शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • युवाले गरेको होइन, गरि खाने बनौं

युवाले गरेको होइन, गरि खाने बनौं

  • सोमवार, साउन २७, २०७६
युवाले गरेको होइन, गरि खाने बनौं

कृष्ण ओली  
रसियन विश्वकप फुटबल २०१८ सकिएको एक वर्ष मात्र बितेको छ । विश्वकपको उपाधी फ्रान्सले उचाल्यो । उपाधी फ्रान्सले जितेपनि चर्चाका पात्र बने, एम्बाप्पे । उनी टिमका स्टाइकटर हुन् । तर उनी देशले विश्वकप जितेकोमा मात्र चर्चामा रहेनन् । उनको खेल कलाले विश्वको ध्यान खिच्यो । खेलमा उत्कृष्ठ खेलाडीको उपाधी पाए । त्यो नै उनका लागि चर्चा कमाउने विषय बन्यो ।
ती नै खेलाडी, एम्बाप्पेको उमेर थियो, १८ वर्ष । युवाको उमेर देश पिच्छे फरक निर्धारण गरिएपनि यो युवा अवस्थाको सुरुवादी उमेर हो । राष्ट्र निर्माता पृश्वीनारायण शाहले २१ वर्षमा एकीकरणको अभियान सुरु गरे, मलेसियामा २५ वर्षको उमेरमा क्यावीनेट मन्त्री बनेका उदारण छन् ।
तर हामी दैनिक जसो क्यारेम बोर्ड, म्यारीज तासको पत्तामा दिन बिताउँन बाध्य छौं । एउटै उमेर समूहका कुनै युवा विश्वमा नै चर्चा कमाउने पात्र कहलिएका छन् । कोही हामी गफ मै सीमित छौं । मात्र जोड्न खोजेको विषय, युवा गफ गर्ने जनशक्ति होइन गरिखाने हो, त्यो संघर्ष र मेहनतले मात्र प्राप्त हुन्छ भन्ने मान्यता राख्न जरुरी छ ।
देशकै दुर्गम जिल्ला बाजुराको बडिमालिका नगरपालिका ८ का प्रकाश रावल २१ वर्षको उमेरमा वडा अध्यक्ष बने । सृष्टी रेग्मी २४ वर्षको उमेरमा बुढीनन्दा नगरपालिकाको उपमेयर बनिन् । धेरै टाढाको उदारण देखाउनु पर्ने नै छैन् हाम्रा लागि । समाजमै केही यस्ता नमुना युवा छन्, जसबाट नयाँ जीवन र नयाँ उर्जा पैदा हुने गर्छ ।
हामीले त्यो पनि सिक्न सकेका छैनौं । त्यसको असर हामी एक व्यक्तिमा मात्र सीमित छैन् । समाजसँग जोडिएको छ, भन्ने कुरा बुझ्न जरुरी छ । दिनभर क्यारमबोर्ड र म्यारीज तासमा सुनौला दिनहरु बितिरहेका छन् । चिया गफमा उर्वर जीवनसाँटीरहेका छौं ।
अवसर र देशलाई दोष दिने हाम्रो गलत सोच र दृष्टि हो भन्ने हामीलाई थाहै छैन् । खाडी मुलुकमा वालुवामा पनि सुन फलाएको हामी बिर्सिन्छौं । विरोध र दोषमा दिन बिताउनु जति आनन्द अर्कोमा छैन् भन्ने भ्रम नै परिसकेको छ हामीलाई ।
युवा उमेरले होइन, उत्साहले जन्मन्छ । समय सीमाले होइन, संयोजनकारी भूमिकाले चिनिन्छ, यसमा हामी प्रष्ट हुन जरुरी छ । जे होस युवा उन्नतिका नायक हुन उत्साहका परिचायक हुन्, राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवा राष्ट्रका अमूल्य निधी हुन्, परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् । समग्रमा युवा जनशक्ति नै राष्ट्र विकास र निर्माणका मुख्य आधार हुन् ।
यसरी प्रशसा गरिएको र आश गरिएको समूहबाट राज्यले केही पाएन र स्वयम व्यक्तिले पनि केही गर्न सकेन भने हामी गरेको खान परजीवी हौं, कुनै संकोच मान्नु पर्ने अवस्था छैन् । संसारमा जति पनि मानिस यस धर्तीमा जन्म लिन्छन्, ती व्यक्तिहरू आफ्नो सुखद बाल्यकाल र किशोरावस्था पार गरेर युवावस्थामा पुग्छन् । विगतको वाल्यावस्था, अनि भविष्यको बृद्वावस्थालाई सोच्दै योजना र तयारीका साथ अगाडि बढ्ने अवस्था वर्तमान हो । त्यसैले वर्तमानलाई प्रतिनिधित्व गर्ने युवा वर्गले आपू भन्दा अग्रजको अनुभवलाई ग्रहण गर्दै भावी पुस्ताको लागि योजना तयार गर्ने, अनि वर्तमानमा चौतर्फी विकास गर्नेतर्प लाग्नुपर्दछ ।

भविष्यको सम्भावना बोकेको, केही गर्ने जोश, जाँगर अनि इच्छाशक्ति भएको शक्ति युवा भएकोले यिनीहरूलाई वर्तमानका साझेदार, भविष्यका कर्णधार, देशको खम्बा, आधार स्तम्भ जस्ता उपनामले चिनिन्छन् ।
कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाहरूको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलता लाई मान्न सकिन्छ । तर विडम्बना यदि यस्तो जल्दाबल्दा युवाशक्तिको सही पहिचान हुन सकेन, युवाहरूको क्षमताको सदुपयोग हुन सकेन भने तथा राष्ट्रले युवाको लागि सही कार्यदिशा र नीति तर्जुमा गरी लागु गर्न सकेन भने व्यक्ति, समाज, राष्ट्र अनि विश्वलाई नै दुर्भाग्य हुन सक्छ ।
उपर्युक्त परिदृश्यलाई मनन् गरी देश विकासको गतिलाई तिव्रता दिनु जरुरी छ । राष्ट्रप्रेम, केही गरि खाने सोच र परिवर्तनको संकल्प हरेक युवामा हुनु पर्छ, त्यो गफले प्राप्त हुदैन्, गरेर मात्र हुन्छ भन्ने मान्यता सबैको मनमा हुन जरुरी छ । सही अर्थमा देश विकासको अभियानलई अघि बढाउने हो भने अन्य कुराका अतिरिक्त हामीसँग रहेका युवाशक्तिको समुचित उपयोग गर्नेतर्पm ध्यान केन्द्रित गर्नुपर्दछ ।
हामी राज्य प्रति गुनासो गर्ने मात्र भयौं, नेताहरुलाई गाली गर्नमा ठिक्क बनिरहेका छौै, तर आफ्नो कर्तव्य जिम्मेवारी र दायित्व कहिल्यै बुझ्न सकेनौं । यो नै हाम्रा लागि दुर्भाग्य हो । युवा वर्गको समुचित परिचालन एवं सक्रिय सहभागिता बिना विकास प्रतिको हाम्रो तृष्णा मृग तृष्णा बन्नेछ । राज्यले पनि यसमा सोच्नु पर्ने अवस्था छ ।
मुलुकमा हुने ठूलो सानो जुनसुकै परिवर्तनमा प्रत्यक्ष वा परोक्ष रूपमा युवा शक्तिको योगदान रहेको हुन्छ । मुलुकमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक एवं वातावरणीय विकृति र विसंगति निमिट्यान्न पार्न युवाशक्तिको ठूलो आवश्यकता छ ।
विकास निर्माणका विभिन्न साधनहरूमध्ये मानव संसाधन एक मात्र जीवन्त साधन हो । मानव संसाधन अन्तर्गत बालक, बृद्ध र युवा सबै वर्गका मानिसहरू पर्दछन् । अन्य वर्गको तुलनामा युवा वर्ग शक्ति र सामथ्र्यको दृष्टिले महत्वपूर्ण मानिन्छ । १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरूमा ठूलो आत्मबल हुन्छ । यो वर्ग सर्वाधिक उर्जाशील वर्ग हो ।
परिवर्तनको संवाहकको रूपमा रहेको यो वर्ग देश विकासको मेरुदण्ड हो । युवाशक्ति त्यो मानव क्षेप्यास्त्र हा,े जसको अचुक प्रहारबाट अविकासरुपी दानवको वध गर्न सकिन्छ ।
समग्रतामा भन्दा नेपाली युवा वर्ग वास्तवमा आफ्नो गन्तव्य पथ नपाएको कुहिरोको काग भएको वर्ग भएता पनि राष्ट्र विकासमा युवाहरुको अत्याधिक महत्वपूर्ण भूमिका रहेको छ ।
जुन शक्तिलाई गरिखाने अवसर राज्यबाट सिर्जना हुन पर्छ, उर्जा शक्ति युवामा पैदा हुन पर्छ । हामीमा इच्छा शक्ति, राष्ट्र प्रेम, गरिखाने सोचे, सकारात्मक धारणाको विकास हुन पर्छ । तरपनि निम्न समस्याले हामी माथि उठ्न सकेका छैनौ ः
समस्याहरु
१‍‍- बेरोजगारीको समस्या ।
२- व्याप्त अशिक्षाले र प्रविधिक शिक्षा पद्दतीको अभाव ।
३-जनशक्तिको माग र युवाहरूलाई दिने शिक्षाबीच सामन्जस्य नहुनु ।
४- सामाजिक विभेदको सिकार हुनु ।
५- बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न नसक्नु ।
६- विदेशिने क्रम बढ्दै गएकोले यौनजन्य रोग भित्रिने खतरा बढ्नु ।
७- युवामैत्री वातावरणको अभाव ।
८- दुर्गम क्षेत्रको व्यवहारिक अनुभव दिलाउन नसक्नु ।
९- युवा शक्तिलाई आफ्नो स्वार्थको भर्याङ्ग बनाउन चाहने पक्षहरुको हाबी हुनु ।
१०- यूवा नीतिको सफल र प्रभावकारी कार्यान्वयन नहुनु ।
११- विकृति, विसङ्गती र अपराध तर्फ युवाहरु उन्मुख हुनु ।
समाधान 
१- प्रविधिक र व्यवहारिक शिक्षामा जोड दिने ।
२- रोजगारीका अवसरहरू सृजना गर्ने ।
३- युवाहरुलाई रोजगरी दिएका आधारमा कम्पनी, उद्योगलाई राज्यको सुविधा र सहुलियत दिने व्यवस्थामा जोड दिने ।
४- गरिबी न्यूनीकरणका अधिकतम प्रयास गर्ने ।
५- शैक्षिक योग्यताको प्रमाणपत्र भन्दा पहिले राज्यका निम्ती अनिवार्य स्वयंसेवा गरि अनुभव हाँसिल गर्ने र काममा दक्ष भएको राज्यबाटै प्रमाणीत गरिदिनुपर्र्ने ।
६- प्रमाण पत्रका आधारमा ऋण सुविधा दिनु पर्ने र उद्यम, व्यवसायका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने ।
७- स्थानीय तथा स्वदेशी उत्पादनलाई मात्र बढावा दिने नीति ल्याउनु पर्ने ।
८- बैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने ।
९- शिक्षाको विकासमा जोड दिने ।
१०- जनशक्तिको माग र युवाहरूलाई दिने शिक्षाबीच सामन्जस्य स्थापित गर्ने ।
११- राज्यकै संरक्षण र सुपरिवेक्षणमा उत्पादनशील र स्वरोजागर सृजना गर्ने गरी लगानी बढाउने ।
जीवन चक्रमा हरेक व्यक्ति एकपटक युवा अवस्थामा पुग्दछ र ऊ व्यक्तिगत रूपमा कुनै पद वा ओहदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको पुनित महायज्ञमा सरिक भएकै हुन्छ । इन्जिनियर, वकिल, शिक्षक, प्रध्यापक, कृषक, लेखक, कलाकार, खेलाडी, कर्मचारी, पत्रकार, सैनिक, प्रहरी आदि जुनसुकै क्षेत्रमा सर्वप्रथम व्यक्तिको प्रवेश युवा अवस्थामा नै हुन्छ । ती सेवामा प्रवेश गर्नेले आ–आफ्नो युवाजोस् राष्ट्रसेवामा लगाएकै हुन्छन् । यो विषयको ज्ञात राज्यलाई होस्, जिम्मेवारी स्वयम युवाले बहन गरोस् ।
तरहामी ठिक उल्टो छौं कुलत र दुव्र्यसन संलग्न छौं । दोष दिनमा ठिक्क छौं । अरुले गरेको प्रगतिको बाधक हामी बनिरहेका छौं । खेती गरिखानेलाई फरक नजरमा हेर्ने, तरकारी फलाउनेलाई पाखे भन्ने गलत सोचको विकास हामीमा छ ।
समग्रमा भन्दा हामी परिवार, समाज र राष्ट्रकै टाउको दुखाई बन्न पुगेका छौं । स्यावासी र वाह,, वाह,,,,। अनि धन्यवादका पात्र बन्नु पर्ने, राष्ट्रले आर्थिक लाभ लिनु पर्ने शक्ति हामी हौं, तर सन्देश ठिक उल्टो छ ।
तरपनि निराशाले देश चल्दैन, नकी व्यक्तिको जीवन । योग्यता, क्षमता, रूचि र दक्षता अनुसारका तालिम, रोजगार र कामको व्यवस्था गरी तिनको मनोबल बढाएमा तिनले पनि देशविकासको होस्टेमा हैँसे गर्न सक्छन्, सिर्जनाका नवद्धारहरू खोल्न सक्छन, मुलुकको अस्तित्वमा सङ्कट आउँदा धक फुकाएर बोल्न सक्छन् र राष्ट्रियताका लागि जुनसुकै चुनौती पनि मोल्न सक्छन् अनि विपन्नता, गरिबी र पछौटेपनका विरूद्ध सजिलैसँग धावा बोल्न सक्छन् । भन्ने मान्यता राज्यले राखोस् ।
तसर्थ हाम्रो देशको युवा स्रोतलाई निर्माणतर्फ प्रवाहित गर्न राज्यले रोजगारका बाँध बाँध्नै पर्छ । उनीहरूको उत्साहको धारमा उच्च आत्मबल र मनोबलको साँध लाउनै पर्छ ।
हाम्रो देश नेपालको इतिहास हेर्ने हो भने पृथ्वी नारायण शाह बीस वर्षे कलिलो उमेरमै नेपाल एकिकरणको सुन्दर सपनालाई विपनामा अनुवाद गर्न तम्सिए र नेपाल राष्ट्रको निर्माणमा लड्दालड्दै उनको युवा अवस्था बित्यो ।
उनी जस्तै शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गङ्गालाल जस्ता युवाहरूले राणा शासनको निरङ्कुशताबाट मुलुकलाई मुक्त पार्न हाँसीहाँसी घाँटीमा फाँसीको माला र छातिमा गोलि थापे । कैयौँ युवाहरूको रगतबाट नै नेपालमा प्रजातन्त्रको पुर्नस्थापना भयो । यति कुरामा प्रष्ट राष्ट्र र युवा शक्ति दुबै हुनु पर्छ । गफ राज्य र युवा दुबैका लागि घातक विषय हो, त्यस कारण गफ होइन गरेर खाने बनौं, भएको श्रोत साधानलाई उपयोग गरौं राष्ट्र निर्माणको महान अभियानमा जुटौं ।
लेखक : ओली रेडियो बाजुराका स्टेशन प्रबन्धक र नागरिक दैनिकसँग आवद्ध छन्।

चर्चामा

सम्बन्धित समाचार