार पुर्नगठन गर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो ।
तर, एमालेका मन्त्री बन्न लाइनमा बसेका प्रदेश सभा सदस्यहरुले मन्त्री फेर्न केन्द्रमै दबाब दिएका थिए । त्यही अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा मन्त्रीहरुलाई राजीनामा दिन मुख्यमन्त्री चेतनारायण आचार्यले नै निर्देशन दिएका थिए । त्यही अनुसार बुधबार नै मन्त्रीहरुले राजीनामा दिएका हुन् । बुधबार नै नयाँ मन्त्री नियुक्त गरी शपथ गराउने तयारी भए पनि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती भगर लुम्बिनी प्रदेश बाहिर रहेकाले कम्तिमा दुई दिन नयाँ मन्त्री नियुक्त हुन नसक्ने एक नेताले बताए ।
एमालेबाट मन्त्रीका लागि केन्द्रबाटै गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस भएको स्रोतको दाबी छ । अहिले एमालेका मुख्यमन्त्रीबाहेक ४ जना मन्त्री छन् । एमालेबाट मन्त्री रहेकाहरु भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा दिएका हुन् ।
सिफारिस भएका चार जनामध्ये खत्री यसअघि सामाजिक विकास मन्त्री बनेका थिए । अन्य तिन जना भने मन्त्रीका लागि नयाँ अनुहार हुन् । एमालेले दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएर आएका र मन्त्रीको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राखेको थियो । त्यही अनुसार चौधरी र घिमिरे सिफारिस भएका हुन् । गुल्मीका भुसाल भने प्रदेश सभाका जेष्ठ नागरिक भएकाले सिफारिस भएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेबाट सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा गर्न निर्देशन दिएको बताए ।
‘नयाँ साथीहरुलाई जिम्मेवारी दिने भन्ने सल्लाह भएको छ,’ उनले भने, ‘मन्त्रीजीहरुले बुधवार नै राजीनामा दिइसक्नुभयो । अब कसलाई मन्त्रालयको जिम्मेवारी दिने भन्ने छलफल हुन्छ ।’ सरकारले बजेट तयारी गरिरहेको भए पनि मन्त्री हेरेफेरले बजेटलाई कुनै असर नगर्ने उनले बताए । लुम्बिनी प्रदेश सरकारले साउन १ गतेदेखि ८ मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । सरकारले नीति कार्यक्रममा पनि उक्त विषय प्रमुखताका साथ उल्लेख गरेको छ ।
तर, कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले तीन मन्त्री पाउने र अर्को दलले ४ मन्त्री लिने यस अघिकै मौखिक सहमति भएकाले एमालेले चारै जना मन्त्री फेरेर पुनः चार जना नै पठाउन लागेको एमालेका एक नेताले बताए ।


