
बाजुरा १२ बैशाख– बडीमालिका नगरपालिकामा बालबालिका तथा महिलाको जीवनस्तर सुधारमा केन्द्रित लैङिक समानता तथा सामाजिक समावेशीकरण बाल लगानी तथा सामुदायिक सुधार योजनाको कार्यान्वयन अवस्थाबारे समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बडीमालिका नगरपालिकाको समन्वय सामाजिक सुरक्षा नागरिक समाज सन्जाल र निड्स नेपालको आयोजना र युरोपियन युनियन संयुक्त राष्ट संघको सहकार्यमा रहको थियो । सनीबार पालिकास्तरमा आयोजित कार्यक्रममा योजना अन्तर्गत उठाइएका एजेन्डाहरूको हालसम्मको कार्यान्वयन अवस्था, देखिएका चुनौती तथा सुधारका सम्भावित उपायका विषयमा छलफल गरिएको थियो । सहभागीहरूले आगामी दिनमा योजनालाई अझ समावेशी, सहभागिता मूलक र पारदर्शी ढंगले अघि बढाउन आवश्यक पहलहरूबारे धारणा राखेका थिए ।
बडीमालिका नगरपालिकाकी नगर उप प्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथिका नगर प्रमुख अम्मर खड्का रहेका थिए । कार्यक्रमको सहजीकरण बडीमालिका नगरपालिका गैरसरकारी संस्था डेक्स प्रमुख कृष्ण खड्काले गरेका थिए ।
कार्यक्रममा लैङिक समानता तथा सामाजिक समाबेसिकरण समितिका पदाधिकारी, शिक्षा, पञ्जीकरण, महिला तथा बालबालिका, प्रशासन, योजना, रोजगार तथा सामाजिक विकास शाखाका प्रतिनिधिहरू, महिला जनप्रतिनिधि पत्रकार बाल क्लबका प्रतिनिधि लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथिले बालबालिका र महिलामैत्री योजना प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समुदायको वास्तविक आवश्यकता पहिचान गरेर बनाइएका यस्ता योजनाहरूलाई व्यवहारमा उतार्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । समावेशीता र पारदर्शिता कायम गर्दै अघि बढे मात्रै यसको अपेक्षित परिणाम ल्याउन सकिन नगर प्रमुख खड्काले बताए ।
यस्तै नगर उप प्रमुख नन्दा थापाले लैङिक समानता तथा सामाजिक समाबेसिकरण योजनालाई थप प्रभावकारी बनाउन निरन्तर अनुगमन र समन्वय आवश्यक रहेको बताईन। बालबालिका र महिलाको जीवनस्तर सुधार हाम्रो प्राथमिकता हो । आफु निर्बाचीत भएर आएसंगै त्यसका लागि योजनाको प्रभावकारी कार्यान्वयनसँगै सबै सरोकारवालाको सक्रिय सहभागितामा जोड दिएको बताईन ।
छलफलका क्रममा करार कर्मचारी नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने, योजनाहरूमा ५० प्रतिशत महिलालाई संयोजकको जिम्मेवारी दिने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि वडा तहमा सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा छलफल भएको थियो । साथै, समुदाय स्तरमा नियमित बैठक सञ्चालन गरी समितिका सदस्यहरूलाई अद्यावधिक र सक्रिय बनाउने विषयमा समेत जोड दिइएको थियो ।
छलफलका क्रममा सहभागीहरूले बालबालिका, महिला तथा समुदायका वास्तविक आवश्यकता पहिचान गरी तिनलाई सम्बोधन गर्ने योजनाहरूको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए । समुदायस्तरबाट समस्या पहिचान गर्दै सबै पक्षको सक्रिय सहभागितामा समाधान खोज्ने अभ्यासलाई अझ सुदृढ बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
लैङिक समानता तथा सामाजिक समाबेसिकरण योजना विशेषगरी बालबालिका र महिला मैत्री विकासमा केन्द्रित रहेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय, उत्तरदायित्व र पारदर्शिता सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालिएको निड्स नेपालका फिल्ड अफिसर रामदेबी थापाले बताईन ।


