मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • एकीकृत समाजवादीलाई गठबन्धनमा भित्र्याउन ओली लचक

एकीकृत समाजवादीलाई गठबन्धनमा भित्र्याउन ओली लचक

  • शुक्रबार, पुस १५, २०७९
एकीकृत समाजवादीलाई गठबन्धनमा भित्र्याउन ओली लचक

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एकीकृत समाजवादीको विषयमा छलफल भएको छ। शुक्रबार बिहान बालुवाटारमा उनीहरुबीच एकीकृत समाजवादीलाई नयाँ सत्ता गठबन्धनमा भित्र्याउनेबारे छलफल भएको हो।

बिहीबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उच्चस्तरीय राजनीतिक नेतृत्वबीच सहमति जुटे प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सकिने बताएका थिए। नेपालले पार्टीका नेताहरुलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै सरकारमा सहभागी हुने विषयमा आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गरेका थिए।

झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव ओलीसमक्ष राखेका थिए। प्रचण्डको प्रस्तावमा ओलीले लचकता देखाएको बालुवाटार स्रोतले जनाएको छ। दुई नेताले शक्ति बाँडफाँड, मन्त्रीमण्डल विस्तार, प्रचण्डले लिने प्रधानमन्त्री पदको विश्वासको मत, सरकारका न्यूनतम साझा कार्यक्रम र आगामी रणनीतिको विषयमा पनि छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन नेपाललाई सत्तारुढ दलका नेताहरूले आग्रह गर्दै आएका छन्। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, नेता महेश बस्नेतलगायत माओवादी केन्द्रका नेताहरूले समेत सरकारमा सहभागी हुन नेपाललाई आग्रह गर्दै आएका छन्।

नयाँ समीकरणपश्चात बुधबार बिहान ललितपुरस्थित प्रचण्ड’को नातेदारको सिटी स्केप अपार्टमेन्टमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो। भेटमा प्रचण्डले नेपाललाई गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए। प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिको आकांक्षा राखेको स्रोतको भनाई छ। पछिल्लो समयमा ओली-नेपालबीच मध्यस्थता गर्न प्रचण्ड लागि परेका छन्। एकीकृत समाजवादीका सांसदहरुले समेत नेपाललाई सरकारमा जाने वातावरण बनाउन दबाब दिँदै आएका छन्।

यता एकीकृत समाजवादी नेकपा एमाले समाहित हुने र नेपाललाई राष्ट्रपति बनाउने चर्चा भएपनि उपमहासचिव प्रदीप ज्ञवालीले भने बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र भएको प्रष्ट पारेका छन्। उनले सरकारको समर्थनको दायरा विस्तार गर्नमा मात्र छलफल चलिरहेको धारणा राखेका हुन्।

पार्टीभित्र कार्यकर्ताले विरोध गर्न थालेपछि ज्ञवालीले सङ्कटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय नहुने प्रष्ट पारे। ‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो। सङ्कटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन।’शुक्रबार बिहान ज्ञवालीले भने,‘इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन।’

एमाले अध्यक्ष ओलीसहितको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। बालकोटको बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ। प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्।

प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपाबाट रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनिसकेका छन्। यस्तै एमालेबाट तीन र जनमतबाट एकजना मन्त्री नियुक्त भइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार