आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • तपाईँको भोट किन ? अनि के को लागी ?

तपाईँको भोट किन ? अनि के को लागी ?

  • शनिबार, चैत्र १९, २०७८
तपाईँको भोट किन ? अनि के को लागी ?

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउने र संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ । संघीय शासन प्रणाली लागू भएपछिको यो दोस्रो निर्वाचन हो । पहिलोपटक भएको निर्वाचनले स्थानीय तहको जग बसाल्ने काम गरेको थियो भने अब दोस्रोपटक हुने यो निर्वाचनले सिंगो शासन प्रणालीको संस्थागत विकासमा नै महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली विश्वमै सबैभन्दा समुन्नत शासन प्रणाली हो तर पनि हामीकहाँ छोटो समयमा नै यो शासन प्रणाली आलोचित हुन पुगेको छ । यसको मुख्य कारण यो शासनप्रणाली सञ्चालन गर्ने शासकमा देखिएको भ्रष्ट आचरण, अनैतिकता र सैद्धान्तिक विचलन नै हो ।

साथै राजनीतिलाई विशुद्ध समाजसेवाभन्दा पनि कमाइ खाने भाडो बनाउने गलत प्रवृत्ति राजनीतिक नेतृत्वमा झागिँदै आएको छ । त्यसैले पनि संघीय शासन प्रणालीमाथि प्रश्नचिह्न लाग्न पुगेको छ । तर, यति चाँडै नै यो शासन प्रणालीको विकल्प भने खोज्ने अवस्था आइसकेको छैन, सुधारेर अघि बढ्न सक्ने ठाउँ प्रसस्तै छ । यसका लागि अहिले रहेका प्रमुख राजनीतिक दल र तिनका नेताले आफ्नो चरित्र सुधार गरेर बढ्नुपर्छ ।

यदि, यहाँका प्रमुख राजनीतिक दल र तिनका नेताले आफ्नो भ्रष्ट आचरण र चरित्रमा सुधार गरेनन् भने यो शासन प्रणालीप्रति आमजनतामा एकैपटक अविश्वास पैदा हुन सक्छ र शासन प्रणालीको विकल्प खोज्ने गरी विद्रोह पनि हुन सक्छ । त्यस्तो परिस्थिति आउन नदिन पनि नेतृत्व पंक्ति विशेष सर्तक र संवेदनशील बन्नैपर्छ ।
स्थानीय तह सुशासनयुक्त, मजबुत र पारदर्शी बन्न सके भने मात्रै जनताले सहज रूपमा सेवा प्राप्त गर्न सक्छन् । फेरि जनताको सुखदुःखसँग प्रत्यक्ष सम्बन्ध राख्ने भनेकै स्थानीय तह र त्यहाँका जनप्रतिनिधि नै हुन् । स्थानीय तहका जनप्रतिनिधि असल र इमानदार भएर काम गर्न सके भने मात्रै जनतामा संघीय शासन प्रणालीले राम्ररी सेवा प्रवाह गर्ने रहेछ भन्ने अनुभूति हुन सक्छ । तर, जनप्रतिनिधि भ्रष्ट, बेइमान र अनैतिक बने भने उनीहरूले सेवा प्रवाह राम्रो गर्न सक्दैनन् र जनताको सुखदुःखमा पनि साथ दिन सक्दैनन् ।

त्यस्तो अवस्थामा जनतामा संघीय शासन प्रणालीप्रति नकारात्मक सोच पलाउन सक्छ र यो शासन प्रणाली हाम्रो हितमा रहेनछ भन्ने सोचाइ आमजनतामा आउन सक्छ । त्यसैले पनि राजनीतिक दलले स्थानीय तहमा आफ्ना उम्मेदवार तय गर्दा जनताको सुखदुःखमा साथ दिने र इमानदार व्यक्तिलाई अवसर दिनुपर्छ ।
स्थानीय तहको निर्वाचनलाई सबै जनताले महोत्सवका रूपमा लिएर यसमा भाग लिनुपर्छ तर भोट दिनुभन्दा अगाडि सयौं पटक सोच्न जरुरी छ । विभिन्न दलका नेता तथा तिनका प्रतिनिधि जनताको घरदैलोमा भोट माग्न आउँदा जनताले किन र केका लागि भोट दिने भनेर प्रश्न गर्नुपर्छ । भोट दिँदा दलीय स्वार्थ मात्रै हेर्नुुहुँदैन । निर्वाचनको समयमा मात्रै नमस्ते गर्न जनताको घरदैलोमा आउने तर अन्य समयमा कहिल्यै पनि नाकमुख देखाउन नआउने र जनताको समस्यालाई आत्मसात गर्न नसक्ने व्यक्तिकाे आचरण आमजनताले राम्रो जानकारी राख्नैपर्छ । तपाईंको एक भोट निर्णायक पनि हुन सक्छ, त्यसैले आफ्नो भोटलाई बहुमूल्य ठानेर त्यसको विशेष इज्जत र हिफाजत गर्न सक्नुपर्छ । भोट दिँदा मैले असल र इमानदार व्यक्तिलाई दिएको छु भन्ने गौरव बोध गर्न सक्नुपर्छ ।
पछिल्लो समयमा हामीकहाँ नेता मात्रै होइन जनताप्रति पनि विभिन्न किसिमका प्रश्न सिर्जना हुने गरेको छ । भ्रष्ट तथा फटाहा प्रवृत्ति भएका नेतालाई जिताउने जनता पनि खराब हुन् भन्ने मानसिकता पनि विकास हुँदै आइरहेको छ । त्यसैले राजनीतिक प्रणाली र नेतालाई खराब बनाउन जनताको पनि हात रहेको विश्लेषण विभिन्न कोणबाट हुने गरेको छ । किनकि, विगतमा ठेक्का पट्टामा संलग्न, विचौलिया माफियासँग साँठगाठ गर्नेहरूलाई जनताले भोट दिएर जिताएका धेरै उदाहरण छन् ।

त्यसैले अब जनताले त्यस्ता भ्रष्ट प्रवृत्ति भएकालाई जुनसुकै हालतमा पनि हराउनुपर्छ । कुनै पार्टी विशेषका इमानदार कार्यकर्ताले पनि पार्टीले कस्तो व्यक्तिलाई टिकट दिएको छ भन्ने गहन विश्लेषण र समीक्षा गर्नुपर्ने बेला आएको छ । पार्टीले टिकट दिँदैमा त्यो व्यक्तिको विगत, उसले आफ्नो गाउँ- ठाउँको विकास र समृद्धिमा खेलेको भूमिकाको विश्लेषण नै नगरी हचुवामा भोट हाल्ने प्रवृत्ति पूर्णरूपमा बन्द गर्नुपर्छ । किनकी जनताले पाँच वर्षका लागि प्रतिनिधि चुन्ने हो । त्यसरी चुनेको प्रतिनिधिले पाँच वर्षमा गाउँको मुहार नै फेर्न सक्छ । त्यस्तो मुहार फेर्न सक्ने प्रतिनिधि छान्नु हरेक नागरिक र स्थानीय वासिन्दाको कर्तव्य हो ।
अहिले विभिन्न खाले गठबन्धन र तालमेलका कुरा पनि आएका छन् । यो गठबन्धन र तालमेल आफ्नो सत्ता स्वार्थका लागि हो कि, गाउँघरको विकासको लागि हो ? अब हरेक जनताले एक एक प्रश्न गर्ने बेला आएको छ । कुनै सिद्धान्त नै नमिल्ने राजनीतिक दल चुनावमा किन एकजुट भएर आएका छन? यस्ता खालका सबै प्रश्न गरेर जवाफ मागौं । चुनावलाई आफु अनुकुल पार्न जनताको मतलाई खरिदबिक्री गर्ने प्रयास पनि हुन सक्छ । यो सबैभन्दा घातक कुरा हो । मत किन्नु जनमत माथिको घोर अवमुल्यन हो । यो लोकतन्त्रमाथिको घातक आक्रमण पनि हो ।

कथंकदाचित नागरिकले पैसा खाएर त्यसैको आधारमा भोट हाल्ने अवस्था आयो भने त्यो नागरिककै लागि आत्मघाती बाटो हुनेछ । चुनावको बेला लोभ गरेर खाएको दुई÷चार हजारले वर्षौसम्म तपाईंहरूको गाउँठाउँको विकास प्रक्रिया अवरुद्ध हुन सक्छ । जसले पैसा बाडेर चुनाव जित्छ उसले कुनै हालतमा पनि गाउँघरको विकास योजना सञ्चालन गर्न सक्दैन भने असल सेवा प्रवाह गर्न पनि सक्दैन । पैसा खर्च गरेर निर्वाचन जित्नेहरू को ध्यान जसरी हुन्छ पैसा आर्जन गर्ने कुरामा नै समय अनी कार्यकाल बित्ने गर्छ । ऊ भ्रष्टाचारको दलदलमा फस्छ ।

त्यसैले, त्यस्ता व्यक्तिलाई कुनै हालतमा पनि निर्वाचनमा जिताउनु हुँदैन । भोट दिँदा चोटै चोट पाइन्छ भने त्यस्ता व्यक्तिलाई किन भोट दिने ? आमनागरिकले अब ठन्डा दिमागले सोच्नुपर्ने बेला आएको छ । आगामी दिनमा भ्रष्टाचारमा लिप्त भई नागरिकलाई चोट दिने व्यक्तिलाई कुनै हालतमा भोट नदिऊँ । पैसा बाड्नेलाई पक्राउ गरी प्रहरीसमक्ष बुझाउने हिम्मत गरौं ।मैले के पाउँछु वा देशको विकास हुन्छ कि हुन्न भन्नुभन्दा कसले जनताको अधिकारको सुरक्षा गर्ने व्यवस्था बनाउन सहयोग गर्छ भन्ने विषयमा मतदाता सचेत हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार