शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • अर्थतन्त्र गम्भीर अवस्थामा छ: राष्ट्रपति भण्डारी

अर्थतन्त्र गम्भीर अवस्थामा छ: राष्ट्रपति भण्डारी

  • बिहिबार, पुस ७, २०७९
अर्थतन्त्र गम्भीर अवस्थामा छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर अवस्थामा पुगेको नेपालको अर्थतन्त्रलाई लयमा फर्काउन कृषि, वन पैदावार तथा जडिबुटीजन्य उद्योगतर्फ केन्द्रित बन्न उद्योगी व्यवसायीलाई आग्रह गरेकी छन्।

अहिले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो परिश्रम र लगानीबाट राज्यको ढुकुटीमा कर बुझाउने उद्यमीहरूको सम्मान र आयात प्रतिर्स्थापन गर्ने खालका उद्योगहरूको विस्तारमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताइन्।

रूपन्देही उद्योग संघले बुटवल मण्डपमा बिहीबारदेखि सुरू गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले एकातर्फ आयात बढ्दै जाने र अर्कोतर्फ व्यापार घाटा बढिरहँदा राष्ट्रिय अर्थतन्त्र नै गम्भीर अवस्थामा पुगेको बताएकी हुन्।

‘एकातर्फ व्यापार घाटा बढिरहेको छ भने अर्कोतर्फ आयात नियन्त्रण नहुँदा राष्ट्रिय अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको छ, यस्तो अवस्थामा मुलुकको व्यापार घाटा कम गर्न कृषि, वन पैदावर र जडिबुटीजन्य उत्पादनलाई जोड दिनु आवश्यक छ,’ राष्ट्रपति भण्डारीले भनिन्।

राष्ट्रपति भण्डारीले सबै स्थानीय तहले कुनै पनि व्यक्तिले जग्गा बाँझो राख्न नपाउने नीति बनाउन आवश्यक रहेको बताइन्।

खेतीयोग्य जमिन बाँझो राख्न नपाउने नीति बनाई कृषिजन्य उत्पादनलाई बढाउन सके आर्थिक क्षेत्र सुधार हुने उनको भनाइ छ।

Esewanic
विभिन्न समयमा आयोजना गरिने औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाहरूले स्वदेशी उत्पादनको बजारीकरणमा टेवा पुग्ने उल्लेख गर्दै रूपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले कोभिडका कारण थला परेको उद्योग क्षेत्रलाई माथि उठाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

‘उद्योगी व्यवसायीले आयोजना गर्ने प्रदर्शनी तथा मेला महोत्सवहरूले उत्पादनको प्रचारप्रसार र उद्योगको प्रवर्द्धनसँगै उपभोक्ताहरूलाई उत्पादनप्रति चासो बढाउँछ,’ राष्ट्रपति भण्डारीले भनिन्।

राष्ट्रपति भण्डारीले हालै मात्र निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित र पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

‘गौतमबुद्धको जन्मस्थल लुम्बिनीको काखमा रहेको रूपन्देहीमा निर्माण सम्पन्न भएको विमानस्थललाई व्यवस्थित रूपले सञ्चालन गर्न सके यस क्षेत्रको पर्यटन र औद्योगिक क्षेत्रको विकासले गति लिन्छ,’ राष्ट्रपति भण्डारीले भनिन्।

लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघसँगको संयुक्त आयोजनामा रूपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीको उद्घाटनको अवसरमा गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थामा ब्याजदर वृद्धि गर्दै लैजाने हो भने सरकारले हस्तक्षेप गर्नुपर्ने बताए।

गृहमन्त्री खाणले ब्याजदरको चरम वृद्धिले उद्योगी व्यवसायीहरू संकटमा परेको बताउँदै ब्याजदर नियन्त्रणका लागि सरकारले नीतिगत हस्तक्षेप गर्नुपर्ने बताएका हुन्।

उनले चर्को ब्याजका कारण उद्योगी व्यवसायी मात्र नभई बैंक तथा वित्तीय संस्था नै संकटमा पर्ने उल्लेख गर्दै त्यसतर्फ सचेत बन्न आग्रह गरे।

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले राष्ट्रिय अर्थतन्त्रको मेरूदण्ड भनिएको उद्योग क्षेत्रका समस्याप्रति सरकार गम्भीर बन्न नसकेको गुनासो गरे।

सवृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने नाराका साथ सुरू भएको प्रदर्शनी पुस १९ गतेसम्म चल्ने छ।

प्रदर्शनीमा खाद्यान्न, गार्मेन्ट, सूचना प्रविधि, हस्तकला, कृषि लगायतका साढे चार सय स्टल राखिएका छन्।

प्रदर्शनी मूलआयोजक समितिका संयोजक माधवप्रसाद पौडेलले यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको जानकारी दिए।

बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा पहिलो पटक आयोजना गरिएको प्रदर्शनीलाई यस क्षेत्रका उद्योगी व्यवसायीहरूले विशेष महत्वका साथ लिएका छन्।

चर्चामा

सम्बन्धित समाचार