बुधबार, साउन २१, २०७७
  • होमपेज
  • बुढिनन्दा
  • राज्यको दृष्टिबाट ओझेल पावन क्षेत्र बुढिनन्दाः एक अध्ययन

राज्यको दृष्टिबाट ओझेल पावन क्षेत्र बुढिनन्दाः एक अध्ययन

  • शुक्रबार, साउन १६, २०७७
राज्यको दृष्टिबाट ओझेल पावन क्षेत्र बुढिनन्दाः एक अध्ययन

 बाजुरा जिल्लामा अवस्थित धार्मिक एवम् पर्यटकीय ऐतिहाँसिक पावन क्षेत्र बुढिनन्दा मन्दिर शैपाल हिमालको दक्षिणी हिमश्रृङ्खला, उत्तरमा फुलैगुम्बा र सैन पाटन, पादुका त्रिवेणी धाम र कोल्टी विमानस्थलबाट उत्तरतिर पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूणर् रहेको दैवी क्षेत्रमा साना ठूलागरि सात ओटा तालहरु छन् । सबै तालहरु चट्टानमै अवस्थित छन् । मन्दिरसँगै जोडिएको ‘निजार ताल’ तिलिचो ताल पछि विश्वको सर्वाधिक दोस्रो उचाईका रुपमा रहेको ‘अल इन्फो नेपाल’ नामक पुस्तकमा बताइएको छ । दुई ठूला पहाडको बिच गोलो आकारमा चट्टानै चट्टानमा अवस्थित ताल समुन्द्र सतहबाट ४ हजार ५ सय ८१ मिटरको उचाईमा रहेको छ । तालको लम्बाई, चौडाई र गहिराईको विस्तृत् अध्ययन हुँन बाँकी नै छ । तालको परिक्रमा गर्न तन्नेरीलाई झण्डै एक घण्टा लाग्ने गर्दछ । बुढिनन्दा निजार ताल सँङ्गै रहेका अर्थात् जोडिएका क्रमशः मष्टा ताल, कैलाश ताल र करीब तीस चालिस मिटर मात्रै पर रहेको लंकारी (राक्षस) दह (ताल) छ । लंकारी दहको छुट्टै विशेषता छ । सो दहमा राक्षस बस्ने गरेको जनविश्वास रहदै आएको छ । निजार दह हुँदै आएको पानी ठूलो झरना भएर बगेको दृश्यले मनै आल्हादित तुल्याँउँदछ । झरनाको पानी र आसपासबाट निस्किएका अन्य मूलको पानी मिसिएर नागबेली रुपमा लडिबुडी खेल्दै सेतो दूध झैँ बग्दै लेक देखि वेशी सम्मका स्थानिय गाउँ बस्तीका खेतिबारी सिञ्चन गर्दै पादुका त्रिवेणी धाम कणर्ालीमा आएर मिसिने गर्दछ ।

बुढिनन्दाको नाम यसरी रहन गयो भन्ने आधारहरु ठ्याक्कै अहिलेसम्म कतै भेटिएका छैनन् । स्थानिय एकथरिको भनाई अनुसार ‘सतिदेवीको देब्रे हातको बुढिऔँला पतन भएको हुनाले बुढिनन्दा नाम रहन गएका हो ।’ भने अर्कोथरिको भनाई अनुसार ‘सतिदेवी र नौ दूर्गा देवीको अवतार हुनुभन्दा अगाडी नै बुढिनन्दाको जन्म भएको हो । नौ दूर्गा भवानी मध्ये सबैभन्दा जेठी बहिनी बुढिनन्दा हुन्, आजीवन बिहा गर्नु भएन’ भन्ने किंवदन्ति रहदै आएका छन् । औँला खसेर भन्ने पहिलो कथनलाई मध्यनजर राख्दै पंक्तिकारले स्कन्ध पुराण हेरेको थियो । हातको मात्रै होइन, खुट्टाका बुढिऔँलापनि हुन सक्छन् कि ? भन्ने हुतुले तर कतै भेटाउँन सकेन । सतिदेवीका साढे सात करोड अंग पतन भएको कुरा स्कन्ध पुराणमा उल्लेख गरिएको छ । ‘नन्दा’ शब्दको अर्थ गौरी अर्थात् पार्वती भन्ने पनि हुन्छ । यसर्थ पार्वती भन्नु नै सतिदेवी हुन् जो मृत्यवरण पश्चात हिमालयकी पत्नी मेनकाको गर्भमा वास लिएको कुरा स्कन्ध पुराणमा उल्लेख छ । स्वभाविकै हो, बुढि र नन्दा शब्द जोडिएकोले पनि सतिको अङ्ग पतन भएको हो भन्ने मत रहेको अनुमान लगाउँन सकिन्छ । तर बुढिऔंला खसेको भन्दा ‘नौ दूर्गा भवानी भन्दा जेठी भएको भन्ने कुरामा नै बढी विश्वाशिलो आधार भेटिन्छ । गाउँघर तिर ‘वरकि बुढिनन्दा, रामकि मालिका’ भन्ने चलन पनि छ । अविवाहित मानिने हुनाले पूजाआजामा सेतो वस्तु नै बढी प्रयोगमा ल्याइन्छ । नन्दा शब्दको अर्थ ‘कन्या’ भन्ने पनि हुन्छ, तसर्थ सबै बहिनी भन्दा जेठी र अविवाहित रहेको हुनाले पनि बुढिनन्दा नाम रहन गएको प्रष्ट देखिन आउँछ । अहिले पूजाआजा हुने स्थलभन्दा अगाडी बुढिनन्दा भगवती चौखुट्या लेकमा रहेकी थिइन् तर त्यहाँ भाले बासेको स्वर सुनेपछि आफू बस्न उपयुक्त ठाउँ नरहेको भन्दै अहिलेको ठाउँ रोजेकि हुन् भन्ने कथा पनि गाउँघरमा सुन्न पाइन्छ । त्यसैले पनि बुढिऔँला पतन भएको हुनाले बुढिनन्दा नाम रहन गएको हो भन्ने कुरामा त्यति विश्वाश भेटिदैन ।

प्रत्येक श्रावण शुक्ल चतुर्दशीका दिन मात्रै यस मन्दिरमा पूजापाठ, होमादि कार्य हुने गर्दछ । बुढिनन्दा भगवतीको दर्शन गर्नाले मनले चिताएको पुरा हुने जनविश्वास रहदै आएकोले बझाङ, अछाम, कालिकोट, मुगु, हुम्ला ,जुम्ला लगाएतका छिमेकी जिल्लाबाट पनि श्रद्घालु भक्तजनहरुको उल्लेख्य उपस्थिती रहने गर्दछ । किंवदन्ति कथानुसार; परापूर्वकालमा नुरि गाउँका बासिन्दा दाने र पलाने नाम गरेका दुई दाजुभाई ‘ऐणा गएका थिए’ अर्थात् सिकार खेल्न वनमा गएका थिए । सोही क्रममा तिनका अगाडी एउटा मृग देखा पर्‍यो । मृग देखेपछि मार्नलाई वाण हाने तर बाणको तीर मृगलाई लागेन । फेरि हाने लागेन । पटकपटक ताकेर हान्दा पनि बाण लाग्दैथ्यो, मृग अलप हुन्थ्यो । घरतिर फर्कन लाग्दा फेरि नजिकै देखिन्थ्यो । सिकार गर्ने ध्येयले पछि लागेर जाँदा साँझ पर्दै गयो तर मृग मार्न सकिएन । साँझमा घाँस उम्रिएको ठूलो ढुङ्गाको ओडारभित्र पसेर मृग अलप भयो । झमक्क साँझ परेकाले दाजुभाईपनि भोकै त्यहि ढुङ्गाको ओडारमा बास बसे । जुन ओडारलाई अहिले छाप्रे भँणाण (ओडार) भनिन्छ । भोलिपल्ट उज्यालो भएपछि दुबै दाजुभाई घरतिर फर्कन लाग्दा अलप भएको मृग फरि देखापर्‍यो । मृग अगाडी देखिएपछि छोड्ने कुरा भएन, वाण हाने लागेन । यसरी मृग लखेट्ने क्रम दिनभरि नै चलिरह्यो । मृग उफ्रिउफ्रि भागिहाल्थ्यो, न त मृग मार्न सकिन्थ्यो न त छोडेर घर फर्कनै सकिन्थ्यो । द्विविधाको स्थितिमा दोस्रो दिनपनि पहिले दिन झैँ निकै टाढा पुग्दा रात परेपछि ठूलो हिजोको जस्तै ढुङ्गाको चेप भित्र पसेर मृग अलप भयो । जसलाई अहिले धौली ओडार भनिन्छ । दाजुभाइले फर्कदा बाटो बिर्सिने डरले ठाउँठाउँमा चिनो ढुङ्गा थुपार्दै गएका थिए । दुई दिन देखिको भोको पेट, दिनभरिको थकाईले गर्दा ओत लाग्ने तातो ठाउँ भएकोले दुबै दाजुभाई भुसुक्कै निदाए । दुबै दाजुभाइले निद्रामा एउटै सपना देखे । दुई दिनदेखि लखेट्दै ल्याएको सिकार मृग नभएर मृगको रुप धारण गरेकी भगवती बुढिनन्दा भएको थाहा पाए, झल्याँस्स ब्युझिए । ब्युँझिदा दुबै दाजुभाइका अगाडी दुई ओटा पायस (खीर) का थाली राखिएका थिए । पायसका थाली भगवतिले नै राखेको हो भन्नेमा पूणर् विश्वस्त भए । दुईदिन देखिका भोका हुनाले दाजुभाईले पायस खाए । झलमल्ल उज्यालो भयो देवी साक्षात् रुपमा प्रकट भएर दर्शन दिनुभयो । यहाँसम्म यसरी ल्याइ पुर्‍याउँनुको कुरा सबै बताउँनु भयो । अबदेखि तिमी मेरा माइती भयौ । मेरो पूजा तिमी र तिम्रा साखा सन्तानबाट हुनेछ । तिम्रा सन्तान दरसन्तान सबै मेरा माईती (पुजारा) हँुनेछन् । बाँधु गाउँका शास्त्राज्ञ पण्डित जादू उपाध्याय (तिमिल्सिना) का घरमा मैले आसागुर्जा (पूजा सामाग्री­) गुप्त रुपले छोडेकी छु । त्यहाँ गएर यी सबै कुरा तिनीहरुलाई सुनाउँनु अनि प्रत्येक श्रावण शुक्ल चतुर्दशीका दिन मलाई थपना गरेको स्थानमा आई पूजाआजा, होमादि कार्य गर्नु, मेरालागि ठूलो मन्दिर नबनाउँनु, आवश्यक छैन, त्यो कार्य नगर्नु, नगराउँनु । पूजाआजा गर्न आउँदा तामझाम, झकिझकाउ गरेर नआयनु, राम रमिताका लागि भनेर नसम्झनु, जो दिन, दुःखी, अनाथ, गरिब छन्, जसका सन्तान छैनन्, जोसँग धन,सम्पती छैन, दरिद्र छन््, बेसहारा असाय छन् तिनीहरुले सात्विक भावमा पूजा गर्ने गरुँन्, तिनीहरुका ईच्छा ्चाहाना मनोकामना पुरा गरिदिनेछु भनि अर्ती उपदेश दिई दाजुभाईलाई आफ्नो पछि लगाई सुनालिस्नी, भुजाडाली हुँदै निजारदह छेउमै पुगेपछि सेतो शीलाको रुपमा दाजुभाइका आँखा अगाडी नै अलप हुनुभयो । अहिले त्यही सेतो शीलालाई भगवतीका रुपमा पुज्ने, दर्शन गर्ने गरिन्छ । देवी अलप भएको स्थानमा ढुँगा थुपारेर मन्दिर थपना गरिएको छ । मन्दिरकै छेउमा दह हुनाले त्यसलाई निजारदह (ताल) भनिएको हो । होम गर्न यज्ञमा बस्नेलाई हुमारा र पूजा गर्दा गाथमा बस्नेलाई पुजारा भन्ने गरिन्छ । पुजारा नुरि गाउँका रोकाया क्षेत्री हुन् भने हुमारा बाँधु गाउँका तिमिल्सिना बाहुन हुन् । तसर्थ यी दुई परिवारका सदस्यहरु जुन ठाउँमा बसोबास गर्दै आएका भएपनि पुजाआजाको बेला (श्रावण शुक्ल पक्षका एकादशीको दिनदेखि पञ्चमीसम्म) कोहि न कोहि सदस्य अनिवार्य उपस्थिती हुनैपर्दछ ।

(कैलाश दहको छेउ,पारिपट्टी हिउँ)

नजिकै गाउँका यात्रु द्वितियाका दिन प्रस्थान गर्दछन् भने टाढाबाट आउने यात्रु एकादशीका र अझैँ टाढाबाट आउने यात्रु दशमीकै दिनमा हिडिसकेका हँुन्छन् । विभिन्न गाउँ, ठाउँबाट आएका तिर्थयात्रीहरुको जमघट छाप्रे ओडारमा श्रावण शुक्ल द्वितियाको बेलुका हुने गर्दछ । भक्तजन आरती, भजन किर्तन र विभिन्न सवाई, शिलोक, भगवानका कथा आदि गरेर रात बिताउँदछन् । तृतियाको दिन विहानै सबै यात्रुहरु छाप्रे पाटनबाट जयजयकार गर्दै ठूलाठूला पाटन मनमोहक फाँटको अवलोकन गर्दै कुहिरो नलागे पछि बिभिन्न हिमाल, जंगल, टाढा टाढाका गाउँ वस्तिको अवलोकन गर्दै, ठाउँ ठाउँमा भेडी गोठाला भैँसी गोठालाहरुको स्वागत थाप्दै अगाडी लागिन्छ । कोही नथाकोस् भनेर पुजाहरु अगाडी लाग्छन्, तिर्थयात्रीलाई रोक्दै रोक्दै, बिचबिचमा नास्ता खाँने समय छुट्याउँदै जयजयकार पुकार्दै लिने गर्दछन् ।

छाप्रे पाटन, बड्ढी पाटन, लौरी बिनायक, सातपाखे, वर माग्ने डाँडो, गौगोठ, धनभण्डार, चणीदह, धौली गाण, खेतिपाती, भणाण, सुनालिस्नी, भुजाडाली नामका अनेक रमाइला ठाउँहरु छन् । वर माग्ने डाँडोमा पुगेपछि आफूले वर माग्न खोजेको कुरा कुनै चिनारीका रुपमा लिएको हुन्छ त्यो त्यहिँ लुकाउने गरिन्छ, भोलीपल्ट त्यो वस्तु भेटियो भने चिताएको कुरा पुग्ने विश्वास गरिन्छ । लुकाएको वस्तु देखिने गरेर राखिने हुँनाले वर मिलेको या पाएको विश्वास गरिने हुँदा अगाडी घर फर्कनेहरुले लगिदिने गर्छन् अर्थात् चोरी दिने गर्दछन् । चरीदह पुगेपछि स्नान गर्ने शुद्घ हुने गरिन्छ । पितृ तर्पण गर्न गएकाहरु पितृ तर्पण गरेर चरिदहबाटै फर्कने गर्दछन् । यस दिनको बास धौली भँणाणमा ठुलो ढुँगाकै फेदमा हुन्छ । जुन भगवतीले दाजुभाईलाई पायस दिएको ठाउँ हो । रातभर भजन किर्तन मागल….अघिल्लै रातका कार्य दोहोरिन्छन् । वर्तबन्ध गर्न गएकाहरुलाई यज्ञोपवित्र धारण यहिँ नै गराइन्छ । यहिँ ढुङ्गाको बिचमा बाङ्गोटिङ्गो प्वाल परेको मनकामना स्थापित छ, जुन ठाउँभित्र भगवती अलप हुनुभएको थियो । त्यहिँ भित्र छिल्लर अर्थात् क्वाइन छिराउँन सकियो भने चिताएको कुरा पुरा हुने विश्वास गरिन्छ । चतुर्दशीका दिन विहानै निजारतिर प्रस्थान हुन्छ । चिसो नमान्ने यात्रलेु स्नान गर्छन, नसक्नेले शरिरमा जल छर्केर शुद्धाधी हुन्छन् । पंक्तिवद्ध भगवतीको दर्शन गर्छन् । पुजाराबाट प्रसाद र हुमाराबाट तिलक लिएर फर्कन्छन् ।

कलियूगमा पनि दैवी शक्ति छ, ईश्वर छन्, भन्ने कुरा आफैले प्रतक्ष्य अनुभव गर्न चाहानेहरुका लागि एकपटक दर्शन गर्न नपुगि नहुने ठाउँ हो बुढिनन्दा मन्दिर ! यहाँ अनौठा र अचम्मका कुराहरु अनुभव गर्न पाइन्छ ! ‘मन्दिर पुग्न अगावै भुजाडाली भन्दामाथि मष्टादह छेउछाउ पुग्ने क्र्रममा पश्चिम दक्षिणमा रहेको हेर्दै ( देवीको दर्शन गरि फर्के पश्चात मात्रै हेर्न मिल्ने विश्वास रहेको ) डरलाग्दो निलो गहिरो लंकारी दहबाट दमाहा बजाएको जस्तो आवाज आउँदछ । देवीको दर्शन गर्नुभन्दा अगावै आफ्नो दर्शन गरोस् भन्ने हेतुले सो दहमा बसेको राक्षस त्यसबेला नाचगान गर्छ, बाजा बजाउँछ आवाज निकादल्छ । जुन आवाज तीर्थ यात्रुहरुले पनि सुन्ने गरेको बताउँदछन् । त्यसको तल सुनालिस्नी भन्ने स्थान हेर्दै डरलाग्दो चिप्लो ठाडो अजङ्गको चट्टानी सिम परेको ठाडो भिर छ । यात्रु उक्लिने ओर्लने बाटो हो, अन्य ठाउँ छैन । चिप्लो भिरको बाटो र माथि अजङ्खका ढुङ्गैढुङ्गा मात्रै थुप्रिएका हेर्दा डर लाग्दा देखिन्छन् । जुन ठाउँबाट कथंकथाचित यात्रुले टेकेको ढुङ्गा लडिहाल्यो या मान्छे चिप्लियो भने कल्पना गर्न सकिने अवस्था देखिदैन । तर आजसम्म देवीको प्रतापले कुनै प्रकारको त्यस्तो अप्रिय समाचार सुन्नु परेको छैन । ( धल्पूरा दहमा नागहरू मात्रै रहेको विश्वास गरिदै आएको छ भने बुढिनन्दाभन्दा माथि सुढ्नन्दा भगवती बस्नुहुन्छ यहाँ कोहि जानै सक्दैनन् । यो आलेख लामो हुन जाने भएकाले अर्कै आलेखमा वणर्न गर्नु मनासिव देखिन्छ ।

हिमाली भेगमा फुल्ने अनेकौँ रङ्गिबिरङ्गी फूलहरुले सुशोभित लमतन्न परेको धौलिबगरको ‘फूलवारी’ नामक बगैँचा श्रावण शुक्ल तृतियाको बिहान जाँदा ढकमक फुलेका फूलहरु भोलिपल्ट देवीको दर्शन पश्चात् फर्केर आउँदा प्रायः सबै फूलहरु ओइली सकेका हुन्छन् । त्यस्तै विहानपल्ट दर्शनार्थीले दर्शन गर्नुभन्दा अगाडी उज्याला मनोरम देखिने डाँडाकाँडा र पाटनहरु पनि दर्शन गरि घरतिर फर्केपछि अँध्यारा, मधुरा भएका देखिन्छन् । श्रावण शुक्ल चतुर्दशीका दिनभन्दा अगाडी बुढिनन्दा पाटनका क्षेत्रतिर राखेका भेडाबाख्रा वनबाट आफै गोठमा आउने गरेका भएतापनि सो दिनदेखि भेडा बाख्रा ल्याउन खोज्न जानुपर्ने कुरा भेडी गोठालाहरुले बताउने गर्दछन् ।

बुढिनन्दा क्षेत्र भ्रमण गर्न चाहानेहरुका लागि उपयुक्त समय साउन र भाद्र नै हो । अरुबेला मौसमले साथ दिदैन । छाप्रेदेखि माथी पुरै उच्च हिमाली भेग हो भने भुजाडालीभन्दा माथि मन्दिर र ताल रहेको स्थान टुण्डा्र क्षेत्र हो । जहाँ अक्सिजनको कमी हँुदा स्वासप्रश्वासमा बाधा अबरोध हुन्छ । कमजोर भइने र लेक लाग्ने गर्दछ । श्वासप्रश्वास, दम र मुटु रोग भएकाहरुले नजानु नै बेश हुन्छ । लेक लाग्ने हुँदा पिरो अमिलोजन्य खानेकुरा र अचार बनाएर लिनु पर्दछ । खानपिनका लागि घरबाटै चोखो रोटीहरु, सातु, चिउरा लिने चलन छ । तर, पछिल्लो समय बिस्कुट, चाउचाउ जस्ता बजारिया खानपानको उपभोग बढ्दो छ । प्रायः पानी परिरहन्छ कुहिरो लागिरहन्छ, हावा चलिरहन्छ । अत्याधिक चिसो हँुने हुँदा तातो न्यानो हुने कपडाहरु लगाउँनुपर्छ । हावा र पानीले छातालाई साथ दिदैन । प्लास्टिक, रेन्कोट, जकेट नै उपयुक्त हुन्छन् । साथै सामान्य औषधीहरु पनि साथमा लगेर जानुपर्छ ।

(मष्टा दह छेउ)

राष्ट्रिय चरा डाँफेका साथै मुनाल, न्याउली, कोइली र हिमाली पाटनतिर पाइने अनेक प्रकारका चराचुङ्गी र समधुर स्वरले गुञ्जयमान वातावरण बनाईरहेका हुन्छन् । त्यस्तै पाटेबाघ, कस्तुरी, घरोल, हिम चितुवा मृग, भालु, बँदेल, लङ्गुर, ढेणु, स्याल जस्ता जिवजन्तु पनि यो क्षेत्रमा पाइन्छन् । जडिबुटीको खानी नै भएको क्षेत्र मानिन्छ । विश्वप्रख्यात यार्सागुम्बा पाइने क्षेत्र हो । त्यस्तै कटुस, पाँचऔँले, हातेजडी, घोडामच्चा र वीष जस्ता अमूल्य औषधीहरुको भण्डार नै हो । तर, राज्यको पहँुचबाट निकै टाढा हुनाले जडिबुटी र वन्यजन्तुको चोरी डकैतीको समस्या अत्याधिक रुपमा हुने गरेकोले सबै लोभ हुँदै गइरहेकाछन् ।

तत्कालिन अवस्थामा जुता चप्पल लगाउँने प्रचलन नभएकोले खाली खुट्टा यात्रा गरेका हुन् । अब धौली भँडारसम्मै जुता चप्पल लगाएर जाँने चलन चलाउँनु पर्दछ भनेर केहि समयदेखि कुरा चलाउँने गरिएकोछ । यदि त्यसो गरियो भने त्यसले बुढिनन्दाको महत्व घटाउँनेछ । र, त्यस्तो कुरालाइ राम्रो मानिने छैन । विभिन्न देवी देवालयमा पूजाआजाका समयमा अपनाउँने आआफ्नै खास विशेषता हुन्छन् भन्ने कुराको ख्याल राख्नुपर्ने हुन्छ । वर माग्न रहर, खुशीले गइँदैन पनि । केहि फल प्राप्तिका लागि थारै कष्टपनि झेल्नुपर्ने हुन्छ । पूजाआजा बाहेक अन्य समयमा खोज अनुसन्धान अन्वेषण गर्नका लागि जुता चप्पल लगाएर जाँदा कुनै सरोकार भएन । तर निजारसम्मै जान निशेध गरिनुपर्छ । धार्मिक तथा पर्यटकीय महत्वको प्रवर्धन गर्ने भनेर पछिल्लो पटक निजारसम्मै सडक लिनु पर्दछ भन्ने कुरा आइरहेका पनि छन् । सस्तो लोकप्रियताका लागि विशेष स्थलको महत्व बढ्नुभन्दा पनि घट्ने गर्दछ ।

केहि वर्षदेखि यहि निहूँमा सडक बनाउँने भनेर बजेट हाल्न लगाइ चरम दुरुपयोग हुने गरेका कुरापनि सुन्नमा आइरहेकै छन् । भारतका केदारनाथ, बद्रिनाथ जस्ता धार्मिक क्षेत्रलाई नियालेर पर्यटन प्रवद्र्घन गाडी मोटरले मात्रै हुँदैन भन्ने कुराको स्मरण गर्नुपर्दछ । बरु ठाउँठाउँ बाट तिर्थयात्रामा आउने बाटोको मर्मत संहार गर्नुपर्छ । धेरैभन्दा धेरै यात्रु बस्न मिल्ने भजन, किर्तन गर्न मिल्ने छाप्रे र धौलीमा ठूला भवन अर्थात् धर्मशालाको निर्माण गरिनु पर्दछ । यात्रुका लागि नास्ता पानी गर्न मिल्ने छुट्टै भवन बनाउँनु अझ राम्रो होला । पूजाका बेला बाहेक अन्य बखत अन्वेशषण गर्नेहरुका लागि पनि सहज हुन्छ । जलवायु परिवर्तनको असर यो क्षेत्रमा पनि पर्दै गएको देखिन्छ । २०६३ सालमा पहिलो पटक पंक्तिकार बुढिनन्दा दर्शन गर्न जाँदा भुजाडालीदेखि नै हिउँमा टेकेर गएको थियो । निजारमा स्नान सकेपछि चिसोले गर्दा हातले काम गर्नै सकेनन्, लुगा अर्कैले लगाइदिनु परेको थियो । २०६४ सालमा निजार आसपासमै हिउँ थियो भने २०६५ मा करिब ४० मिनेट लगाएर तालको परिक्रमा पनि गरेको थियो । र, ९ वर्षपछि २०७४ मा चौँथो पटक जाँदा अघिल्ला पटकका यात्रामा हुने गरेका खासै कुनै अफ्ठ्यारो महशुस गर्नु परेको थिएन । हिउँ पनि निजारभन्दा निकै टाढा थियो । दर्शन गर्नेबेला आकाशपनि छ्याङ्र्‍याङ्ङ खुलेको थियो ।

(रोचक र अन्वेषण गर्नेहरुका लागि अर्को कुरा के देखिन्छ भने ‘बाँधु गाउँमा जादू उपाध्यायका घरमा मैले आसागुर्जा (पूजासामाग्री­) गुप्त रुपले छोडेकी छु,’’ देवीले भन्नुभयो भन्ने किंवदन्ती वाक्याँशले यो कुरा वि.स.१८०० साल तिरको हो भन्ने देखाउँछ । किनभने जादू उपाध्याय “पृथ्विनाराण शाहका नाती शुल पर्दा शुलविधी जान्ने शाष्त्राज्ञ पण्डितका रुपमा काठमाण्डौं राजदरबारमा जानुभएको हो” भन्ने कुरा गाउँघरमा गरिदै आएकोछ । (दरबारबाट ल्याइएको भनिएको चिनो तुलो (तराजु) घरमै छ ) । कुन नातिको शुलविधि गर्न जाँनुभएको हो नखुले तापनि पृथ्विनाराण शाहका जेठा छोरा प्रताप शिह शाहका दुई छोरामध्ये जेठा रणबहादुर शाहको जन्म वि.सं १८३२ जेठमा र कान्छा शेरबहादुर शाहको तीन वर्षपछि १८३५ पुसमा भएको छ । त्यसैले पनि बुढिनन्दा माताको कथा र पूजा गर्ने चलन वि.स.१८०० साल वरिपरिबाट भएको देखिन आउँछ । पंक्तिकार जादूको छैठौँ पुस्ता हो ।

(बाँधु गाउँ र खेत, बिहानीको दृश्य)

नेपाल प्राकृतिक सौन्दर्य अलौकिक अनुपम उपहारले भरिपूणर् देश हो । भूगोल प्रकृति र सामाजिक साँस्कृतिक विविधता ज्वलन्त उदाहरण हुन् । स्वच्छ सफा हिमश्रृङ्खला, चाँदी झैँ टल्कने हिमालहरु, हरिया वनजङ्गलले सुशोभित पहाड, तराइको घना जङगल अनौठा प्राकृतिक छटा, कलकल गरि बग्ने असङ्ख्य नदिनाला छाँगाछहरा ताल तलैया पाटीपौवा, डाँडाकाँडा भञ्ज्याङ्ग चौतारीभित्र लुकामारी खेल्ने अनेकौँ जिवजन्तुका साथै प्राचीन कलाकृतीले अतिथी बोलाउने देश हो ।

क्षेत्रफलको हिसाबले सानो भएता पनि प्राकृतिक र मानवीय विविधतामा विशिष्ठता छ । विभिन्न साँस्कृतिक, धार्मिक चाडपर्व रितिरिवाज परम्परामा रमाउने नेपाली जाति धार्मिक सहिष्णुताका सच्चा उपासक हौँ । परम्परागत चाडपर्वहरुले सारा देशबासीलाई भावात्मक एकतामा गाँस्ने काम गरेका छन् । नेपालको महिमागान पौराणिक कालदेखि गरिदै आएको छ । नेपालका हरेक ठाउँ कुनै न कुनै प्राकृतिक, ऐतिहाँसिक, साँस्कृतिक या धार्मिक रुपमा महत्वपूणर् छन् । राज्य भित्रका यस्ता प्राकृतिक, साँस्कृतिक, धार्मीक पौराणिक महत्वले भरिपूणर् क्षेत्रको पहिचान गरी राज्यले नै उचित सेवा सुविधा पुर्‍याएर प्रचारप्रसार गर्न सकेको खण्डमा देशको अर्थतन्त्र बलियो हुने, पर्यटन यवसाय फस्टाउने, स्थानियले रोजगारी पाउने साथै आफ्नो गाउँ, ठाउँ र पूर्खाहरु प्रतिको मोह अझ बढ्ने देखिन्छ ।

‘बुढिनन्दा माताले’ सबैको कल्याण गरून् !

चर्चामा

सम्बन्धित समाचार