आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • ‘पत्रकार श्री ५ हो र ?’

‘पत्रकार श्री ५ हो र ?’

  • आइतवार, साउन ५, २०७६
‘पत्रकार श्री ५ हो र ?’

काभ्रे : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पत्रकार ‘श्री ५ नभएको’ टिप्पणी गरेका छन्। शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभामा मन्त्री बाँस्कोटाले पत्रकारलाई पनि कानुन लाग्ने बताए।

‘पत्रकारलाई कानुन नै नलाग्ने व्यवस्था कहीँ पनि छैन’, पत्रकारले मिडिया विधेयकको विरोध गरेको विषयमा टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘पत्रकारचाहिँ श्री ५ हो र ?’

आफू पनि पत्रकारिता पृष्ठभूमिबाटै आएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले कुरा बुझेपछि पत्रकार महासंघले आन्दोलन फिर्ता फिर्ता लिएको बताए। महासंघले नेकपाको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने लिखित प्रतिबद्धतापछि आन्दोलन स्थगित गरेको थियो।

‘म पनि त्यहीँ (पत्रकारिता) बाट आएको हुँ’, मन्त्री बाँस्कोटाले भने, ‘मिडिया विधेयकविरुद्ध लालटिन जुलुस गरे। अहिले कुरा बुझेर आन्दोलन फिर्ता लिए।’

सरकारले भारतबाट आयात गर्ने तरकारीमा विषादी चेकजाँचबारे तयारी नपुगेको स्वीकारे।

मन्त्री बाँस्कोटाले सरकार निजी क्षेत्रसहित सबैसँग मिलेर अघि बढ्न तयार रहेको भन्दै उनले व्यवसयीलाई आन्दोलन घोषणा नगर्न सुझाव दिए। ‘उद्योग वाणिज्य महासंघलाई मेरो अनुरोध छ- हतार हतार आन्दोलन नगरिहाल्नुस्, मसाल नबालिहाल्नुस्, सरकार एक्लै हिँड्न सक्दैन’, उनले भने।

बाँस्कोटाले उद्योगी व्यापारीहरूलाई विप्लव समूहका नाममा चन्दा नदिन पनि आग्रह गरे। विप्लवको प्रतिकार गर्ने जिम्मा सरकारको मात्र नभई व्यवसायीहरूको समेत भएको उनको भनाई छ। ‘विप्लव समूहलाई एक रुपैयाँ नदिनू। धम्की दिए सडकमा जानुहोस्’, उनले भने, ‘सरकारले मात्र सुरक्षा दिनुपर्ने ? बन्दुक किन्ने पैसा तपाईं आफै दिने अनि धम्की नआए के आउँछ त ?’

सरकार पुरानो प्रणालीबाट नयाँमा जान चाहेकाले अहिले सरकारका काममा अलमलजस्तो देखिएको उनले दाबी गरे।

चर्चामा

सम्बन्धित समाचार