
बाजुरा– बडीमालिका नगरपालिकामा बाल केन्द्रित योजना तर्जुमाका लागि स्थानीय सरकारको प्राथमिकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सशक्त महिला, समृद्ध नेपाल” भन्ने मुल नाराका साथ सामुदायिक बिकास केन्द्र डोटीको सहकार्य तथा बडीमालिका नगरपालिकाको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो । आयोजित कार्यक्रममा बाल अधिकार, बालमैत्री योजना निर्माण र स्थानीय तहको भूमिकाबारे व्यापक छलफल गरिएको सामुदायीक बिकास केन्द्र बाजुराले जनाएको छ ।
कार्यक्रमको अध्यक्षता बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले बालबालिकाको समग्र विकास बिना समृद्ध समाज निर्माण सम्भव नभएको उल्लेख गर्दै स्थानीय सरकारले आगामी नीति तथा कार्यक्रम बाल उत्तरदायि ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले वडा स्तरबाटै शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सहभागितालाई केन्द्रमा राखेर योजना निर्माण गरिनुपर्नेमा जोड दिए । नगर प्रमुख खड्काले भने, “बालबालिकाको हितलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नु अहिलेको आवश्यकता हो । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले बालमैत्री वातावरण निर्माणमा अझ जिम्मेवार बन्नुपर्ने र बताए ।” उनले बालबालिकाको क्षेत्रमा केही कामहरु अगाडी बढाइएको भए पनि अझ थुप्रै कामहरु बाकी रहेकोले टोल स्तरबाट बाल सहभागीता सहितका योजना बनाएर कार्यपालिका सम्म ल्याउन वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई अनुरोध गरेका छन ।
कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरूले पनि बाल केन्द्रित योजना निर्माणले स्थानीय तहको विकासलाई दीर्घकालीन र प्रभावकारी बनाउने बताएका थिए । उनीहरूले बाल अधिकार सुनिश्चित गर्न नीति निर्माणसँगै कार्यान्वयन पक्षलाई पनि बलियो बनाउनुपर्ने धारणा राखेका छन ।
अन्तरक्रिया कार्यक्रममा बडीमालिका नगरपालिकाका ९ वटै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न विषयगत शाखाका प्रतिनिधिहरू, सामुदायिक विकास केन्द्रका प्रतिनिधि, स्थानीय पत्रकार लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम बडीमालिका नगरपालिका बाजुराको आयोजनामा युनिसेफ नेपालको अर्थिक सहयोगमा सिडिसि द्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम काे सहयोग तथा सामुदायिक विकास केन्द्रको सहकार्य रहेको थियो । अन्तरकृया कार्यक्रमको सहजीकरण युनिसेफ नेपाल सुदुरपश्चिम प्रदेशका बाल संरक्षण अधिकृत प्रकाश कैनि र सामुदायीक बिकास केन्द्रका टेक बहादुर विकले गरेका थिए भने सो कार्यक्रमको संचालन गैसस फोकल पर्सन कृष्ण खड्काले गरेका थिए ।


