शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • हैजाविरुद्धको खोप लगाउने सरकारको तयारी

हैजाविरुद्धको खोप लगाउने सरकारको तयारी

  • शुक्रबार, कार्तिक १९, २०७८
हैजाविरुद्धको खोप लगाउने सरकारको तयारी

काठमाडौं– सरकारले नेपालमा हैजाविरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको सचिवालयले खोप दिने आश्वासन दिएको बताए ।

डा. पौडेलका अनुसार ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप ‘ओरल कोलेरा भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको छ । सो खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने तयारी छ। खोप एकपटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने अध्ययनले देखाएको छ ।

कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखाला नियन्त्रणमा समस्या परेपछि सरकारले खोपका लागि अन्तर्राष्ट्रिय निकायसँग पहल थालेको थियो । कपिलवस्तुमा गत १८ असोजदेखि फैलिएको झाडापखालाबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

एकपटक खोप लगाए पाँच वर्षसम्म हैजाबाट सुरक्षित रहन सकिन्छ । हैजाका मुख्य लक्षणमा ठूलो मात्रामा पानी जस्तै पातलो पखाला लाग्नु तथा बान्ता हुनु हो । प्रायजसो हैजाको लक्षण शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि पाँच दिनभित्र देखा पर्छन् । हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हैजा गम्भीर खालको झाडापखाला हो । समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुनसक्छ । अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिस हैजाबाट प्रभावित हुने गरेका छन्। हैजाका कारण संसारभरि बर्सेनि २१,००० देखि १,४३,००० मानिसको मृत्यु हुने आँकलन गरिएको छ ।

हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचा गर्न सकिन्छ। गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ । भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ । अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्।

चर्चामा

सम्बन्धित समाचार