बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाज
  • ‘हामीलाई बिहे गर्ने केटा नै सकिए’

‘हामीलाई बिहे गर्ने केटा नै सकिए’

  • बिहिबार, फाल्गुन १५, २०७६
‘हामीलाई बिहे गर्ने केटा नै सकिए’

कास्कीको सीमा जोडिएको लमजुङको ईशानेश्वरमा यस्तो समूहसँग भेट भयो, जो शिवरात्रि अवसर पारेर व्यापार गर्न आएको थियो।

हिमाली भेगबाट झरेका उनीहरू पहिलोचोटि यहाँ आएका होइनन्। आठ वर्षदेखि यसैगरी शिवरात्रिको छेकमा यही ठाउँ व्यापार गर्न आउँदा रहेछन्। बरू अघिल्ला वर्ष ५–७ जनाको समूहमा आउँथे, यसपालि दोब्बर अर्थात् १५ जना आएका छन्।

उनीहरूले मेला लाग्ने ठाउँ जाने बाटैमा ‘म्याट’ ओछ्याए। त्यहीँ आफूले ल्याएका सामान बेच्न बसे। मेलाबाहेक उनीहरू गाउँ र स–साना बजारमा पनि सामान बेच्न हिँड्छन्। गाउँमा त घर–घरै पुग्छन्।

हिमालका यी रैथाने वर्षको ४-५ महिना यसैगरी आफ्नो घर छाडेर पहाड झर्छन्। लेकको अत्यधिक जाडो छल्नुका साथै हिमाली चिजबिज बेचेर कमाइ गर्नु उनीहरूको ध्येय हुन्छ।

पहाड झर्दा उनीहरूले हिमालका जडिबुटी यार्चागुम्बा, निरमसी, पाँचऔंले लगायत ल्याउँछन्। यसबाहेक जिम्मु त उनीहरूको पहिचान नै भइहाल्यो।

मुस्ताङमा नपाइने सिरेनुन, बिरेनुन, सुनको जलप लगाएका गरगहना, विभिन्न थरीका माला, सियो, खिप पनि उनीहरू पहाडका गाउँघर डुल्दा बेच्छन्। यी सामान पोखरा र काठमाडौंमा किनेर गाउँमा बेच्ने रहेछन्।

वर्षका झन्डै आधा महिना अर्थात् जीवनका झन्डै आधा समय आफ्नो थातथलो छाडेर पहाडका गाउँ डुल्दै हिमाली बुटी बेच्दाका उनीहरूको अनुभव– अनुभूति बेग्लै छ। उनीहरू ‘औपचारिक’ गफ गर्दैनन्। झूटो बोल्न नहुनेमा विश्वस्त उनीहरू आफैंले भोगेका सच्चाइ बताउन भने हच्किए। तस्बिर खिचाउन पनि डराए। कारण सोध्दा भने, ‘फेसबुकमा हाल्दिन्छ।’

मैले आफ्नो ‘औपचारिक’ परिचय दिएँ। त्यसपछि त झन् बोल्न पनि डराएजस्तो, लजाएजस्तो गरे।

उपल्लो मुस्ताङका स्थानीय लमजुङको करापुटारमा जडिबुटी र अन्य सामान बेच्दै।
उनीहरू लोमान्थाङ-२, छोसेर गाउँबाट आएका थिए। कोहीका श्रीमान–श्रीमती त कोहीका आमा–छोरी। कोहीका त छोरी मात्र। मैले उनीहरूकै गाउँपालिका लोमान्थाङका इन्द्रधारा विष्टको नाम लिएँ। उनीहरूले चिनेको बताए।

लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बन्दा नै विष्टलाई मैले चिनेको थिएँ। अध्यक्ष हारे पनि विष्ट प्रदेश सांसद थिए।

विष्टलाई फोन गरेर उनीहरूसँग कुरा गर्न लगाएँ। विष्टले के भनिदिए कुन्नी, त्यसपछि उनीहरू बोल्न राजी भए।

कुरा उनीहरूको हिमाली जीवनबाट सुरू भयो।

हिमाल हेर्दा जति सुन्दर देखिन्छ, झेल्दा त्यति नै विद्रुप। हेर्दा र झेल्दाबीचको नितान्त विपरीत घर्षणमा बाँचिरहेका छन्, यी हिमालीहरू। उनीहरूले त्यही हिमाल देखाएर कमाउनधरि जानेनन्। हिमाली सम्पदा, प्रकृति र जडिबुटीको लाभबाट सदा वञ्चित रहे।

नेपाली भूगोलका उत्तरी सिमानामा साक्षी बसेका नागरिकलाई त्यति बेला मात्र देशले खोज्छ, जति बेला चुनाव हुन्छ। शरदमा खुलेका हिमालजस्तै हँसिला हिमालीहरू प्रकृतिका सारा चुनौती स्वीकार्छन्। सकेजति सामना गर्छन्, जानेजति अनुकूलित हुन्छन्। जीवन पद्धति नै हिमालको मौसमले निर्धारण गरिदिएजसरी हिउँद–बर्खा कटाउँछन्। मौसमअनुसार पहाड झर्छन्, हिमाल उक्लिन्छन्।

छोसेरकी ३८ वर्षीया याङ्जी गुरुङले भोटे लवजमा भनिन्, ‘नेतालाई भोट दिए नि काम छैन, हामी त भोट मात्र दिन्छ।’

उनीहरूको पहाड यात्राका दु:ख र सुखका अनुभूति फरक छन्। आफ्नै देशमा परदेश पुगेको अनुभव गर्छन्। याङ्जीले थपिन्, ‘पहाडमा दु:ख लाग्छ, हामीलाई हेप्छ।’

यसपटक पहाड झर्दा एउटा अप्रिय घटना भएछ। टोलीकी फुरासाङ्जु गुरुङ गर्भवती रहिछन्। सामान भारी बोकेर पहाडका उकाली-ओराली हिँड्न सक्दिनन् भनेर उनलाई तनहुँ सदरमुकाम दमौलीमा राखे। दिउँसो दमौली बजारमा सामान बेच्ने र त्यहीँ कतै बस्ने व्यवस्था मिलाए।

केही दिन त उनीहरू पनि सँगै थिए। नगरपालिकाका मान्छे लखेट्न आउँथे रे। एक दिन प्रहरी आयो। सामान लिएर भाग्दा प्रहरीले फुरासाङ्जुलाई रोके र सामान लुटिदिए। उनीसँग १२-१३ हजार रुपैयाँको सामान थियो रे। सामान बेचेकै पैसाले जाडो छल्ने, बस्ने र खाने योजना थियो। सामानै लुटिएपछि के गर्ने!

फुरासाङ्जु यसरी पहाड डुल्न आएको जम्मा दुई वर्ष भएको रहेछ।

अहिले उनी बचेखुचेका र साथीभाइले दिएका सामान झोलामा बोकेर दमौली आसपासमै बेच्दै हिँड्छिन्। हप्तादिनमा ईशानेश्वर वरिपरि पुगेका पनि दमौली फर्कन्छन्। केही दिन डुलेर फुरासाङ्जुलाई साथै लिएर मुस्ताङतिर सोझिने उनीहरूको योजना छ।

तिब्बतको सिमाना नजिक नेपाली गाउँ छोसेर।
यसरी आउँदा उनीहरूले ८०–९० हजारका सामान ल्याउँछन्। किफायती खर्च गर्छन्। हिउँद छलेर हिमाल उक्लँदा उनीहरू पहाडमा कमाएको पैसाले चामल किन्छन्। ‘हाम्रो गाउँमा धान फल्दैन, पोखराबाट रासन लिएर जाने हो,’ जिम्मु बेच्दै गरेकी २४ वर्षीया युवती छिरिङ गुरुङले भनिन्, ‘लुगा र जुत्ता पनि लान्छौं, जुत्ता धेरै किन्नुपर्छ, त्यहाँ कति जाडो हुन्छ।’

समुद्री सतहदेखि ३ हजार ७ सय ५० मिटर उचाइमा अवस्थित छोसेर गाउँमा झन्डै ८५ घर छन्। मंसिर पहिलो साता तल झरेका उनीहरू फागुन अन्तिम साता उपल्लो मुस्ताङ उक्लनेछन्।

मुस्ताङबाट चीनको तिब्बत जोड्ने सीमा-नाका कोरालाबाट सबभन्दा नजिकको नेपाली गाउँ हो, छोसेर। जहाँ अहिले पनि सरकारको उपस्थिति छैन। २०७२ को भुइँचालोको धक्का छोसेरमा पनि पुग्यो। गुम्बा र घरमा असर पार्यो। तर सरकारबाट राहतका नाममा अहिलेसम्म त्रिपाल पनि नपुगेको उनीहरू बताउँछन्। सीमापारिबाट चिनियाँ नागरिक गाउँ आए। धेरथोर राहत दिएर फर्किए।

चिनियाँहरूले गहुँ र उवा दिए। त्यसपछि प्रत्येक घरलाई १० बोरा सिमेन्ट र केही जस्तापाता पनि। त्यसैबाट उनीहरूले शौचालय बनाए रे।

त्यसअघि चीनले दुइटा घरलाई एउटाका दरले सोलार दिएको रहेछ। गुजुमुज्ज जोडिएका घरमा तीनवटा सम्म बत्ती बाल्न मिल्थ्यो। अहिले चिनियाँ सोलार बिग्रिसकेको छ। आफैंले किनेर जोडेको याङ्जीले बताइन्।

‘यताको सरकारले त हामीलाई केही पनि दिँदैन,’ उनले भनिन्, ‘चुनावमा भोट माग्ने मात्रै हो, अरू बेला हेर्दै–हेर्दैन।’

सिमानामा चिनियाँले कडाइ गर्ने उनको भनाइ छ। पारि तिब्बततिर जान नपाए पनि चिनियाँहरू छोसेरमा सहयोग गर्न आइराख्ने याङ्जीले बताइन्। गाउँमा अहिले पनि पानीको दु:ख भएको र बिजुली नपुग्दा सोलारले नधानेको उनीहरूले बताए।

पहाडको बाटोछेउ बसेर गाउँका कुरा गर्दा उनीहरूलाई पहाडकै जीवन ठिक लाग्ने बताउँछन्। पहाडमा बस्न भने रूचि छैन। उनीहरूले छोराछोरीलाई पढाएर पनि जागिर खान नपाएको गुनासो पोखे।

गाउँमा श्रीमानलाई छाडेर जाडो छल्न पहाड झरेकी धावा गुरुङसँगै २१ वर्षीया छोरी लाक्पा छोजुङ गुरुङ पनि छिन्। पोखराको एसओएस स्कुलबाट एसएलसी सकेकी उनले दस जोड दुई विज्ञान विषयमा पोखराकै जनप्रिय कलेजबाट पास गरिन्। स्कुल र कलेज पढ्दा जाडो बिदामा यसरी सामान बेच्न हिँड्ने उनले बताइन्।

‘कहिलेकाहीँ त सँगै पढ्ने साथी भेटिन्थ्यो,’ उनले भनिन्, ‘उनीहरूले केही भन्दैनथे, मलाई भने एकदम लाज लाग्थ्यो।’

छोसेर गाउँका महिला गहुँ चाल्दै
पन्ध्र जनाको उनीहरूको टोलीमा छ जना जति भर्खरका थिए। बाटो हिँड्नेलाई जिम्मु लिन भनिरहन्थे। पढेर पनि जागिर नपाएको छोजुङले बताइन्। ‘यहाँभन्दा धेरै पढ्न धेरै पैसा चाहिन्छ, अब नपढ्ने,’ उनले थपिन्, ‘आमाबाबाले धेरै पढाउन सक्दैन।’

उनीहरूमध्ये कसैले त आफ्ना छोराछोरी काठमाडौं र पोखरा पढाइरहेका रहेछन्। कोही भने मुस्ताङमै पढ्छन्। जाडो छल्न उपल्लो मुस्ताङको स्कुल पनि तल झर्छ। घुम्ती स्कुलका रूपमा पोखरामा पढाइ हुन्छ। चैतबाट स्कुल फेरि उपल्लो मुस्ताङ फर्कन्छ।

पोखरा, काठमाडौंमा छोराछोरी पढाउँदा नि:शुल्क स्कुलमा पढाउँछन्। दुई छोरा र एक छोरीकी एउटी आमाले भनिन्, ‘हामीले त बच्चा दु:खी–दु:खीको स्कुलमा हालेको छ, पैसा लाग्दैन।’

मुस्ताङबाट घुम्ती व्यापार लिएर झरेकाहरूलाई पहाडमा ‘भोटिनी’ भन्दा चित्त दुख्ने बताउँछन्। ‘पहाडमा हामीलाई भोटिनी भनेर हेप्छ,’ छोजुङले भनिन्, ‘जिम्मु गनायो भन्छन्, साह्रै चित्त दुख्छ।’

कहिले त बासै नपाउनेसमेत उनीहरूको अनुभव छ। कहीँ जाँड खाने मान्छेले थर्काउँछन्। मान्छेपिच्छे व्यवहार पाएका उनीहरू राम्रा र नराम्रा दुवै अनुभूति संगाल्छन्।

‘गाउँतिर डुल्दा बा–आमाले हाम्रा छोरा पनि परदेशमा यसरी नै भौंतारिएका होलान् भन्छ, चिया खाएर जाऊ भन्छ,’ लाक्पा छिरिङ गुरुङले भनिन्, ‘आफ्नै परिवारको जस्तो व्यवहार गर्छ, कोही त कस्तो राम्रो हुन्छ।’

पहाडका मान्छेलाई धेरै सुख भएको उनीहरूको बुझाइ छ। त्यसमाथि पहाडका केटी र महिलालाई धेरै सुख छ।

‘पहाडका आइमाइले यस्तो दु:ख गर्नुपर्दैन, बूढाले पाल्छ,’ उनले भनिन्, ‘बच्चा पढाएर मात्र बस्छ।’

छोसेरमा बिहे गर्न केटाहरू नै नभएकोसमेत उनले सुनाइन्।

२४ वर्षीया छिरिङले गाउँका केटा कोही विदेश गएको त कोही लामा बन्न सानैदेखि गुम्बा बसेको बताइन्। ‘विदेश जानेहरू उतै तिब्बती बिहे गर्छ, लामाले बिहे गर्न हुँदैन,’ उनले भनिन्, ‘हामीलाई बिहे गर्न त केटा नै छैन।’

पहाडतिरका केटासँग बिहे नगर्ने त? उनले भनिन्, ‘पहाडतिरका केटा फटाहा हुन्छ, हेला गर्छ।’

उनीहरूका परिवारका कोही न कोही भने यो हिमपातपूर्ण मौसममा पनि घरै छन्। कसैका श्रीमान त कसैकी श्रीमती। कसैको बाबा–आमा नै। उनीहरू घरमै हिउँ फालेर बस्छन्।

‘हिउँ नफाले पग्लिन्छ, घरभित्र पानी चुहिन्छ,’ छिरिङले भनिन्, ‘हिउँ फाल्न भनेरै घर कुर्नुपर्छ।’ माटोको छानाबाट पानी चुहिने र चौपाया जोगाउन पनि सबैले घर छाड्न नमिल्ने रहेछ।

जाडो छल्न उनीहरू सानैदेखि अभ्यस्त हुन्छन्। ४४ वर्षीया धावा गुरुङ दस वर्षको उमेरमा पहिलोपटक पहाड झरेकी थिइन्। त्यति बेला गाउँलेको बच्चा बोकेर हिँड्ने उनको काम थियो। यसो गरेबापत् उनले जाडो छल्ने समयभरि बस्नऔ-खान पाउँथिन्। चार वर्ष हिउँदमा अर्काको बच्चा बोकेर हिँडेपछि मात्र आफूले व्यापार गर्न थालेको उनले बताइन्।

प्रदेश सांसद विष्टले पनि २०४२ सालतिर यसरी नै जाडो छल्न घुम्ती व्यापार गरेको सुनाए। १६ वर्ष उमेरमा कान्छी दिदीसँग पहिलोपटक पोखराबाट चाउचाउको कार्टुन लिएर ईशानेश्वर करापुटारतिर सामान बेच्न गएका थिए रे।

‘त्यति बेला गाडी चल्थेन, पोखरासम्म घोडामा आउँथेँ,’ उनले भने, ‘पोखराबाट सामान बोकेर बेच्दै हिँड्थेँ।’

विष्ट यसरी सामान बेच्न भारतका विभिन्न सहरसम्म पुग्थे। भारतमा स्वेटर, पञ्जा र हिमाली बुट्यान बेच्न पुग्दा कति पटक कुटाइ खान्थे त कति पटक कुट्थे पनि। ४०–५० किलो भारी बोकेर झन्डै २० वर्षका हिउँदमा नेपालका पहाड र भारतका सहर घुम्नुपरेको विष्टले बताए।

तिब्बतको सिमाना नजिक नेपाली गाउँ छोसेर।
उनका अनुसार, अहिले पनि लोमान्थाङ र चराङ गाउँका मान्छे सामान बेच्न भारत पुग्छन्।

लोमान्थाङभन्दा माथिका अरू गाउँले भने नेपालकै पहाड घुम्ने उनको भनाइ छ। नेपालकै पहाड घुम्दा जाडोको झरीमा भिजेर रात काट्न परेको उनलाई याद छ।

एकचोटि मुस्ताङ फर्कने बेला पोखराको राम्दीमा एक रात काट्नुपर्ने भयो। सामान बोक्न घोडा–खच्चड तैनाथ थिए। पानी पर्यो। राम्दीमा ओडारजस्तो थियो। त्यहीँ भिज्दै बस्नुपर्यो। सामान लुट्न दुई स्थानीय युवा आए। विष्टको टोलीका एक युवाले दुवैलाई कुटेर पठाए।

विष्ट त्यति बेला बुटवलबाट बेली तेल बोकेर पनि पहाडमा बेच्थे। उनका एक साथीले त बुटवलबाट तामाको भाँडा किनेर बेचेछन्। त्यति बेला उनले ३५–४० हजार कमाए। त्यो पैसाले पोखराको न्यूरोडमा जग्गा किने। झन्डै २५ वर्षअघि त्यो जग्गा ४५ लाखमा बेचेर काठमाडौंको ठमेलमा घर किनेका छन्।

उपल्लो मुस्ताङीहरू जाडो छल्न झर्ने परम्परा धेरै लामो नभएको उनको भनाइ छ। झन्डै ५० वर्षयता मात्र यो चलन सुरू भएको हो। त्यसअघि तिब्बतसँग व्यापार हुन्थ्यो।

त्यति बेला मुस्ताङको सदरमुकाम म्याग्दीको दानामा थियो। उपल्लो मुस्ताङीहरू तिब्बतबाट नुन ल्याउँथे। मुस्ताङकै जडिबुटी र जिम्मु ल्याउँथे। नेपालका पहाडीहरू नुन लिन चामल बोकेर जान्थे। यसरी उनीहरूको व्यापार हुन्थ्यो। खाद्यान्न साटासाट हुन्थ्यो।

जब तिब्बत चीनले लियो, त्यसपछि दलाई लामाको नेतृत्वमा खम्पा विद्रोह भयो। यही विद्रोहपछि नेपाल–चीन जोड्ने कोरला नाका बन्द भयो। अनि मुस्ताङीहरू घुम्ती व्यापार गर्न र जाडो छल्न झर्न थालेका हुन्।

पहाडमा सुरूसुरूमा जिम्मु बेच्न जाँदा कतिपय मान्छे नजिकै नपर्ने उनले बताए। कुनै घरको पिँढीमा बस्न पाउनु ठूलो कुरा थियो। तर पहाडका मान्छे लोभ्याउन विष्टले सिकेका थिए। उनी गाउँलेलाई सित्तैमा खिप दिन्थे। आवश्यकताअनुसार कसैलाई सियो पनि।

‘यति दिएबापत् पिँढीमा बास दिन्थे,’ विष्टले सम्झिए, ‘कसैले त खानै खुवाउँथे।’

नेपालकै धनी जिल्लामध्ये पर्छ मुस्ताङ। मुस्ताङमा धनी र गरिबबीच खाडल भने आकाश–जमिनको छ। यसो हुनुमा तिब्बत जोड्ने कोरला नाका बन्द हुनुलाई मुख्य कारण मान्छन् विष्ट। भन्छन्, ‘व्यापार गर्ने नाका बन्द छ, उपल्लो मुस्ताङ सुक्यो।’

तल्लो मुस्ताङका थकालीहरू पर्यटन व्यवसायबाट समृद्ध भएको उनी बताउँछन्। ‘कोरला नाका खुलाउन सके उपल्लो मुस्ताङलाई धेरै फाइदा हुन्छ,’ उनले भने।

अहिले पहाडमा चिसा दिन छोटिँदैछ, जाडो छल्न आएकाहरू फर्कने दिन नजिकिँदै छ। अर्को वर्ष फेरि हिमाली बुटी बोकेर पहाड झर्नु त छँदैछ।

सेतोपाटीबाट साभार

चर्चामा

सम्बन्धित समाचार